नफर्कने गरी गए फौजदारी न्यायका गुरु

नफर्कने गरी गए फौजदारी न्यायका गुरु

कानुन र न्याय क्षेत्रका अथक साधक । अर्थात् प्रोफेसर माधवप्रसाद आचार्य । २००३ साल पुस १७ गते काठमाडौंको जैसीदेवलमा जन्मिए । पारिवारिक अवस्था सामान्य ।

पिता रघुनाथ संस्कृतका पण्डित, शिक्षण पेशामा थिए । अरू आम्दानीको बाटो केही थिएन । यही बीच आचार्य चार वर्षको हुँदै एक्कासि ठूलो बज्रपात खेप्नुप¥यो । लालनपालन गर्ने र हुर्काउने पिताको झाडापखालाका कारण अल्पायुमै मृत्युवरण भयो । २००७ सालको कुरा थियो, यो ।

दुईवटी दिदीको पनि बिहे भएपछि कलिलो उमेरमै सबै जिम्मेवारी थाप्लोमा आइप¥यो । पढ्ने वातावरण बिथोलियो । सानो छँदा स्कुल पढ्न पाएनन् । आमा र मामाका छोराहरूको रेखदेखबीच घरमै सामान्य लेखपढ गरे । पछि मात्र एकैचोटि ताहाचलको अभ्यास हाइस्कुलमा गएर ९ कक्षामा भर्ना भए । त्यहाँ पढ्ने वातावरण नभएपछि पुनः विश्वनिकेतन हाइस्कुलतर्फ लागे ।

पढ्ने खर्च नभएर छात्रवृत्तिका लागि निवेदन दिए । तर, छात्रवृत्ति मिलेन । तैपनि पढ्न छाडेनन् । विश्वनिकेतनमा पढ्दाताका केदारभक्त माथेमा सहपाठी थिए । २०१८ सालमा एसएलसी पूरा गरे । त्यसपछि त्रिचन्द्र कलेजमा आईए भर्ना भए । स–साना बाबुनानीलाई ट्युसन पढाएर खर्चको जोहो गर्थे, उनी । ट्युसनले खर्च धान्न नसकेर विद्युत् समितिको कार्यालयमा जागिर गर्दै पढ्दै गर्न थाले । यता द्वितीय श्रेणीमा आइए उत्तीर्ण भए । दिउँसो काम गरेर पैसा जुटाउनुपर्ने बाध्यता थियो । आइए पास भएपछि बीए पढ्न भनेर दरबार हाइस्कुलको रात्रि कक्षामा भर्ना भए ।

सहकारी बैंकमा ‘सुपरभाइजर’को जागिर खुल्यो । संयोगवश नाम निस्कियो । द्वितीय श्रेणीमा आईए उत्तीर्ण गर्ने अर्को व्यक्ति नभएकाले बैंकमा जागिर पाए । बैंकमा काम गर्दागर्दै बीए पूरा गरे । बैंकमा हुँदा मुलुकका विभिन्न ठाउँ घुम्ने मौका मिल्यो । अडिटरको जिम्मेवारी थियो ।

आमालाई एक्लै छाडौं, पुरानो घर छ । बाहिर लैजाऔं कसरी ? त्यति बेला बडो समस्यामा परेको कहानी दिवंगत हुनुअघि सुनाएका थिए आचार्यले जतिबेला जागिरको क्रममा उनी हेटौंडामा खटाइएका थिए । हेटौंडामा पहिलोपल्ट बैंकको शाखा खोलेर प्रमुखको जिम्मेवारीमा पठाइएका थिए । गाउँगाउँमा पुगेर कृषकसँग मौसमी खेतीपाती र ऋणको विषयमा ‘डिल’ गर्नुपथ्र्यो ।

यही फेरोमा वृद्ध आमालाई आफूसँगै लगेर हेरचाह गर्ने कि जागिरै छाड्ने भन्ने द्विविधा भयो । आमालाई सँगै लैजाँदा यता जैसिदेवलको बूढो घर यत्तिकै खाली हुन्थ्यो । आखिर आमाको मायाले छँदाखाँदाको जागिर छाडे । जागिर छाडेको कुरा कसैलाई भनेनन् ।
सञ्चय कोषमा जम्मा भएको अलिअलि पैसा निकालेर घरखर्च चलाए । काठमाडौं फर्केपछि यत्तिकै बस्नुभन्दा कानुन पढ्ने सोच पलायो । उतिबेला लको पढाइ पनि दरबार हाइस्कुलमै हुन्थ्यो ।

द्विविधाबीच मानविकीबाट नेपाली र अर्थशास्त्रमा डिग्री पढ्ने सोचलाई पूरै त्यागेर कानुनमै केन्द्रित हुने निधो गरे । घरमा बूढी आमाको सेवासुसार, दिउँसो विद्यार्थीलाई ट्युसन र राति बीएलको पढाइ । दायाँबायाँ नहेरी घोटिएर ल पढ्न थालिसकेका थिए । विश्वकान्त मैनाली, शंकरनाथ घिमिरे, थानेश्वर भट्टहरू बीएल पढ्दा रात्रि कक्षामा साथी थिए । आचार्य बीएलमा प्रथम श्रेणीमै उत्तीर्ण भए । सामान्यतया त्यो जमानामा ल विषयमा प्रथम श्रेणी आउँदैनथ्यो ।
प्रथम श्रेणी आएपछि के के न हुन्छ भन्ने जमाना थियो । तत्कालीन राजा महेन्द्रबाट ‘महेन्द्र विद्याभूषण’ प्रदान गरियो ।
प्रथम श्रेणीमा बीएल गरेका कारण भोलिपल्टै ल कलेजमा पढाउन ‘अफर’ आयो ।

२०२८ सालमा नयाँ शिक्षा योजना लागू हुने चरणमा थियो । अस्थायी शिक्षकका रूपमा ल कलेजमा पढाउन थाले । ल कलेज पनि दरबार हाइस्कुलबाट प्रदर्शनीमार्गमा सरिसकेको थियो । नयाँ शिक्षा शुरु भएपछि प्रथम ‘ब्याच’लाई पढाए । तत्कालीन प्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, गोपाल पराजुली, सर्वोच्चका न्यायाधीश दीपकराज जोशी, मीरामैयाँ खड्का, टंक मोक्तान, उच्च अदालतका मुख्य न्यायाधीश शम्भुबहादुर खड्कालगायत आचार्यका विद्यार्थी थिए ।

ल कलेजबाट पूरै तलब लिएर छात्रवृत्तिमा पढ्न बेलायत पुगे । सेफिल युनिभर्सिटीमा भर्ना भएर फौजदारी कानुन पढे । त्यति बेला एलएलएम पढ्ने प्रायः सबैले अन्तर्राष्ट्रिय कानुन रोज्थे । आचार्यले सेफिल युनिभर्सिटीबाट सन् १९८० मा फौजदारी कानुनमा एलएलएम गरे । बेलायतमै रहेका बेला उनले आमा गुमाउनु प¥यो ।

बेलायतबाट फर्केपछि फौजदारी विधामै पढाउने प्रस्ताव भयो । उनले प्रमाण कानुनका साथैमा फौजदारी कानुन पनि प्राध्यापन गरे । बेलायतबाट नयाँ विषय पढेर आएकाले नेपाल प्रहरीको तालिम र प्रशिक्षणमा पनि माग बढ्न थाल्यो ।
०४६ सालतिर दुवै आँखाको ‘रेटिना’मा खराबी देखियो । जँचाउन बेलायतको सेफिल सहरस्थित हालामसायर हस्पिटल गए । त्यहाँ कुनै उपचार हुन सकेन । बरु मेडिकल साइन्समै कुनै ‘ट्रिटमेन्ट’ नभएको चिकित्सकले सुनाए । सायद यिनै आँखाको कारण बनाएर प्रमोसनमा गडबडी भयो ।
क्रमशः आँखाको दृष्टि गुमाउँदै गए । सहयोगीको आवश्यकता परिसकेको थियो । ल क्याम्पसको सहप्राध्यापकबाट राजीनामा दिए । राजीनामापछि भने त्रिविले दीर्घसेवा पदक दिएको छ ।

फौजदारी न्याय शास्त्रका ज्ञाता डा.युवराज संग्रौलाले काठमाडौं स्कुल अफ ल (केएसएल) कलेज स्थापना गरे । संग्रौलाबाट प्राध्यापनमा सहयोग गर्न प्रस्ताव आयो । आचार्यको मनमा प्राध्यापनको हुटहुटी ताजै थियो । २०५७ सालदेखि केएसएलसँग जोडिए । अभिभावकीय भूमिकामा अध्यक्षको जिम्मेवारी पाए । प्राध्यापन र पाठ्य योजनामा मद्दत गर्न दुई जना सहयोगीले साथ दिए । नयाँ पुस्तक वा अदालतका नयाँ फैसला वा ‘जुरिस्प्रुडेन्स’ आवश्यक भएमा उनीहरूमार्फत सहयोग हुन्थ्यो ।

विद्यार्थीका लागि ‘प्रिन्ट नोट’ बाँडेपछि आचार्य कक्षामा उभिएर घण्टौंसम्म खरर्र ‘लेक्चर’ दिन्थे । लामो समयदेखि अध्ययन अध्यापनमा अभ्यस्त र दखल भएका कारण कुनै सामग्री या दर्शनको समस्या थिएन । सहयोगी नभएको खण्डमा केएसएलका विद्यार्थी नै आई कार्यालयबाट कक्षासम्म डोहो¥याएर ल्याउने र लैजाने गर्थे । ललितपुर बागडोलस्थित निवासबाट गाडीमा आफैं कलेज आउजाउ गर्थे ।

कार्यालयमा बस्नका लागि कलेजको एक तलामाथि सहज र वातानुकूलित कोठा दिइएको थियो । घर पुगेपछि जीवनसाथी र छोराको सहयोग रहन्थ्यो । दुई छोराछोरीमध्ये छोरा चार्टर्ड एकाउन्टेन्ट हुन् भने छोरी अस्ट्रेलियामा आर्किटेक्चरल इञ्जिनियर । कार्यालयमा होस् वा घर, दश्य बन्द भए पनि सकेजति आफ्नो काम आफैं गर्थे आचार्य । ७५ वर्षमा आइपुग्दा अग्रज गुरुका रूपमा आचार्यले सबैको माया पाएका थिए । झण्डै पाँच दशकको अवधिमा असल र निर्भीक गुरुका रूपमा हजारौंलाई आँखा देखाए ।

आधा दर्जन त कानुनका ‘ठेली’ नै लेखिसकेका छन् । उनका ‘फौजदारी कानुन ः एक समीक्षात्मक विवेचना’, ‘क्रिमिनल जुरिस्प्रुडेन्स’, ‘क्रिमिनोलोजी पेन्लोजी’, अपराधशास्त्र, फौजदारी कानुन र फौजदारी न्याय, अपराध शास्त्र विभिन्न लेखहरूको संग्रह प्रकाशित छन् । मुलुकमा अझै इमानदार व्यक्तिको अभाव नभएको बताउँथे । ‘केही भएन भन्दै अर्काको आलोचना गरेर मात्रै सिर्जनशीलता हुँदैन’, आचार्य यसै भन्थे, ‘जो जो जुन ठाउँमा छौं, सबैले इमानदारीपूर्वक देशलाई माया गरेर पछिको पुस्ताका लागि कुनै न कुनै योगदान दिन सकौं । ’

साँच्चिकै माधव गुरु निष्ठाको नमुनै थिए । नेपालमा फौजदारी न्यायको प्राधिकार पनि । जसले फौजदारी न्यायका नयाँ मान्यता स्थापित गरे । तर राज्यले भने उनलाई चिन्न सकेन । कहिल्यै पद माग्न कसैकोमा पुगेनन् । ७५ वर्षको उमेरमा पनि ६ घण्टा पढाउँथे । यिनै गुरु माधवप्रसाद आचार्यको गत शुक्रबार संसार त्यागे । फौजदारी न्यायका अग्रज गुरूप्रति श्रद्धाञ्जली !

टिप्पणीहरू