माधव नेपालको उछित्तो काढेको केही घण्टामै ओलीको बोली फेरियो

माधव नेपालको उछित्तो काढेको केही घण्टामै ओलीको बोली फेरियो

माधव नेपाललाई पार्टीमा ठाउँ छैन भनेको एक घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली युटर्न हुनुभएको छ । कार्यकर्तामाझ चर्को भाषण गर्नुभएका ओली पार्टी एकताका लागि भन्दै स्थायी कमिटी बैठक स्थगित गर्न तयार हुनुभएको हो ।

ओलीले काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालविरुध्द चर्को भाषण गर्नुभएको थियो । सो क्रममा उहाँले माधव नेपालसहितका २२ जना सांसदले आफ्नै पार्टीको सरकार ढलेर अपराध गरेकाले पार्टीमा स्थान नहुने बताउनुभएको थियो ।

काठमाडौँका कार्यकर्तामाझ चर्को भाषण गर्नुभएका ओली विघटित एकता कार्यदल बैठकको आग्रहपछि एकताको अन्तिम प्रयास भन्दै आजको बैठक स्थगित गर्न सहमत हुनुभएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

यसअघि पनि ओलीले पटक-पटक नेता नेपाललाई पार्टीमा ठाउँ नभएको सार्वजनिक रुपमै घोषणा गरिसक्नुभएको छ । बालुवाटारबाट बालकोट पुगेकै दिन बार्दलीमा उभिएर ओलीले माधव नेपालका लागि एमालेको ढोका बन्द भएको घोषणा गर्नुभएको थियो । त्यसयता पनि ओलीले लगातार निषेधको भाषा बोल्दै आउनुभएको छ ।

आफू कमजोर हुँदा हदैसम्म लचिलो हुने र बलियो भएका बेला कसैका कुरा नसुन्ने गरेको ओलीमाथि आरोप छ । सरकारबाट बाहिरिएपछि तुलनात्मक रुपमा रक्षात्मक बन्नुभएका ओली एकपछि अर्को आफैंले गरेका निर्णयबाट पछि हटिरहनु भएको छ । नेपाल समूहलाई कारवाहीको चेतावनी दिए पनि नेता नेपाललाई दोस्रो अध्यक्ष मान्नसमेत ओली तयार भएको उहाँनिकट नेताहरुले नै बताइरहेका छन् ।

टिप्पणीहरू