ठ्याक्कको खोजिँदै छ ठाउँ

गिरिजाप्रसाद कोइरालाले आजन्म मोरङको आफ्नो निर्वाचन क्षेत्र छाडेनन् । देउवाको स्थायी क्षेत्र डडेल्धुरा भइगयो । केपी ओली झापा, माधव नेपाल रौतहट, झलनाथ खनाल र सुवाष नेम्वाङ इलाम, विमलेन्द्र निधिले धनुषा छाडेकै होइनन् ।

यी नेता रैथानेजस्ता भए तर माओवादी अध्यक्ष प्रचण्डको आफ्नो निश्चित ठाउँ नै भएन । राउटे या फिरन्ते जोगीजस्तो जिन्दगी । कहिले रोल्पा पुग्छन् । कहिले काठमाडौंबाट उठ्छन् त कहिले सर्लाहीबाट इज्जत धान्छन् । जन्मथलो कास्कीलाई त उहिल्यै छाडिगए । अब भने आफ्नो थातथलो रहेको चितवनलाई नै रोज्ने संकेत देखिएको छ । अस्ति महोत्सव उद्घाटन गर्न गृहनगर पुगे, त्यतै बास बसे । उद्योगी, व्यवसायी आएर चितवनलाई नै स्थायी निर्वाचन क्षेत्र बनाउन आग्रह गर्दा हाँस्दै ‘हुन्छ–हुन्छ’ भने ।

जित सुनिश्चित बनाउन आगामी निर्वाचनमा कांग्रेससँग तालमेल गरेर जाने सोच बनाउँदै छन् । माओवादीको उच्च नेतृत्व तहमा रहेको स्रोतका अनुसार अबको स्थानीय तह निर्वाचनमा कसरी जाने भन्नेमा पनि प्रचण्ड निकै पिरोलिएका छन् ।

अघिल्लो चुनावमा झैं हार भयो भने पार्टी फेरि कहिल्यै उठ्न नसक्ने चिन्ता छ । त्यसमाथि जनताबीच पुग्ने माध्यमका रूपमा सत्तालाई उपयोग गर्न नसकिएको, भारतीय हितरक्षकका रूपमा जनताले परिभाषित गर्न थालेको जस्ता विषयलाई अब कसरी चिरेर अगाडि बढ्ने भन्ने रणनीति बनाउन माओवादी नेतृत्वलाई सकस परिरहेको छ ।

टिप्पणीहरू