मेयरले एकलौटी गरेको भन्दै उपमेयरद्वारा नगरसभा बहिष्कार

मेयरले एकलौटी गरेको भन्दै उपमेयरद्वारा नगरसभा बहिष्कार

काठमाडौँ महानगरपालिकाको नगरसभा बैठकमा हङ्गामा भएको छ । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले एकलौटी गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीसहित १४ वटा वडाका वडाध्यक्षहरुले बैठक बहिष्कार गरेपछि नगरसभा बैठकमा लफडा भएको हो ।

मेयर शाक्यले कार्यपालिका बोर्डबाट पारित नगरी नीति तथा कार्यक्रम एकैचोटी नगरपरिषद्मा लैजान खोजेपछि बैठक वहिष्कारको अवस्था बनेको उपमयेर खड्गीले बताउनुभयो । मेयर शाक्यले प्रक्रिया मिचेर नीति तथा कार्यक्रम ल्याएको र जनताको प्राथमिकताको विषय पन्छाएपछि जनप्रतिनिधिहरुले बैठक छोडेको उहाँको भनाई छ ।

आज बिहान ११ बजे बसेको नगरसभा बैठकमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । बैठकमा मेयर शाक्यले एकैचोटी नीति तथा कार्यक्रम पढेर सुनाउन थालेपछि उपमेयर खड्की र वडाध्यक्षहरुले आपत्ति जनाएका थिए । उपमेयर खड्कीकाअनुसार नीति तथा कार्यक्रममा आफ्ना कुरा राख्न पाउनुपर्ने वडाध्यक्षहरुको माग गरेका थिए । तर मेयर शाक्यले अस्वीकार गरेपछि बैठक बहिष्कार गर्नुपरेको बताइएको छ ।

‘शहरी विकास तथा योजना आयोगका उपाध्यक्षले नीति तथा कार्यक्रम पढेर सुनाउनुभयो । वडाध्यक्षज्यूहरुले अध्ययन गर्न पाउनुपर्यो भन्नुभएको थियो । मेयर ज्यूले के–के राख्ने भनेर पहिले सोध्नु त भएको थियो, तर आज एकैचोटी ल्याउनुभयो । वडाध्यक्षज्यूहरुले तत्कालै यो यो कुरा भन्न सक्ने कुरा त हुँदैन नि । मैले कम्तिमा २४ घण्टा अगाडि एजेन्डा पठाउनुपर्छ भन्दै आएको थिए तर त्यो लागू भएन’, उपमेयर खड्गीले भन्नुभयो ।

आफूहरुले कोरोनाको खोप ल्याउने, कर घटाउनेलगायतका प्रस्तावलाई मेयरले अस्वीकार गरेको उहाँले बताउनुभयो । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको उहाँले सुनाउनु भयो ।

‘अहिले कोरोनाको महामारी छ । लकडाउन गरिएको छ । महानगर त जनताकै ट्याक्सबाट चल्ने हो नि । त्यसैले जनतालाई बचाउने कुरा पहिलो प्राथमिकता हुनुपर्छ भन्ने हाम्रो कुरा थियो । त्यसका लागि भ्याक्सिन किनेर जनतालाई दिउँभन्दा उहाँ (मेयर)ले हाम्रो कुरा सुन्नुभएन’, उपमेयर खड्गीले भन्नुभयो, ‘करको दायरा फराकिलो बनाएर कर घटाउनुपर्ने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा परेन । यस्तो महामारीका बेला मेयरलाई अप्ठेरो पार्ने हाम्रो उद्देश्य थिएन तर पटक–पटक उहाँले हाम्रो कुरालाई बेवास्ता गरेपछि बहिष्कार गर्नुपरेको हो ।’

मेयर शाक्यको नियतप्रति पनि आफूहरुलाई आशंका लागेको उहाँको भनाई छ । नगरवासी र महानगरका जनप्रतिनिधिलाईभन्दा मेयर शाक्यले संघीय सरकारलाई बढी विश्वास गरेको र सरकारको कुरा सुन्ने गरेको उहाँको भनाई छ ।

‘जनताको पक्षमा हो भने आफ्नै सरकार भए पनि दबाब दिन सक्नुपर्यो नी । चुनावको कुरा, टिकट पाउने कुरा एउटा होला तर त्योभन्दा पहिले त जनताले गरेको विश्वासअनुसार काम गर्नुपर्ने होइन र ! तर उहाँ त सरकारलाई दबाब दिने होइन बरु जे भन्यो त्यहि मान्ने गरिअघि बढ्नुभएको छ । हामीले जनताका कुरा सुन्नुस् भनेको हो, मान्नुभएन’, उपमेयर खड्गीले भन्नुभयो ।

टिप्पणीहरू