खोटाङमा इञ्जिनियरलाई बन्धक बनाएर निर्घात कुटियो

खोटाङमा इञ्जिनियरलाई बन्धक बनाएर निर्घात कुटियो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इञ्जिनियरमाथि निर्घात कुटपिट भएको छ । सडक बोर्डको योजना, अनुगमन तथा मूल्याङ्कन गर्न बाम्राङ पुगेको समयमा असिस्टेन्ट सब–इञ्जिनियर खेटराजप्रसाद अधिकारी र इमरान राइनमाथि कुटपिट तथा दुव्र्यवहार भएको हो ।

बाम्राङका युवकले हिजो साँझ नियन्त्रणमा लिएर अपरिचितको घरमा पुर्याई अमानवीय व्यवहार गरेको अधिकारी र राइनले बताएका छन् । बाम्राङ सामातुङको एउट घरमा बन्धक बनाई फोटो खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै अधिकारी र राइनलेले बुधबार आरोपीविरुद्ध विद्युतीय अपराधको कानुनबमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

युवकले मोबाइल, ब्याग, ब्यागमा भएको नाप्ने फित्ता, कागजात र मोटरसाइकलको साँचो थुतेर नियन्त्रणमा लिँदै मुक्काले हानेको जाहेरीमा उल्लेख छ । ‘जाँड रक्सी खाएर आएको, रातको समयमा कसले बाइक चलाउन दियो,’ भन्दै दुव्र्यवहार गरिएको उनीहरुको आरोप छ ।

अधिकारी र राइन स्वयम् युवकको आग्रहमा सडक बोर्डको योजना अनुगमन तथा मूल्याङ्कनका लागि साँझमा बाम्राङ जानेक्रममा कुटपिट तथा दुव्र्यवहारमा परेका हुन् । अधिकारीले वडाध्यक्ष महेन्द्र राईलाई अनुगमनमा उपस्थित हुने फोन गरेपछि युवकले मोटरसाइकल रोकेर ‘किन वडाध्यक्षलाई फोन गरिस् ? वडाध्यक्षले दिएको योजना हो ?’ भन्दै मोबाइल र मोटरसाइकलको साँचो खोसेर कुटपिट गरेको जाहेरीमा भनिएको छ ।

दोषीलाई कारबाही गर्न कर्मचारी संगठनको माग

यसैबीच, नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन ‘निजामती’ ले अधिकारी र राइनमाथि कुटपिट तथा दुव्र्यवहार गर्ने दोषीलाई पक्राउ गरी कारबाहीको माग गरेको छ । तीन वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषी पक्राउ नपरे वा कारबाही नभए थप आन्दोलन घोषणा गर्ने र कार्यालयको कामकाज ठप्प बनाउने चेतावनी दिएका छन् ।

यस्तै, नगरस्तरीय कर्मचारी एकता केन्द्रको बैठकले बिहीबारसम्ममा दोषीमाथि कारबाही प्रक्रिया सुरु नभए शुक्रबारदेखि नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा ठप्प पार्ने निर्णय गरिएको कर्मचारी एकता केन्द्रका अध्यक्ष ढुण्डीराज पाण्डेले बताए ।

टिप्पणीहरू