प्रचण्ड अबचाहिँ जंगल नजाने पक्का

अब जे–जस्तो परिस्थिति आए पनि प्रचण्ड नेतृत्वको माओवादीले हतियार नउठाउने र जंगल नपस्ने कुरामा ढुक्क भए हुन्छ । किनभने उसले आफ्नो सांगठानिक स्वरूप सोहीअनुरूपको बनाइसक्यो । यद्यपि, यससम्बन्धी कार्यविधि पास भइनसके पनि पुरानै पाराले जिल्ला सम्मेलन आयोजना हुन थालेका छन् । वर्षमान पुन (अनन्त) संयोजकत्वको समितिले गत साता हेडक्वार्टरसमक्ष पेश गरेको संगठनात्मक कार्यविधिप्रति टोपबहादुर रायमाझीले आपत्ति जनाएको प्रत्युत्तरमा प्रचण्डले भनेका थिए, ‘अब हामी ठ्याक्कै एमालेजस्तो होइन । पूरै क्रान्तिकारी पनि होइन, बीचको वामपन्थी बाटोमा हिँड्ने हो ।’

प्रस्तुत कार्यविधिमा निर्वाचन प्रणाली समावेशी प्रकृतिको छ । रायमाझीको आपत्ति यसैमा हो । उनले सोधे– आदिवासी, जनजाति, दलित, पिछडावर्ग, महिला, मुस्लिम, कर्णालीका नाममा बढी समावेशी चरित्र देखाउँदा कम्युनिष्ट पार्टीको मूल्य–मान्यता समाप्त हुन्छ कि ? सुधारवादको झल्को दिएर वर्गीय प्रतिनिधित्वचाहिँ ओझेलमा पर्छ कि ? एमालेकै ताल हुने हो कि ?’ अनन्तहरूको चाहिँ युद्ध नलड्ने र चुनावी प्रतिस्पर्धाबाट आफूलाई अब्बल सावित गर्ने कार्यनीतिमा पार्टी लगेको हुँदा यस्तो प्रणालीलाई ठीकै मान्नुपर्ने तर्क थियो ।

प्रस्तुत कार्यविधिअनुसार अबदेखि माओवादीका कमिटी ५५ प्रतिशत चुनाव, ४० प्रतिशत विशेष व्यवस्था र ५ प्रतिशत केन्द्रबाट मनोनीत हिसाबले गठन हुनेछन्, प्रत्यक्षतर्फ हारेका, एकता प्रक्रियाबाट आएका, संसदीय चलखेलको राजनीति थोप्पै नजानेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत संगठनमा समेटिनेछ । प्रवक्ता पम्फा भुसाल दाँत दुखेको कारण केही नबोली बसेको शनिबारको बैठकलगत्तै शालिकराम जमरकट्टेल पुरानै विधिअनुसार धादिङको अध्यक्ष चुनिएका छन् ।

टिप्पणीहरू