मैले विश्वास जितें त के बिराएँ « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

मैले विश्वास जितें त के बिराएँ



नेपाल प्रहरीको प्राविधिक समूह (स्वास्थ्य उपसमूह) तर्फको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा गत माघमा बढुवा भएकी हुन् डा. आशा सिंह । वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सिंह नेपाल प्रहरी अस्पतालको कार्यकारी निर्देशकका रुपमा कमाण्ड सम्हालिरहेकी छन् । प्रहरी अस्पतालको प्रमुख हुनका लागि प्रतिस्पर्धामा उनीभन्दा सिनियर डिआईजी डा. मीनराज पाठक र डा. सुमनराजा श्रेष्ठ थिए । तर, शक्तिकेन्द्रले रुचाएपछि उनी अस्पताल प्रमुख भएकी हुन् ।

० कोरोना संक्रमणमा प्रहरीहरुको स्थिति के छ ?
– देशभर ५४ प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये आठजना निको भएर घर गए । कोभिड– १९ को पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि बलम्बुस्थित युनिफाइड कमाण्ड अस्पतालमा पठाउँछौं । आरडिटी पोजिटिभहरुलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गरिरहेका छौं । त्यसबाहेक हामीकहाँ उपचारका लागि आउने प्रत्येक बिरामीको कोरोना टेष्ट गर्ने गरेका छौँ ।

० देशभरका अन्य अस्पतालहरुमा औषधि, उपकरणदेखि सेवा सुविधाको अभाव भएको खबर सुनिन्छ । प्रहरी अस्पतालको अवस्था पनि उस्तै हो ?
– यो प्रहरीको कोषबाट सञ्चालित अस्पताल हो । यसमा नेपाल सरकारको बजेट छ । एक सय ५० शय्याको स्वीकृति पाएका छौं । हाम्रो लक्ष्य डेढ सय शय्या थपेर तीन सय बनाउने हो । ०७४ साल कात्तिकदेखि सर्वसाधारणका लागि १० शय्या आरक्षण गरिएको छ । नयाँ भवन निर्माणाधीन छ । त्यो पूरा भएपछि तीन सय बेडको अस्पताल बन्ने छ र सर्वसाधारणलाई पूर्णतः सेवा दिन सक्छौँ । कोरोनाको संक्रमण नभएको भए हाम्रा भवनहरु बनिसकेका हुन्थें । अहिले गृहकार्य गरिरहेका छौं । कम शुल्कमा जनतालाई गुणस्तरीय सेवा दिन्छौं । यही सेवा लिनका लागि महंगो शुल्क तिरेर कर्पोरेट अस्पताल जानुपर्ने अवस्था छ । ती सेवा सरकारीमै दिन सकिन्छ । यो काम मेरै कार्यकालमा गर्छु भन्ने दृढ विश्वास छ । हामीले सहयोगको बाचा धेरै ठाउँबाट पाएका छौं । शुल्क कसरी लिने भन्ने विषयमा दुई–तीन पटक मिटिङ बसेर निर्धारण पनि गरिसकेका छौं । सरकारी अस्पतालकै शुल्क लिएर सेवा दिन्छौं । सिभिल अस्पतालझैं अघि बढाउने योजनामा छौं ।

सरकारी अस्पतालकै शुल्क लिएर सेवा दिन्छौं । अस्पतालले गर्भवती महिलाको उपचार गर्न मानेन । हामीले नै हे-यौं ।

मेडिकल फिल्ड एकदमै परिवर्तन भइरहने र महँगो क्षेत्र हो । एउटा उपकरण चलाउन थालेको केही महिना नबित्दै नयाँ–नयाँ उपकरण आइसक्छन् । यद्यपि म के कुरामा विश्वास गर्छु भने, स्वास्थ्य सेवा भनेको मेसिनभन्दा पनि व्यवहारमा निर्भर गर्दछ । स्वास्थ्यकर्मीले बिरामी र सेवाग्राहीसँग कस्तो व्यवहार गर्छ ? कस्तो बोली–बचन छ ? त्यसमा धेरै कुरा निर्भर हुन्छ । यो टिम वर्क हो । सबैलाई परिवर्तन गर्न त सकिँदैन, तर आफैं उदाहरणीय बन्नचाहिँ सकिन्छ कि ’ भन्ने प्रयास आजसम्म गर्दै आएँ । अझै प्रयासरत छु । हामी सबैले बिरामीहरुसँग सकारात्मक व्यवहार गरौं । त्यसमा हामी केही हदसम्म सफल पनि छौं । कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालले गर्भवती महिलाको उपचार गर्न मानेन । ती महिलालाई हामीले नै हे-यौं । त्यसपछि प्रसुति सेवाका बिरामी अत्यधिक आए । प्रसुति मेरै विभाग हो । धेरैले हाम्रो सेवा सुविधा राम्रो देख्नुभयो ।

० यहाँको कार्यकालमा यो अस्पताललाई अब्बल बनाउन के–कस्ता योजना छन् ?
– यो सेवाको क्षेत्र हो । सेवालाई विशिष्टकृत गर्दै लैजाने नै हो । कोरोना भनौं वा जनसुकै आपत–विपतमा सबैभन्दा पहिला पुग्ने भनेकै प्रहरी हुन् । नेपाल प्रहरी संगठनभित्र विभिन्न प्रकारका सेवा उपलब्ध छन् र सबै गरेर ८० हजार हाराहारीमा कर्मचारी छौँ । मेरो योजनामा भूतपूर्व प्रहरीहरुलाई हाम्रा काममा समेटौं भन्ने छ । स्वास्थ्य सेवाको सबैभन्दा बढी खाँचो पनि उहाँहरुलाई छ । उच्च ओहोदाबाट रिटायर्ड भएकाहरुलाई खाँचो नपर्ला, तर सानो तहबाट अवकाश पाएका प्रहरीहरु सबैभन्दा बढी पीडित हुनुहुन्छ । यो ६ महिनाको अवधिमा मैले विश्लेषण गर्दा सिपाही, हवल्दारहरु जागिर छाडेपछि अत्यधिक मदिरा पिउने, किड्नी र लिभरमा हान्ने समस्याले ग्रस्त छन् ।

यसबाहेक ब्लड प्रेसर, सुगर, मुटु, कलेजोका रोगीहरु हुनुहुन्छ । क्यान्सर रोगी पनि उत्तिकै छन् । त्यही कारण सबैभन्दा बढी उपचारको खाँचो उहाँहरुजस्तै तल्ला तहका अवकाशप्राप्त प्रहरीलाई छ । म यहाँ आएपछि उहाँहरुलाई सबै औषधी निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाएको छु । सुशासन ल्यायौं भने आउटपुट ल्याउन सक्छौं भन्ने विश्वास छ । यो बहालवालाको अस्पताल त हो नै, भूतपूर्वका लागिसमेत हुने गरी काम गर्दैछौं । बजेटको ४० प्रतिशत भूतपूर्वका लागि खर्चिएका छौं । बहालवालाको ट्रमाका केसहरु धेरै आउँछन् । हाम्रा प्रहरी कतै रिफर भएर जान नपरोस्, सम्पूर्ण उपचार यही पाइयोस् भन्ने संगठनको ध्येय छ । घटना जहाँ हुन्छ, त्यहाँबाट डिजाष्टर रेस्क्यु टिम गएर त्यहीँबाट यहीँ उपचार गरौं भन्नेमा छौँ । उपचार ढिलो भएका कारण एउटा प्रहरीले ज्यान पनि गुमाउन नपरोस् भन्ने ढंगबाट काम गरिरहेका छौं ।

सिपाही, हवल्दारहरु अत्यधिक मदिरा पिउने, किड्नी र लिभरमा हान्ने समस्याले ग्रस्त छन् । हाम्रै फ्रिज भएको पैसा रकमान्तर गरी फुल्ली अटोमेटेड मेसिन किनेका छौं ।

० यी लक्ष्यहरु पूरा गर्न स्रोत–साधनको अवस्था कस्तो छ ?
– ‘तँ आँट्, म पु-याउँछु’ भनेजस्तो आँट्नुपर्छ, पुग्छ । पहिला कुन ठाउँ पुग्ने हो भनेर देखिसकेपछि त्यहाँ पुग्नका लागि धेरै बाटो पहिल्याउन सकिन्छ । जस्तो कि, प्रहरीका लागि पिसिआर ल्याबकै कुरा गरौं न । हामीलाई अत्यन्त जरुरी थियो । कालिमाटीमा एक जना प्रहरीमा कोरोना संक्रमण देखियो । टेकुमा १० दिनसम्म पिसिआर रिपोर्टका लागि कुर्नुप-यो । मेरो मनमा लाग्यो, हामीकहाँ पिसिआर मेसिन भएको खण्डमा ८०/८५ जना थुनिएर बस्नु त पर्दैनथ्यो । लागिपरेँ । संगठन प्रमुख, मभन्दा माथिका अधिकारी, मन्त्रालयका सचिव हरेक ठाउँबाट सकरात्मक रेस्पोन्स पाएँ । आफू लागिपरेपछि अरुले पनि साथ दिँदा रहेछन् । सकारात्मक इन्टेन्सन बोकेर हिँडेपछि आँटेको कुरा पुग्छ । हाम्रै फ्रिज भएको पैसा रकमान्तर गरी फुल्ली अटोमेटेड पिसिआर मेसिन किनेका छौं । त्यसले छिटोभन्दा छिटो रिपोर्ट दिन्छ । उद्घाटनको तयारीमा छौं ।

० बाहिर र प्रहरीको कोरोना संक्रमण मृत्युदरको ट्रेण्ड कस्तो पाउनुहुन्छ ?
– युरोपियन मुलुकहरुमा जुन खालको मृत्युदर देखिएको छ, त्यो हामीकहाँ छैन । ११ हजार प्लस संक्रमित हुँदा हामीकहाँ २६ जनाको ज्यान गएको छ । यद्यपि यी सबै कोरोना संक्रमणकै कारण मृत्यु भएको होइन । कोरानाकै कारण मृत्यु हुने ४/५ जना मात्र हो । मृत्यु भएकामध्ये किड्नी, मुटुरोगलगायतका दीर्घरोगी बढी छन् ।

० प्रहरी अस्पतालमा वरियता मिचिनेजस्ता कुराले समय–समयमा किन विवाद देखिन्छ ?
– विकृति भनेको आफ्नै दिमागको उपज हो । यहाँ एक नम्बर भन्ने परिपाटी देखियो । एक नम्बर सधैं हुँदै जाने हो भने त म एक नम्बर इन्स्पेक्टर थिएँ । आज स्पेसलाइज गरेर डिएसपीमा छिर्छन् । म इन्स्पेक्टरमा छिरेकी हुँ । मैले एमडी गरें, गोल्डमेडलिष्ट हुँ । म अस्पतालमा आउँदा गाइनो डिर्पाटमेन्ट थिएन । मैले नै स्थापना गराएँ । अरु डिर्पाटमेन्टको पनि प्रगति नभएको होइन, तर मैले सम्हालेको डिर्पाटमेन्टको प्रगति यहाँ सेवा लिएका बिरामीसँग सोध्दा हुन्छ । आफैं गएर हेर्न सक्नुहुन्छ । १ नम्बर सदैव हाकिम हुने हो भने त प्रहरीमा जो छिर्छ, ऊ पहिले आइजी हुने हो, बाँकीले कामै नगरे हुन्छ । कामको मूल्यांकन गरेर कसैले एकलाई दुई र दुईलाई पाँच बनाइदिन्छ भने त्यो कहाँ गलत भयो ? कुनै पनि म्यानेज्मेन्टको गुरुले त्यसलाई गलत भन्दैनन् । कासमु हेरेरै बढुवा भएको हो ।

११ हजार प्लस संक्रमित हुँदा कोरानाकै कारण मृत्यु हुने ४/५ जना मात्र हो । अहिले म खरो उत्रिएँ, एक नम्बरमा पुगेँ । उहाँ दुई नम्बरमा झर्नुभयो ।

० तपाईं बढुवा हुँदा मुद्दा–मामिला गर्ने व्यक्ति कति नम्बरमा हुनुहुन्थ्यो भन्ने सुनिन्छ, हो ?
– म ०५२ सालमा इन्सपेक्टर हुँदा म पहिलो र उहाँ पाँचौं नम्बरमा हुनुुुहुनथ्यो । ०५६ मा म डिएसपी हुँदा एक नम्बरमै थिएँ । उहाँ त यहाँको दरबन्दीबाट पनि हुनुहुन्नथ्यो । उहाँको गृह जिल्ला दिपायल । त्यहीँको दरबन्दीमा जागिर शुरु गर्नुभयो । नेपालगञ्ज हुँदै यहाँ आउनुभयो । एसपी हुँदा उहाँ एक नम्बर, म तीन नम्बर पुगेँ । त्यो बेला मूल्यांकनको क्राइटेरिया फरक थियो । उहाँ खरो उत्रनुभयो, एक नम्बर हुनुभयो । म खरो उत्रन सकिनँ, तीन नम्बरमा झरेँ । अहिले म खरो उत्रिएँ, एक नम्बरमा पुगेँ । उहाँ खरो उत्रन सक्नुभएन, दुई नम्बरमा झर्नुभयो ।

० तपाईंमाथि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभए पनि युएनको तक्मा लगाउनुभएको आरोप छ । अख्तियारमा उजुरी पनि परेको छ । वास्तविकता के हो ?
– तक्मा लाएरै बसेकी छु । यो तक्मा वीरेन्द्र ऐश्वर्य स्मृति पदक हो । भर्खर जागिर जोडिएकाहरुले यसलाई युएनको तक्मा ठान्दा रहेछन् । मेरो प्रमोशन अगाडि १० वटा न्यूज पोर्टलमा दैनिक यही तक्मा, म कनिष्ठ भन्ने समाचार आए । जबकि मैले उहाँले भन्दा पहिला एमबिबिएस गरेकी हुँ । मास्र्टर्स उहाँले भन्दा पहिला गरेकी हुँ र गोल्डमेडलिष्ट पनि हुँ । मैले राष्ट्रपति पुरस्कार पाएकी छु । अब म कसरी कनिष्ठ भएँ ?

० तपाईं यहाँ आएपछि प्रहरी अस्पतालमा स्पष्टीकरणको आतंक मच्चिएको छ भन्छन् । एउटै प्रहरी अधिकारीसँग पाँच पटकसम्म स्पष्टीकरण सोध्नुपर्ने त्यस्तो बाध्यता के हो ?
– प्रशासनिक काममा आफ्नो कोअर्डिनेटरले स्पष्टिकरण सोध्दा प्रहरी नियमावलीको कुनै ऐन–नियम टेक्नुपर्ने हुन्छ । मैले सपनामा देखेर कसैलाई स्पष्टिकरण सोधेको होइन । कसैले ऐन–नियम मिचेर कुनै काम गर्छ, अनि दायित्व पूरा गर्दैन भने प्रशासकको हैसियतले स्पष्टिकरण सोध्नुप-यो । कसैले धेरै नै रुल बिगा-यो होला, उसलाई धेरै स्पष्टिकरण सोधियो । कसैले बिगारेको छैन्, एउटै स्पष्टिकरण सोधिएको छैन । बरु, राम्रो काम गर्ने १० जनालाई तक्मा दिइएको छ । पुरस्कृत गरिएको छ ।

० अस्पतालमा एकले अर्काेलाई नटेर्ने परिपाटी पहिलेदेखि नै छ । यसलाई कसरी सुधार्नुहुन्छ ?
– नटेर्ने परिपाटी चाहिँ होइन, यहाँ अभिष्ट पूरा नभएपछि आफ्नो जन्मसिद्ध अधिकार ठानेर सरकारी फाइदा लिनेहरु छन् । सानो कुरा गरौं, हाम्रो निर्देशिकामा उल्लेख छ कि डाक्टर र चिकित्सकको क्वार्टरमा को बस्न पाउने वा को बस्न नपाउने ? तर, उहाँ टेर्नुहुन्न, मान्नुहुन्न । अरु सबैले टेरिरहेकै छन्, उहाँबाहेक । नटेरेकै भए यो कोरोनाको महामारीमा पनि मैले सबैबाट सहयोग पाइरहेको छु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो
बलात्कारः मन्दिर ‘बधशाला’ अनि नरपिचास ?
यो पार्टी सिध्याउने खेल हो
हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ