जनताको नाम, कुम्ल्याउने काम

भूकम्पले धेरै व्यक्ति घरबारविहीन भए । अधिकांश परिवार विस्थापित भए । केहीले आफन्त गुमाए । केही टुहुरा भए । तर, भूकम्पका नाममा खेतीपाती चलाउने एनजिओ भने मालामाल भए ।

एनजिओका नाममा धेरैले रोजगारी पनि पाए । कसैका घर भत्किए तर एनजिओकर्मीले भने घर बनाउने रकम कुम्ल्याए । बालबालिकाका नाममा समेत एनजिओले गरेको ब्रह्मलुटलाई भने न सरकारले कारबाही गर्न सक्यो न एनजिओ आफैं संवेदनशील बन्न सके । जिल्लामा शिक्षा कार्यालयमार्फत मात्रै विद्यालय भवन बनाउन अनुमति लिने ६३ वटा एनजिओमध्ये ५५ वटा सम्पर्कमा छैनन् । विद्यालय पुनर्निर्माणका लागि एडिबी, भारतीय दूतावास, अन्य विदेशी संघसंस्था र नेपालमै सञ्चालन भएका सामाजिक संघसंस्थाले पुनर्निर्माणका लागि चासो मात्रै दिएका छैनन् ६३ वटा सामाजिक संस्थाले त काभ्रेपलाञ्चोक जिल्लामा भत्किएका विद्यालय पुनर्निर्माणको जिम्मेवारीसमेत लिएका थिए । तर, भूकम्प गएको २१ महिनासम्म ६३ वटा सामाजिक संघसंस्थामध्ये ५५ वटा सम्पर्कमै आएनन् । चिसो, वर्षात्, गर्मी मौसमको परवाह नगरी बालबालिका अध्ययन गरिरहेका छन् । बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने त्यस्ता संस्थालाई सरकारले कारबाही गर्न सकेको छैन । भूकम्पका कारण जिल्लामा रहेका ३ सय ५६ वटा विद्यालय पूर्णरूपमा क्षति भएका थिए भने १ सय ७४ वटा विद्यालय अधिक रूपमा क्षति भएका थिए । क्षति भएका विद्यालयमा शौचालयको समेत व्यवस्था छैन । अस्थायी शौचालय निर्माण गरेर विद्यालयले काम चलाइरहेको भए पनि बालबालिका भवन अभावसँगै संकटमा परेका छन् । जिल्लामा भूकम्प गएलगत्तै ६३ वटा एनजिओले १ सय २९ वटा विद्यालय निर्माणका लागि जिम्मेवारी दिइएको थियो । एउटै एनजिओले ५ वटासम्म विद्यालय निर्माण गर्ने जिम्मेवारी लिएको भए पनि सम्पर्कमा समेत आएका छैनन् ।

अनुमति लिएकामध्ये शान्ति एजुकेशन इनेटिभ नेपालले तीन वटा विद्यालय श्वेतबाराह मावि टुकुचा, अरुणोदय मावि सिमथली र सेतीदेवी निमावि सिमथलीको भवन निर्माणका लागि अनुभूति लिएको भए पनि सेतीदेवी निमाविको दुई कोठे ट्रस्टबाहेक अन्य विद्यालयमा निर्माण शुरु गरेको छैन । नाम चलेका लब ग्रिन नेपाल, किप नेपाल, ग्रामीण समाज कल्याण संघ, रोटरी क्लब अफ धुलिखेलजस्ता ६३ वटा एनजिओ र आइएनजिओ फरार भएका छन् । उनीहरूले कबोल गरेको विद्यालय पुनर्निर्माणका लागि सरकारले समेत छनोटमा पारेको छैन । चौधरी फाउण्डेशनका तर्फबाट हिमालय मावि, आजाद मावि बालुवा र सञ्जीवनी माविमा सेमिपरमानेट भवन निर्माण सम्पन्न भएको छ । बालबालिका चर्काे घाम र चिसो समयमा त्यही भवनमा अध्ययन गरिरहेका छन् । उज्यालो नेपालले देउपुरमा रहेको तपेश्वर माविमा मर्मत गर्न सहयोग गरेको भए पनि अन्य चार वटा विद्यालयमा कामै शुरु गरेको छैन । ग्रामीण विकास संस्थाले मल्लवीदेवी निमाविको काम सम्पन्न गरेको छ भने अन्य विद्यालयमा काम शुरु गरेको छ । जनचेतना निमाविमा ८ कोठे पक्की भवनको केही दिनअघि मात्रै निर्माण सम्पन्न गरेको छ ।

विई फर चेन्ज भन्ने संस्थाले कुशादेवीको लालीगुँरास प्राविमा २ कोठे भवन निर्माण गरेको छ । वाच, धुलिखेल अस्पताल, रोटरी क्लब अफ काष्ठमण्डप, नाङशाल एसोसिएसन नेपालले जिम्मेवारी लिएको १६ वटा भवनको काम अझै शुरु भएको छैन । माइती नेपालले तपेश्वर उमाविमा दिने भनेको फर्निचरसमेत उपलब्ध हुन सकेको छैन । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने थुप्रै एनजिओबारे शिक्षा कार्यालयले खोजीसमेत गर्न सकेको छैन । पछिल्लो समय सरकारले विद्यालयको पुनर्निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ गठन गरेको छ । उक्त एकाइमार्फत भत्किएका सम्पूर्ण विद्यालयको पुनर्निर्माण हुनेछ । पछिल्लो समय सरकारको तर्फबाट ७१ वटा विद्यालय, एडिबीका तर्फबाट २७ वटा विद्यालय, भारतीय राजदूतावासमा १० वटा विद्यालय सिफारिस गरिएको छ । क्षति भएकामध्ये १ सय २९ वटा विद्यालय एनजिओ र आइएनजिओले ओगटेर राखेका छन् । दुई सयभन्दा धेरै विद्यालय अझै पुनर्निर्माणको पर्खाइमा छन् । सरकारले बनाउने ७१ वटा विद्यालय २ कोठे विद्यालय २१ वटा, ३ कोठाका २२ वटा, ४ कोठे १७ वटा, ६ कोठे ५ वटा र ८ कोठे ६ वटा रहेका छन् । उक्त भवनमा बालमैत्री शौचालय र कक्षाकोठा निर्मित हुनेछन् ।

भारतीय दूतावासले भने भगवती उमावि खरेलथोक, आजाद उमावि बनेपा, आजाद उमावि पाँचखाल, लक्ष्मीनारायण उमावि श्यामपाटी, खाँडादेवी उमावि किल्पु, कानपुर उमावि कानपुर, शारदा उमावि सुन्थान, भैरव मावि गोकुले, जनहित मावि मिल्चे र दुग्धेश्वर मावि पाँचखाल निर्माणका लागि प्रस्ताव पेश गरिएको छ । जिल्लामा केही विद्यालय भने दाताको सहयोगबाट निर्माण भई विद्यालय परिवारलाई हस्तान्तरण भइसकेका छन् । शिक्षा कार्यालयले कुन–कुन एनजिओ कुन विद्यालयमा गएर के–के गरिरहेका छन् ? त्यसबारे समेत जानकारी लिन सकेको छैन । आयोजना कार्यान्वयन एकाइ गठन भएलगत्तै त्यसबारे फलोअप गरी काम नगर्ने र सम्पर्कमा नआउने एनजिओलाई कालोसूचीमा राख्न सरकारलाई लेखी पठाउने तयारी कार्यालयले गरेको छ । एडिबीले भने प्रभा नमुना उच्च मावि र धुलिखेलको सञ्जवनी नमुना उच्च माविलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यस्तै, कालिका मावि अनेकोट, बालुवा मावि बालुवापाटी, महाकाली मावि बालुवापाटी, प्रकाश उमावि भुम्लुटार, उमा सहशिक्षालय चण्डेनी, सेतीदेवी मावि चौबास, ग्राविकास मावि धुसेनी, जनकल्याण मावि घर्तीछाप, सरस्वती उमावि गोठपानी, बागदेवी उमावि ज्याम्दी, सातमुल मावि कानपुर, राधाकृष्ण मावि चापाखोरी, शंखेश्वर महालक्ष्मी मावि शंखु, सेतीदेवी मावि सापपिङ र हिमालय मावि सिपाली छन् । गोकुले मावि गोकुले, अरुणोदय मावि सिम्थली र सिर्जनशील जनता उमावि मादनकुँडारीलाई वैकिल्पमा राखिएको छ । एडिबीले कालीदेवी प्रावि सिम्थली, कालिदेवी प्रावि महादेवस्थान र जय सरस्वती प्रावि ज्याम्दीमा भने काम शुरु गरिसकेको छ । त्यस्तै, एडिबीले नै कानपुरको कानपुर मावि, महाकांल प्रावि मेथिन्कोट, जनता मावि मथुरापाटी, रक्तकाली प्रावि कानपुर र खड्गेश्वरी प्रावि चापाखोरीमा भने काम भइरहेको छ । जनजागृति प्रावि कोशिदेखा, जनसेवा प्रावि बालुवापाटी, महाकाली प्रावि टुकुचामा काम शुरु भएको छ भने महादेव प्रावि गैरबिसौना, गंगादेवी प्रावि खरेलथोक, जनजागरण प्रावि साठीघरमा बोलपत्र आह्वानको काम भइरहेको छ ।

 – मोतीराम तिमल्सिना

टिप्पणीहरू