बाबुरामको कुरा उनले बोल्ने

पोहोर संविधान घोषणालगत्तै ‘नयाँ शक्ति’ गठन गरेका बाबुराम भट्टराईको पार्टीले माननीय एउटा सांसद पाएको छ । यसको घोषणा भने आजभोलिमै गर्ने तयारी चलिरहेको स्रोतले जनाएको छ ।

यसरी बाबुरामको पोल्टामा एउट सांसदको पद लिएर पुगेकी छन्, थरुहट आन्दोलनकी अगुवा गंगा चौधरी । बाबुरामको पार्टीमा जानुअघि आफ्नो पदको भविष्यबारे सद्भावना नेता लक्ष्मणलाल कर्णसँग सोधिन्, ‘कतै मेरो पदै त जाने होइन ?’ उनले ‘फरक नपर्ने’ बताएपछि अस्ति सोमबार बाबुरामसँग भेटेर निर्णय सुनाइन् । गंगाको कुरा सुनेर बाबुरामले भने, ‘तपाईंको सांसद पदसँग हामीलाई केही लिनु÷दिनु छैन । तर, थरुहट मुभमेन्टको अगुवा हुनुका नाताले तपाईंलाई पार्टीमा स्वागत गरिनेछ ।’ थरुहट तराई पार्टी नेपालका तर्फबाट समानुपातिक सभासद् रहेकी उनको सोही पार्टीका नेता गोपाल दहितसँग विवाद भएपछि निष्कासित भएकी थिइन् । पार्टीले निश्कासनको सूचना सार्वजनिक गर्नुअघि नै दुई सदस्यीय संसदीय दल विभाजित गरी अलग्गै पार्टी दर्ता गरेकी हुन् । अहिले नयाँशक्तिसँग एकता भएको सूचनासहित संसद सचिवालय जाने तयारी गर्दैै छिन् ।
निम्तो आउँछ विज्ञ कर्मचारीका लागि, पठाइन्छन् मन्त्रीका आसेपासे । कृषि विकास मन्त्रालयमा यस्तै भयो ।
कृषि प्रविधिजस्तो संवेदनशील विषयसँग सम्बन्धित एउटा भ्रमणको निम्तोमा मन्त्रीहरूले कर्मचारीलाई यसरी मारमा पारेका हुन्  । फिलिपिन्स र थाइल्याण्डका लागि आएको निमन्त्रणामा मन्त्री गौरीशंकर चौधरीले पिए परशु चौधरीलाई पठाउने खबर सुनेर उनीसँग झगडा गर्नुको सट्टा राज्यमन्त्री राधिका तामाङले पनि आफ्नै पिए पठाउनुपर्ने शर्त राखिन् । राधिकाको मागअनुसार मन्त्रीले पिए निर्मल तामाङलाई पठाउने पक्कापक्की गरेका थिए । यसअघि आफैँ दौडिएर कागज मिलाउँदै पतिलाई विदेश लैजाँदा राधिका लफडामा परेकी थिइन् । उनीहरू आज बुधबार फिलिपिन्स र थाइल्याण्डका लागि उड्दैछन् । कृषि प्रविधिसम्बन्धी छलफलमा विश्वका कृषि विज्ञ भेला हुने भनिएको उक्त कार्यक्रममा जाने मन्त्रीका पिएहरूले सिकेर आएको सीपको प्रयोगचाहिँ कहाँ गर्ने होलान् ? अचम्म छ ।

पेटी बुझ्ने हाकिमको ज्यादती कतिसम्म भने, माथिका हाकिम एकथोक गर्छन्, तल अर्थोकै चल्छ ! भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले तीन वर्ष लगातार काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयमा कार्यरत कर्मचारीको सरुवा गर्न लागेका छन् । पहिलो चरणमा यस्ता २६ कर्मचारी काजसरुवा भइसकेका छन् । त्यस्तै, नापी कार्यालयका पनि ८१ जना काजसरुवा भएका छन् । उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयबाट सरुवा सहमति लिएर दरबन्दीसहित उपत्यकाबाट बाहिर पठाउने तयारीमा सचिव छन् । त्यसका लागि धेरैको सहमति ल्याइसकेका छन् ।

तर, सचिव उपत्यकामा कार्यरत कर्मचारीलाई हटाउन लागिरहेको बेला नापी विभागका महानिर्देशक कृष्णराज बीसी भने ‘शुभलाभ’ बुझ्दै उपत्यकामा दशौँ बर्ष कार्यरत कर्मचारीलाई धमाधम भिœयाइरहेका छन् । बीसीले केही दिनअघि मात्र मोरङको रंगेली नापीका प्रमुख सुधीर गुप्तालाई डिल्लीबजार  नापीमा ल्याए । नापी अधिकृत कार्यालय प्रमुख रहेको समयमा उनी दशौँ वर्ष काठमाडौं उपत्यकामा काम गरी दुई वर्षअघि रंगेली सरुवा भएका थिए । अहिले उपत्यकाका डिल्लीबजार, कलंकी, चाबहिल, ललितपुर र भक्तपुर नापी कार्यालयमा प्रमुख नापी अधिकृत कार्यालय प्रमुख हुन्छन् । यस्तो काम गर्दा बीसीको हातमा प्रतिव्यक्ति १० पेटी पर्छ ।

उपत्यकामा १५ बर्षदेखि लगातार कार्यरत रहिसकेका नापी अधिकृत कृष्ण न्यौपाने पनि फेरि बिसीलाई पेटी बुझाएर भक्तपुरमा भित्रिएका छन् । काठमाडौंमा लामो समय बसी बढुवाका लागि नम्बर बढाउन जाजरकोट सरुवा भएका अर्का नापी अधिकृत खिम राना पनि कलंकी नापीमा आएका छन् । यी केही त केही उदाहरण मात्र भए । उपत्यकामा लामो समय कार्यरत कर्मचारीका कारण नापी र मालपोत बदनाम भए भनी सचिवले सरुवा गर्ने, तर बीसी त्यस्तै बद्नामलाई पेटी–पेटीको हिसाबमा उपत्यका छिराउने काममा मग्न छन् ।

उनले दैनिकजसो दुईदेखि पाँचजनाको नाम सामान्य प्रशासन मन्त्रालयमा उपत्यका बाहिरका सर्भेक्षेक र नापी अधिकृतको सरुवा सहमतिका लागि पठाउने गरेका छन् । उपत्यकाका नापी कार्यालयमा अमिन र सर्भेक्षकको पाँच, नापी अधिकृतको १० पेटीका दरले तोकिएको बुझिन्छ ।

टिप्पणीहरू