अमेरिकी पिआर होल्डर जन्ममिति सच्याउन रौतहटमा

अमेरिकी पिआर होल्डर जन्ममिति सच्याउन रौतहटमा

अमेरिकाको स्थायी आवासीय कार्ड (पिआर होल्डर) प्राप्त एक महिला आफ्नो जन्ममिति सच्याउन जिल्ला प्रशासन कार्यालय रौतहट पुगेकी छन् । उनले आफ्नो नेपाली नागरिकतामा उल्लेखित जन्म महिना सच्याउन सिडिओ कार्यालयमा निवेदन दिएकी छन् ।

रौतहटको गौर नगरपालिका ५, स्थायी ठेगाना भएकी अमेरिकी पिआर होल्डर दीपज्योति केशरीले लामो समय अमेरिकामा बसेर स्वदेश फर्की नागरिकतामा उल्लेख गरिएको जन्म महिना सच्याउन निवेदन दिएपछि विवाद बाहिर आएको हो ।

केशरीले २०६० सालमा एसएलसी दिएको र प्रमाणपत्रमा जन्ममिति २०४४ असार ४ गते उल्लेख छ । तर नेपाली नागरिकतामा जन्म मिति २०४४ जेठ ४ गते लेखिएको बताइन्छ । केशरीले जिल्ला प्रशासन कार्यलयमा एसएलसीको प्रमाणपत्रका आधारमा नागरिकताको जन्ममिति सच्याउन निवेदन दिएकी हुन् ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निवेदन परे पनि जिल्ला प्रशासन कार्यालयलाई जन्म मिति सच्याउने अधिकार छैन । जन्ममिति मन्त्रिपरिषदको निर्णयमा मात्र सच्याउन मिल्ने उहाँले बताउनुभएको छ । त्यसैगरी कुनै पनि नागरिकले दुई वटा मुलुकको नागरिकता लिन नपाइनेसमेत उहाँले उल्लेख गर्नुभयो ।कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा उसले नेपालको नागरिकता परित्याग गरेको घोषणा गर्नुपर्छ । अमेरिकाको पिआर लिएकी केशरी एकाएक जिल्ला प्रशासन कार्यालयमा जन्ममहिना सच्याउन आएपछि उक्त रहस्य बाहिरिएको हो । जनआस्थालाई प्राप्त विवरणअनुसार उनले सन् २०१५ मार्च २९ मा अमेरिकी पिआर कार्ड प्राप्त गरेको देखिन्छ । पिआर कार्डको मान्यअवधि सन् २०२६ मार्च २९ सम्म रहेको छ ।

जन्ममिति सच्याउन आनाकानी गरेपछि केशरीले राजधानीमा बसेर नेताहरू मार्फत् रौतहटका सिडियोलाई दबाब दिएको स्रोतको दाबी छ । उनले अमेरिकी पिआर लिएको विषयमा कसैलाई औपचारिक जानकारी दिइएको छैन, तर परिवारका सदस्य र नातेदार सबैलाई उनको पिआरबारे विस्तृत जानकारी रहेकाले एक कान दुई कान मैदान हुँदै केशरीको पिआर र नागरिकताको रहस्य बाहिरिएको हो ।

टिप्पणीहरू