श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै पारसको समर्थनमा टायर बाल्ने प्रयत्न

श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै पारसको समर्थनमा टायर बाल्ने प्रयत्न

पूर्वयुवराजाधिराज पारस शाहको समर्थनमा आज दिउँसो काठमाडौंको महाराजगञ्जस्थित चक्रपथमा राजावादी र राष्ट्रवादीहरुले टायर बाल्ने सुर झिकेका छन् । हिजो साँझ चक्रपथको नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल हुईंकाएकाले पारसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सम्झाई बुझाई गर्दासमेत औंला ठड्याउँदै तथानाम भनेका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए ।

हिजो साँझदेखि भाइरल भएको भिडियोमा पारस उद्दण्ड तरिकाले प्रस्तुत भएको देखिन्छ । प्रहरीले नियमानुसार हेल्मेट लगाउन आग्रह गर्दा र कानुनबमोजिम प्रहरी चौकीमा जान आग्रह गर्दा उनी लरबराएको स्वर र शरीरमा प्रहरीमाथि नै जाइलागेका थिए ।

पारस समर्थित युवाहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै आज उनको समर्थनमा नारा, जुलुस र भेला गर्न लागेको बताइन्छ । राष्ट्रवादी युवाहरुले ‘नालायक हत्यारा, बलात्कारीलाई सेल्युट गर्ने बर्दीधारी गुण्डा नेपाल प्रहरीले फेरि पनि गणतन्त्रमार्फत् राजपरिवारको बेइज्जत गर्ने उद्देश्यले युवराज सरकारलाई कारबाही गर्न लागेको हुनुपर्छ । समयले कोल्टे फेर्दै छ । खबदार,अब जनता अन्धो रहेनन् । याद रहोस्,’ भन्दै सामाजिक सञ्जाल रंगाएका छन् ।

उनीहरुले आज दिउँसो १ बजे नारायण गोपाल चोकमा भेला हुन सबैलाई ‘साथीहरु नमस्कार’ भन्दै आग्रह गरेका छन् । सामाजिक सञ्जालमा हिजो बेलुकी नै पोष्ट गरिएको अर्को सामग्रीमा भनिएको छ, ‘पारस शाहप्रति अभद्र व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न आवश्यक छ । गाँडतन्त्रका स्यालहरुले पारस सरकारविरुद्ध गरेको व्यवहारप्रति टायर बालेर बिरोध गरौं ।’

टिप्पणीहरू