गोरखामा पनि संक्रमणदर बढ्यो, बजारमाभन्दा गाउँमा छ्याप्छाप्ती

गोरखामा पनि संक्रमणदर बढ्यो, बजारमाभन्दा गाउँमा छ्याप्छाप्ती

कोरोना महामारीको दोस्रो लहर सहर बजारबाट बिस्तारै ग्रामीण क्षेत्रमा फैलन थालेको छ । यो क्रम गोरखा जिल्लामा पनि देखिएको बताइन्छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार जिल्लाको ग्रामीण भेगमा संक्रमण र सोबाट हुने मृत्युदर उच्च पाइएको छ ।

उहाँले ग्रामीण भेगमा निषेधाज्ञाको पूर्णरुपमा पालना नभएकाले संक्रमण ह्वात्तै बढेको बताउनुभएको छ । गाँउमा सहर बजारमाझैँ प्रहरी प्रशासनको सुक्ष्म अनुगमन र सुपरीवेक्षण नहुने भएकाले स्थानीयहरुको आवतजावतबाट ग्रामीण भेगमा संक्रमणदरमा बृद्धि भएको प्रजिअ पौडेलले बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘ग्रामीण भेगमा संक्रमण भए पनि लुकाएर बस्ने प्रवृत्ति देखिएकाले मृत्युदर उच्च विन्दुमा पुगेको हो ।’ अहिले गोरखाको बारपाकमा संक्रमणदर उच्च भएको बताइन्छ । संक्रमण न्यूनीकरण गर्न लगाइएको निषेधाज्ञा पालनाको निम्ति एउटा गाउँमा कम्तिमा ४ देखि ५ जना प्रहरी खटाउनुपर्ने बाध्यात्मक अवस्था आइपरेको उहाँ बताउनुहुन्छ ।

कोरोना महामारीको दोस्रो लहरमा गोरखामा हालसम्म ६ हजार बढिमा परीक्षण गरिएकोमा २ हजार बढिमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ हजारबढि संक्रमणमुक्त भएको पौडेलले जानकारी दिनुभयो । दोस्रो लहरबाट जिल्लामा २५ जनाभन्दा बढिको निधन भएको छ ।

संक्रमण झन् बढेको देखिएकाले हाल लगाइएको निषेधाज्ञा थप गर्न सकिने उहाँले बताउनुभयो । आगामी केही दिनभित्र जिल्ला प्रशासनले स्थानीय पालिकाको समन्वयमा थप परीक्षण थालिने तयारी गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू