मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई हेर्नु पर्दैन ? : प्रचण्ड

मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई हेर्नु पर्दैन ? : प्रचण्ड

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीब्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणाअनुसारको कामलाई तीब्रता दिन नसकेकोमा असन्तुष्टि जनाउनुभएको हो ।

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट समेत सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले समेत भूमिका खेलेको हुन सक्ने आशंका गर्दै त्यसको न्यूनीकरणमा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा समेत छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

टिप्पणीहरू