उध्योग वाणिज्यको चुनाव र चण्डीलाई तनाव

उध्योग वाणिज्यको चुनाव र चण्डीलाई तनाव

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न निर्वाचन परिणामले लामो समयदेखि विशिष्ट सदस्य पद सम्हाल्दै आएका चण्डी ढकालको पद धरापमा परेको छ । आजदेखि महासंघको कार्यसमितिमा शेखर गोल्छा स्वतः अध्यक्ष,भवानी राणा निवर्तमान अध्यक्ष र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष बनेका छन् । आगामी अढाइ वर्षपछि ढकाल स्वतः अध्यक्ष हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिरेर कालोसूचीमा परेका चण्डीको कारण महासंघको निर्वाचनमा कहिल्यै पनि सहमति हुन नसकेको बताइन्छ । कार्यसमितिको विशिष्ट सदस्य पदलाई दुहुनो गाई बनाउँदै आएका ढकाल यसपटक सोही पदमा मनोनित हुने सम्भावना अत्यन्त क्षिण देखिन्छ । ढकालकै कारण यस पटकको निर्वाचनमा किशोर प्रधान बिरोधी खेमाले तीन करोडभन्दा बढी रूपैयाँ खर्च गर्नुपरेको थियो ।

निर्वाचन परिणामअनुसार कार्य समितिको निर्वाचित ६४ पदमध्ये झण्डै आधा प्रधान र आधाभन्दा केही बढी चन्द्र ढकाल पक्षले हात पारेको बताइन्छ । मूलतः अध्यक्ष गोल्छाको पक्षमा निवर्तमान अध्यक्ष,जिल्ला, नगर र वस्तुगत समूहका दुईजना उपाध्यक्षसहित क्रमशः ११ र सात जना सदस्य स्पष्ट रूपमा देखिएका छन् । बाँकी प्रदेशस्तरीय सदस्यमा पनि दुबै पक्षले आ–आफ्नै खालको दाबी गर्दै आएका छन् । अब नयाँ कार्यसमितिले एक जना महिलासहित तीन जना सदस्य,एक जना कोषाध्यक्ष र विशिष्ट सदस्य मनोनित गर्नुपर्ने हुन्छ । निर्वाचित सदस्यहरूलाई आफ्नो पक्षमा पार्न अब दुबैथरीले सबैभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ ।

बैंकको ऋण नतिरेर कालो सूचीमा परेका ढकाललगायत देखिनेगरी उद्योग,व्यवसाय र व्यापार नगर्नेहरूको महासंघमा बिगबिगी भएपछि पक्ष र विपक्ष देखिएको बताइन्छ । चण्डी ढकालले सँधै विशिष्ट पद ओगटेर आम्दानीको दुनो सोझ्याएपछि आफूहरूले उनलाई महासंघबाट हटाउनैको लागि निर्वाचनमा अभियान चलाएको गोल्छा समूहको दाबी छ । चण्डीको महासंघ निर्वाचनमा देखिएको सक्रियता उही विशिष्ट सदस्यमा मनोनित हुने सिट सुरक्षित राख्नु रहेको बाहेक अरु केही नभएको स्रोतको दाबी छ । अब उनीसङ्ग चन्द्रबाहेक महासंघमा कोही पनि देखिएका छैनन् ।

हुन तः निवर्तमान अध्यक्ष भवानी राणालाई त्यो ठाउँसम्म पुर्याउनेमा चण्डीको योगदान धेरै रहेको छ । लामो समयसम्म एउटै सिक्काको दुईवटा पाटोजस्तो भएर महासंघमा रहेका राणा र ढकालबीच एकाएक फाटो आएपछि अहिले दुबैजना दुबैको प्रखर बिरोधीको रूपमा देखिएका हुन् । चण्डीलाई बोकेकै कारण चन्द्रका केही पुराना सहयोगीहरू प्रधान समूहबाट निर्वाचनमा सहभागी भएर विजयी पनि भएका छन् ।

निर्वाचित दुईजना उपाध्यक्ष अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ महासंघमा यसअघि चन्द्रका घनिष्ठ सहयोगी थिए । तर, चण्डी ढकालले यसअघि अन्जन श्रेष्ठका मामा आजाद श्रेष्ठलाई हराएको कारण श्रेष्ठ बाध्य भएर यसपटक प्रधान समूहको उपाध्यक्षमा सामेल भएको बताइन्छ ।

टिप्पणीहरू