चिनियाँ राजदूत परराष्ट्र मन्त्रालयमा

चिनियाँ राजदूत परराष्ट्र मन्त्रालयमा

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छी आज बिहान परराष्ट्र मन्त्रालय पुग्नुभएको छ । उहाँ परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्न आज बिहान ११ बजेको समयमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्री खड्का र राजदूत हौउबीच करिब ४५ मीनेट भेटवार्ता भएको बताइएको छ । नेपालको चार दिने भ्रमणमा चिनियाँ राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष लि चान्सु भोलि काठमाडौं आइपुग्दै हुनुहुन्छ । चिनियाँ उच्चस्तरीय टोली भोलि दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

अध्यक्ष लि भोलि दिउँसो केहीबेर होटल सोल्टीमा केहीबेर आराम गरेपछि पौने ५ बजे सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ बानेश्वर पुग्नुहुने कार्यक्रम छ ।

त्यसैगरी संसद भवनभित्र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसङ्ग भेटघाट गर्न आयोजित कार्यक्रममा सहभागी हुन पर्सि बिहान ९ बजे फेरि नयाँ बानेश्वर जाने कार्यक्रम छ । पर्सि दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ उच्चस्तरीय टोलीले बालुवाटारमा भेट गर्नेछ ।

बुधवार बिहान ९ बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्ने र दिउँसो साढे ३ बजे शीतल निवासमा चिनियाँ सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।

नेपालको भ्रमण पूरा गरेर चिनियाँ पाहुना टोली बिहीबार बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू