अमेरिकी सेना सीधै तल

अमेरिकी सेना सीधै तल

राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले काम गरिरहेको छ ।

विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि अमेरिकी सेनाको टोली ४७ लिटर क्षमताका ४४ सय सिलिण्डरसहित जिल्ला जाँदैछ । मानवीयता, स्वास्थ्य संवेदनशीलताका दृष्टिले यो प्रशंसायोग्य कार्य नै हो । तर, विधि, पद्धति भएको देशमा विदेशी सेना यसरी तलसम्म जान लाग्दा नेपाली सेना भने प्रतिक्रियाविहीन अवस्थामा देखिन्छ ।

स्वास्थ्य मन्त्रालयसँग समेत सीधै समन्वय नगरेर यस्तो काम हुन लागेको हो । त्यसका लागि अमेरिकी सरकारले आफ्नो देशबाट सैनिकहरु उतारेको छैन । यहीँ तैनाथ विभिन्न मिसनमा सैनिकबाटै काम गराउने तयारी छ । तर, यो मामिलामा जंगी अड्डा र रक्षा मन्त्रालय संलग्न छैनन् । अमेरिकाको विभिन्न सैन्य युनिटका मान्छेहरु नेपालमा कार्यरत छन् ।

रक्षा मन्त्रालय पेन्टागनदेखि इन्डो प्यासिफिक कमाण्ड र प्रशान्त क्षेत्र हेर्ने स्पेशल अपरेशन्स कमाण्डसम्मबाट मरिनहरु गार्ड र अन्य रुपमा खटिएर नेपाल आउँछन् । अक्सिजन वितरणको काममा पनि तीनवटा कमाण्डका मान्छेहरु संलग्न हुनेछन् । उनीहरुले सीधै नेपालको स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने भनेका छन् तर स्वास्थ्य प्रवक्तालाई यसबारे जानकारी छैन ।

प्रवक्ता कृष्ण पौडेल भन्छन्, ‘हामीलाई कसले सोध्छ र !’ जनआस्थाले रक्षा मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञवालीलाई सोध्दा मन्त्रालयलाई यस विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । ‘हामीलाई यसबारे केही जानकारी छैन, परराष्ट्रसँगको समन्वयमा भएको होला कि ?’

त्यसो त यसअघि सीधै भारतीय परियोजना भित्रिएको इतिहास छ । विभिन्न शीर्षकमा भारतीय राजदूतावासले सीधै पाँच करोडसम्म चाहेका प्रत्येक ठाउँमा वितरण गर्नसक्छ ।

टिप्पणीहरू