काष्ठमण्डपको पुनर्निर्माण सकिँदै

काष्ठमण्डपको पुनर्निर्माण सकिँदै

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक परिचयसँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण २०७५ को वैशाखबाट शुरु भएको हो । पुनर्निर्माणमा पनि सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिएको छ ।

हालसम्म काष्ठमण्डप पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुनर्निर्माण समितिका संयोजक एवम् प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना र भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिइएको संयोजक शाक्यको दाबी छ ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माण भइरहेको काष्ठमण्डपका लागि काठमाडौं महानगरपालिकाले चार चरणमा गरेर ११ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ ।

शुरुमा निर्माणको लागि आवश्यक काठबारे अन्यौल रहे पनि उपभोक्ता समितिले बारा,पर्सा, रौतहटलगायत तराईका जिल्लाको काठ प्रयोग प्रयोग गर्ने निर्णय भएपछि उक्त अन्यौल हटेको हो ।

काष्ठमण्डप पुनर्निर्माणमा माटो, इँटा र केही काठको पुनःप्रयोग गरिएको छ ।

टिप्पणीहरू