बाबाजीहरूको सिंहदरबारमा बथान

हिजो मंगलबार सर्वोच्चमा एक हुल बाबाजी प्रकट भए । यी सिंहदरबारको फेरो मारेर निस्किएका थिए । पीडा रहेछ, बाँकेका सिडिओ रविराज पन्थले दिएको सास्ती ।

नेपालगञ्जमा मन्दिर, गुठीलगायतका हजार रोपनीभन्दा बढी जमिन छन् । नगरपालिकाको २३ नं. वडास्थित मानपुरमा ‘काली काली महाकाली’ नामक मन्दिर छ । महन्थ असित चटर्जी दास हुन् । मानपुरमा बस्ती बस्नुअघि नै उनी भारतको कलकत्ताबाट आएर ४० वर्षदेखि बसेका छन् । यसअघिका सिडिओ जीवन ओलीले यो जमिन ‘तपाईंकै संरक्षकत्वमा रहने गरी नापी गरेर दिन्छु’ भने । नापी पनि गराए । तर, रविराज पुग्दा पुर्जा आएको थिएन । बरु, केही भूमाफियासँग मिलेर बगैँचा र पर्खाल भत्काई बाली लगाउन लगाए ।

यसपछि बाबाको बिचल्ली भयो । जोगीको देश हुँदैन । ती जाउन् कहाँ ? त्यसपछि सर्वोच्च गुहारे । सर्वोच्चले बाबाकै पक्षमा फैसला त ग¥यो, तर सिडिओ नै बांगो भएपछि सर्वोच्चको पनि के चल्थ्यो र ? पहिला त्यहाँ थोरै जमिन थियो । पछि महन्थलाई स्थानीयले दिएको दक्षिणाबाट थप जमिन जोडिएको हो । अहिले त्यही मामिलालाई लिएर बाबाहरु सर्वोच्चदेखि भूमिसुधार मन्त्रालयसम्म धाउँदा हैरान छन् ।

त्यस्तै, नेपालगञ्ज– ८ रानीतलाउस्थित सय बिघा जमिन प्रधानमन्त्री भीमसेन थापाका भाइले लोकभक्तेश्वर मन्दिर बनाउने प्रयोजनका लागि दान दिएका थिए, बाबाहरुलाई । अहिलेका महन्थ हुन्, गंगादास । भर्खरै त्यहाँबाट पनि महन्थलाई उठिबास लगाएर माफियाले जमिन कब्जा गरे । केही दिन पहिला बाबाजीहरुको हुल सिडिओ रविराज पन्थकहाँ पुग्यो । उनले हप्कीदप्की गरेर पठाइदिए । त्यही कारण हिजो उनीहरु सर्वोच्चको फैसला कार्यान्वयन शाखामा पुगेका हुन् । प्रचलित दरअनुसार उक्त जमिनको मूल्य ५० लाख प्रति कठ्ठा पर्छ । बाँके जिल्लाभर सबै गरेर त्यस्ता जमिन हजार बिघाभन्दा बढी छ ।

टिप्पणीहरू