काण्ड त अचेल कति हो कति

सेलिब्रेटी गगन थापाकै अड्डामा गाईजात्रा देखिएको छ । एउटै विभागमा दुई जना उपसचिव राखेर मच्चाउनुसम्म रडाको मच्चाइएको छ  ।
स्वास्थ्य मन्त्रालयको कानुन उपसचिवमा सीमानन्द भुसाल पहिलादेखि नै कार्यरत रहेकोमा उनको अन्यन्त्र सरुवा नगरी सोही स्थानमा कानुन मन्त्रालयबाट शम्भु रेग्मीलाई झिकाइएपछि लफडा मच्चिएको हो ।
स्रोतका अनुसार गगनको रोजाइमा कांग्रेसनिकट टीकाराम पाण्डे रहे पनि माओवादीको हातमा रहेको कानुन मन्त्रालयले माओवादी निकट रेग्मीलाई त्यहाँ पठाएको हो । महिना दिनअघि नै रेग्मीलाई पठाइएको भए पनि कुनै जिम्मेवारी नदिई थन्क्याइएको छ । यसरी जिम्मेवारीविहीन बनाउनमा गगन थापाकै स्वकीयको हात रहेको बताइन्छ । स्रोतका अनुसार प्रतिखिली चुरोटमा उठ्ने करबाट जम्मा हुन आउने रकम स्वास्थ्य कर कोष खडा गरिएको छ । सकारात्मक सोचका धनी कर्ण शाक्य र डा. मृगेन्द्रराज पाण्डेहरूको योजनाअनुरूप खडा भएको यो कोषमा हालसम्म ४२ करोडभन्दा बढी रकमको जम्मा भइसकेको छ । सो कोषको सदस्य–सचिव कानुन उपसचिव हुने हुँदासमेत यो पद आकर्षक मानिन्छ ।
खुकुरीभन्दा कर्द लाग्ने भनेझैं १० वर्षदेखि नै गगन थापाको स्वकीयका रूपमा कार्यरत शैलेस सिटौलाले कमाउ धन्दा चलाउन थालेसँगै टाउको दुख्न थालेको छ । २ र ३ कात्तिकमा ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम थियो । यही मेसोमा स्वास्थ्य सेवा विभागका शाखा अधिकृत कृष्ण पौडेल रौतहटतिर अनुगमन गर्ने भन्दै पुगे । तर, बार्गेनिङ गर्न थालेपछि लखेटिएका छन् । यही विषयलाई लिएर त्यहाँका जिल्लास्तरीय नेताले गगन थापासम्म कुरा पु¥याइसकेका छन् ।
रौतहटमा लामो समयदेखि काम गरिरहेका स्वास्थ्यकर्मी विजय यादवसँग मिलेर पैसा उठाउन खोजिएको रौतहटकै एक स्वास्थ्यकर्मीले बताए  ।
उता, २१ असोजमा स्वास्थ्य मन्त्रालय मातहतका हेल्थ असिस्टेन्टको समूहबाट ३३, आयुर्वेद समूहबाट १४ र अन्य सेवाबाट ३ कर्मचारी गरी ५० कर्मचारीको  सरुवा गरिएको थियो । जसमा मालदार स्थानमा सरुवा गराउँदै शैलेस र कृष्ण रिजालहरूले शुभलाभ लिएको चर्चा स्वास्थ्यकर्मीबीच चल्ने गरेको छ । जस्तोः वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसूदन कोइराला जनस्वास्थ्यको नवौं तहका हाकिम हुन् । उनी किड्नीका रोगी । महिनामा एक पटक काठमाडौं आई उपचार गराउँदै थिए । चितवनबाट काठमाडौं सरुवा हुन चाहन्थे । उनीसँग एक लाख रुपैयाँ मागेको बताइन्छ । जागिर अवधि एक वर्ष मात्र बाँकी रहेका मधुसूदनले बोलकबोल गरेजति रकम बुझाउन नसक्दा झापातिर हुत्याइएको छ । अर्का पीडित छन्, स्याङ्जाका डाक्टर भेषराज गौतम । घरपायक स्थानमा जागिर खाइरहेका उनी त्यहीँ रहन चाहन्थे तर ललितपुर तानिएको छ । धादिङका जीवनकुमार मल्ल वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् । काठमाडौं सरुवा हुनुपर्ने थियो । कांग्रेस धादिङका कृष्ण रिजालसँग मनमुटाव भएकै कारण  इलामतिर हुत्याइएका छन् । यता, दशैंमा गगन थापाको चियापान अवसरमा पशुपति मन्दिर परिसरमा सरुवा  गराइदिन्छु भन्दै कास्कीका ५ जना स्वास्थ्य अधिकृतबाट शैलेसले २५–२५ हजार रुपैयाँ उठाएको विषय गगन थापाको कानसम्म पुगिसकेको छ ।
यता, अर्काे मालदार अड्डा मानिने आयुर्वेद विभागमा उनै गगनको नाम बेच्दै देवराज लामिछानेले छैटौं तहका अशोककुमार साहलाई विराटनगरबाट काठमाडौं ल्याएसँगै हल्लीखल्ली मच्चिएको छ । उता, राम्रै अर्थाेपार्जन गर्न सकिने आयुर्वेद विभाग टेकुको प्रशासनमा डा. नारायण श्रेष्ठलाई गतिलै आर्थिक मोलाहिजा गरी ल्याइएको आरोप स्वास्थ्यकर्मीले लगाउने गरेका छन् । थापाले भ्रष्टाचार नगर्ने र गर्नेहरूलाई समेत नछाड्ने बताइरहँदा उनको स्वकीयहरूको कमाउ धन्दा देखेर स्वास्थ्यकर्मी नै जिब्रो टोक्छन् ।

टिप्पणीहरू