आज उपत्यकामा डेढ दर्जन बढी कार्यक्रम,कतै धर्ना कतै तालाबन्दी

आज उपत्यकामा डेढ दर्जन बढी कार्यक्रम,कतै धर्ना कतै तालाबन्दी

आज राजधानीमा विभिन्न कार्यक्रम हुने भएको छ । जसमा औपचारिक सरकारी कार्यक्रमदेखि विरोध प्रदर्शन र तालबन्दीसम्म हुने उल्लेख छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा,ललितपुरमा बारा र धनुषा जिल्लामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको धर्ना कार्यक्रम आज बिहान ९ बजेबाट पनि जारी छ ।

उता,नेपाल शिक्षक महासंघले विभिन्न माग राखी ललितपुरको महालक्ष्मी नगरपालिका भवन अगाडि धर्ना दिने कार्यक्रमलाई बिहान १० बजेबाट आज पनि निरन्तरता दिने भएको छ ।

बिहान १० बजे नेपाल टेलिकम वर्कर्स युनियन,नेपाल टेलिकम कर्मचारी युनियन र एनटीइएनले २०६१ सालको विनियमावली परिवर्तन गरी साउन १ गतेबाट लागू हुने गरी नयाँ विनियमावली जारी गरेको विरोधमा धर्ना दिने कार्यक्रम राखेको छ । उक्त कार्यक्रम नेपाल टेलिकमको केन्द्रिय कार्यालय, भद्रकाली प्लाजामा हुने बताइएको छ ।

त्यसैगरी पारागन पब्लिक स्कूलका शिक्षकहरूले १५ महिनादेखि पारिश्रमिक नपाएको तथा महामारीको समयमा शिक्षक निश्कासन गरेकोमा विद्यालय हाता तिलगंगामा बिहान १० बजेदेखि बिरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको बिरोधमा आज पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कार्यक्रम निगमको कार्यालय, न्यूरोड गेटमा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म हुनेछ ।

यसैबीच बिहान ११ बजे विकास तथा प्रविधि समितिको बैठक समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ ।

पूर्वीक्षेत्रीय शहरी विकास आयोजनाले कागेश्वरी मनोहरा नगरपालिकाको वार्ड नम्बर १,२,३, ४ र गोकर्णेश्वरको वार्ड नम्बर १,२, ४,संखरापुरको ९ नं. वडाको रोक्का राखेका जग्गाको बारेमा ज्ञापनपत्रसहित छलफल गर्ने भएको छ । उक्त छलफल कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, थलीमा बिहान ११ः०० बजे हुँदैछ ।

तारा बराललगायतका अभियन्ताहरूले एमसीसी पास नगर्न जसपाको केन्द्रीय कार्यालयमा बिरोधपत्र बुझाउने भएका छन् । बिरोधपत्र दिउँसो १ बजे बुझाउने बताइएको छ ।

आजै दिउँसो १ बजे संघीय संसदको राष्ट्रियसभाको बैठक, नयाँ बानेश्वरमा बस्ने कार्यक्रम रहेको छ ।

नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटीले जातिय विभेद तथा छुवाछुतविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । उसले दिउँसो ३ बजे माइतीघर मण्डलामा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि सम्बन्धी समस्या समाधान आयोगल विघठन गर्ने सरकारको निर्णयको बिरोधमा आज ७७ वटै जिल्लामा बिरोधसभा गर्ने भएको छ । सबै जिल्लामा आफ्नो अनुकूलमा बिरोधसभाको आयोजना गरिने बताइएको छ ।

नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले विभिन्न माग राखी कोटेश्वरस्थित हिल साइड क्याम्पसको प्रशासन शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा मिति साउन १९ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) पशुपती बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न माग राखि क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गते गरेको तालाबन्दीलाई जारी राखेको छ ।

नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्ना जायज मागलाई बेवास्ता गरेको भन्दै डिनको कार्यकक्षमा चैत ३१ गतेदेखि गरेको तालाबन्दीलाई आज पनि जारी राखेको छ ।

टिप्पणीहरू