एमाले कार्यदलको बैठकअघि नेता नेपालसँग भेट

एमाले कार्यदलको बैठकअघि नेता नेपालसँग भेट

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक भर्खरै सिंहदरबारमा शुरु भएको छ । वरिष्ठ नेताकुमार माधव नेपाल पक्षका कार्यदल संयोजक तथा उपाध्यक्ष भीम रावल आउन ढिला हुँदा बैठक ढिलो शुरु भएको बताइएको छ ।

रावल नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो शुरु भएको हो ।

कार्यदलको बैठकअघि रावल र कार्यदलका सदस्यसमेत रहेका ओलीपक्षीय नेता विष्णु पौडेलबीच पनि छुट्टै छलफल भएको थियो । उक्त छलफलबारे जानकारी गराउन रावल नेता नेपाल निवास कोटेश्वर पुग्नुभएको बताइएको छ ।

सहमति जुटाउन लगातार बैठक बसिरहेको कार्यदलले हिजो साँझ अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराएको थियो । नागपोखरीको मेरियट होटलमा भएको वार्ता विना निष्कर्ष टुंगिएपछि कार्यदल फेरि आज छलफलमा जुटेको हो ।

हिजोको छलफलमा ओलीले निःशर्त सहयोगका लागि गरेको आग्रह नेपालले अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको बताइन्छ । हिजोको छलफलको निरन्तरता भन्दै आज पनि छलफल गर्न लागिएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

टिप्पणीहरू