बालुवाटारनिकट पत्रकार बित्दा परिवारको बिलौना

बालुवाटारनिकट पत्रकार बित्दा परिवारको बिलौना

कोरोना महामारीले मुलुकको सञ्चारक्षेत्रलाई पनि नराम्रोसँग गाँजेको छ । धेरैजना सञ्चारकर्मी संक्रमित भएका छन् भने केहीको ज्यानसमेत गएको छ । पछिल्लो पटक जनता टाइम्सका सम्पादक शान्तिराम कार्कीको मनमोहन अस्पताल,स्वयम्भूमा उपचार क्रममा जेठ १ गते निधन भएको हो ।

झापा निवासी कार्कीको परिवार भक्तपुरको राधेराधे नजिकै बस्दै आएको छ । परिवारले शान्तिरामको निधनपछि उनी कार्यरत संस्थाबाट लामो समयदेखि तलब नपाएको भन्दै विभिन्न निकायमा अनुनयविनय गरेको छ । शान्तिरामले कोरोना लागेपछि आफू कार्यरत संस्थाबाट लामो समयदेखि तलब भत्ता नपाएको जानकारी गराएको परिवारका एक सदस्यले बताएका छन् ।

अहिलेको अप्ठेरोमा कार्यरत संस्थाहरुबाट पाउनुपर्ने रकमसहित थप सहयोगको अपेक्षा राखेको उनको भनाई छ ।

कार्कीलाई बालुवाटारनिकट प्रेस चौतारीको केन्द्रीय सदस्यमा हालै मनोनित गरिएको थियो । उहाँ पत्रकार महासंघ नेपालकाे च्यानल नेपाल प्रतिष्ठानका निर्वाचित अध्यक्ष समेत हुनुहुन्थ्यो । साैर्य दैनिकको वरिष्ठ उपसम्पादक समेत रहेको दैनिकले प्रकाशित गरेको समवेदना सन्देशमा उल्लेख छ ।

श्रमजीवी पत्रकारको आवाज उठाउने चौतारीको केन्द्रीय सदस्यमा रहेका सञ्चारकर्मीको निधनपछि परिवारले दुई तीन बर्षकै मेहनतको मूल्य नपाएको कुरो उठाउने अवस्था आउनुलाई सबैले अचम्म मानेका छन् ।

यसबारे जनता टाइम्स तथा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतसँग सम्पर्क राख्दा कार्कीको झण्डै दुई साताको अस्पताल खर्च आफ्नो संस्थाले व्यहोरेको बताउनुभएको छ । मनमोहन अस्पताल,स्वयम्भूमा आईसीयुको खर्च मात्रै २ लाख तिरेको र अझ तिर्न बाँकी रहेको उहाँको भनाई छ । पार्टटाइम काम गरेका कार्कीलाई आफ्नो संस्थाले पारिश्रमिक प्रदानमा कुनै कञ्जुस्याईं नगरेको उहाँले बताउनुभयो ।

यता,पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालका अनुसार सरकारले तोकेअनुसारको पारिश्रमिक दिनैपर्ने व्यवस्था छ । पाँच जनाभन्दा कम सञ्चारकर्मी रहेको संस्थाले न्यूनतम १५ हजार र त्योभन्दा बढी भएका संस्थाले मासिक २४ हजार ९ सय रुपैयाँ पारिश्रमिक दिनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

मर्का परेको सञ्चारकर्मीको हकमा समितिले कस्तो पहल गर्ने व्यवस्था छ भनेर सोधिएको जिज्ञासामा उहाँले सम्बन्धित व्यक्तिले संस्थाले रकम खुलाएर दिएको नियुक्तिपत्र सहित उपस्थित भएपछि लामो प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

त्यस्तो समस्या नआओस् भनेर समितिले वार्षिक रुपमा पत्रकारहरुको पारिश्रमिकका गुनासासहितको सर्भे गरेर सञ्चार मन्त्रालयमा बुझाउने गरेको पनि जानकारी दिनुभयो ।

टिप्पणीहरू