नेपालमा कहाँ छ सर्वहारावर्गको पार्टी ? « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

नेपालमा कहाँ छ सर्वहारावर्गको पार्टी ?

प्रकाशित मिति :  १६ श्रावण २०७९, सोमबार १९:००


सर्वहारा वर्ग भनेको के हो ? कस्तो हुन्छ सर्वहारा वर्ग ? सर्वहारा वर्ग स्वयंले सत्ताको नेतृत्व गर्न सक्छ कि सक्दैन ? आममान्छेदेखि राजनीतिक नेतृत्वको जीवनशैली कस्तो भयो भने ऊ सर्वहारा वर्गभित्र पर्छ वा सर्वहाराको नेता हुन सक्छ ? के कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो ? यदि हो भने उसका काम कारबाही, चरित्र र सरसंगत कस्तो र कोसँग हुनुपर्छ ?

अब हामीले यो विषयलाई पनि बहसमा लगेर यस क्षेत्रमा रहेका वा सिर्जना गरिएका भ्रम र यथार्थलाई सबैको जानकारीमा ल्याउने काम गर्नुपर्छ। यस प्रकारको विषयमा बहस र छलफल हुने चलन धेरै पहिले नै छुटेको कारणले को, के हो भनेर खुट्याउनै कठिन परेको छ र सबै नै ‘नर पनि, कुन्जरो पनि’ बनेर हामीमाझ उपस्थित छन् ।

अब पहिले हामीले वर्ग के हो भनेर हेरौं । वर्गहरूको सम्बन्धमा अहिलेसम्मको सबैभन्दा सटिक परिभाषा लेनिनले गर्नुभएको छ, जुन यस्तो छ– ‘वर्गहरू भनेका मानिसका त्यस्ता ठूला समूह हुन्, जुन ऐतिहासिक रूपले निर्धारित सामाजिक उत्पादनको व्यवस्था आफूले ओगटेको स्थानले गर्दा, उत्पादनका साधनसितको आफ्नो सम्बन्धले गर्दा (जुन सम्बन्ध धेरैजसो मामिलामा कानुनमा निर्धारित र प्रतिपादित गरिएको हुन्छ), सामाजिक श्रम–संगठनमा आफ्नो भूमिकाले गर्दा र फलस्वरूप आफूले व्यवस्था गरेको सामाजिक धनको मात्रा र त्यसलाई प्राप्त गर्ने तरिकाले गर्दा एक–अर्कोबाट भिन्न हुन्छन् ।

वर्गहरू मानिसहरूका त्यस्ता समूह हुन्, जसमा सामाजिक अर्थतन्त्रको निश्चित व्यवस्थामा तिनले ओगटेका फरक–फरक स्थानले गर्दा एउटाले अर्कोको श्रमको अपहरण गर्न सक्छ ।’ (लेनिन संकलित रचना) हामीले बोलिचालीको भाषामा समाजमा रहेका जाति, धर्म, लिंग, क्षेत्र, सम्प्रदाय, पेशामा आबद्ध वर्ग भन्ने गरे पनि तिनीहरू वर्ग होइनन् । अब वर्गलाई यसरी छुट्ट्याइसकेपछि यिनै वर्गको बीचबाट सर्वहारा वर्ग को हो भनेर पनि चिन्नुपर्छ । अतः सर्वहारा वर्ग भनेको के हो त अथवा को हो त भनेर हेरौँ ।

‘सर्वहारा वर्ग भनेको उत्पादनका साधनहरू माथि कुनै पनि प्रकारको स्वामित्व नभएको यस्तो सामाजिक वर्ग हो जो कुनै पनि प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन र केवल आफ्नो श्रम बेचेर जीवनयापनका साधन प्राप्त गर्छ । यस वर्गको जीवनको अस्तित्व बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ । दशनंग्र्रा नखियाएसम्म यो वर्गको दैनिकी चल्दैन । आजको दिनमा सर्वहारा वर्ग अथवा मजदुरको वर्ग भनेको श्रमिक वर्ग हो ।’

के कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो ? यदि हो भने कसरी हो ? माक्र्सले भनेको मान्ने हो भने कम्युनिष्टको पार्टी हुन्न । कम्युनिष्ट सर्वहारा वर्गको पार्टीमा मिसिने हो । हामीले यहाँ कम्युनिष्टको पार्टी बनाएका छौं, सर्वहारा वर्गको पार्टी बनाएका छैनौँ । बरु सर्वहारा, श्रमिक वर्गलाई कम्युनिष्ट पार्टीभित्र एउटा भ्रातृ संगठनको रूपमा पो भित्र्याउने काम गरिएको छ ।

खासमा कम्युनिष्टहरू साम्यवादी हुन्छन् । साम्यवादी हुनु मान्छे हुनु हो अर्थात् केहीमा पनि लोभलालच नराख्ने, चाहिनेभन्दा धेरै केही पनि नलिने, व्यक्तिगत स्वतन्त्रता र अधिकार चाहने, आफ्नो कुराको निर्णय आफैँ गर्ने, कसैमाथि शासन गर्ने चाहना नराख्ने र क्षमताअनुसार काम गर्ने मान्छे नै साम्यवादी हो । यो कुराले मान्छेलाई खाने–लाउने, उपचार गराउने पढ्ने, लेख्ने तथा क्षमताअनुसार काम पाउने कुराको ग्यारेन्टी गराउँछ ।

यस्तो अवस्था निर्माण हुने हो भने मान्छेले निश्चिन्त भएर काम गर्छ, मनोरञ्जन गर्छ र आराम पनि गर्छ । यस्तो हुनु भनेको बराबरीको, न्यायको र विभेद नभएको समाज बन्नु हो जसलाई हामी साम्यवाद भन्न सक्छौं । यस हिसाबले हेर्दा कम्युनिष्टहरू सर्वहारा वर्गका मान्छे त हुन् तर कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी होइन । यसबाट के बुझिन्छ भने हामीकहाँ सर्वहारा वर्गको पार्टी नै छैन ।

बुर्जुवा भनेको के हो ?

राजनीतिशास्त्रमा बुर्जुवा शब्दले पुँजीपति वर्गको उपल्लो सामाजिक स्तर भएको वर्गलाई चिनिन्छ । बुर्जुवा भनेको ती तमाम मानिस हुन् जोसँग धेरै पुँजी हुन्छ र त्यो पुँजीले निर्माण गरेको श्रमिकको श्रम शोषण गर्ने संस्कृति बोकेका हुन्छन् । तर, आजको सन्दर्भमा बुर्जुवा भन्नाले पुँजीपति समाजको शासक वर्गलाई चिनिन्छ । उत्पादनका साधनमा यो वर्गको लगभग स्थायी रूपमा स्वामित्व रहेको हुन्छ ।

हाम्रो सन्दर्भमा हामीले को सर्वहारा हो, को पुँजीपति हो, को कम्युनिष्ट हो, को बुर्जुवा हो भनेर छुट्याउनु आवश्यक छ । नेपालमा सक्रिय राजनीतिमा रहेका कम्युनिष्ट पार्टीको सदस्यमध्ये अधिकांश सदस्य श्रमिक होइनन् । त्यसकारण तिनीहरू सर्वहारा वर्ग होइनन् । तर, तिनीहरूको ठूलो हिस्साले सर्वहारा वर्गप्रति सहानुभूति राख्छ । नेतृत्वले पनि श्रमिक वर्गको कुरा भने गर्छ । केही नेता वर्गबाट आएका पनि हुन् तर व्यवहारमा उनीहरूले आफूलाई आफू उठेको वर्गमा कायम राखेनन् ।

उनीहरूमा वर्ग परिवर्तन भएको हामी पाउँछौं । उनीहरूमा वर्ग पक्षधरता देखिन्न । यो कुरा उनीहरूमा प्रकट भएको पाउँदैनौँ । तल त हामी सबै छौं आफूलाई कम्युनिष्ट भन्ने । तर, हाम्रो कुराले माथि प्रभाव पार्न सक्दैन । हामी तलका सबै नै माथिका जस्ता छन् ठ्याक्कै त्यस्तै छौं । माथि जसरी चल्छ ठीक सोहीअनुसार चल्नुपर्ने बाध्यता तल छ । माथि जीवनशैली भयानक भद्दा र पाखण्डी किसिमको छ । लोभलालच धेरै छ । चाहिनेभन्दा धेरै र अथाह धनदौलतको चाहना छ । शासन गर्ने तीव्र लालसा छ । अरुभन्दा म अब्बल हुँ भन्ने दम्भ छ । रहनसहन र संगत दलाल, नोकरशाह तथा बुर्जुवाहरूसँग छ ।

भारतमा मोदी वर्गबाट आएका तर बुर्जुवाको सबैभन्दा नजिकका मित्र हुन् । तर उनले आफूलाई चायवालाको बेटा र अरुलाई नामदारको बेटा भन्छन् । हाम्रोमा पनि ओली, प्रचण्ड, माधव नामदारमा रूपान्तरण भएका छन् । देश संकटमा हुँदा पनि यिनीहरू गीत गजलमा रमाउन सक्छन् । मादल र बाँसुरी बजाएर आनन्द लिन सक्छन्, स्नुकर खेल्न मन पराउँछन् ।

प्रचण्डको निवास र उनको बैठक कक्ष हेरौं, ओली बस्ने गद्दी हेरौं, राष्ट्रपतिको शानशौकत हेरौं त कस्तो छ ? हातका घडी, जुत्ता र सुट हेरौं । कुनै प्रकारको उत्पादनमूलक काममा सहभागी छैन तर जीवनशैली महाराजाको जस्तो देखिन्छ । यस्तो आर्थिक हैसियत कसरी बन्न सक्यो होला ? यो माथितिरको प्रवृत्ति सर्लक्कै तलसम्म सरेको छ । नेता–कार्यकर्ताको सम्बन्ध ठ्याक्कै भन्नुपर्दा पैसामा आधारित छ । काम तिनैले पाउँछन् जसले मनी र मसल्स उपलब्ध गराउन सक्छ ।

केही समयपहिले घनश्याम भुसालले लोकतन्त्र सबैभन्दा धेरै गरिबलाई चाहिन्छ भनेका थिए । तर, यथार्थ कस्तो छ भने माथिल्लो तहका केही मान्छेको निम्ति देशमा उन्नत किसिमको लोकतन्त्र छ, समाजवाद छ । प्रचण्ड युद्धमा भएका कारण उनका छोराछोरीले विदेशमा पढ्ने अवसर पाएनन् सायद । ओलीको पनि कुरा त्यस्तै हो । सिपीदेखि झलनाथ हुँदै विप्लव र देवेन्द्र पौडेलसम्मका छोराछोरी विभिन्न कोटामा विदेश गएर वा देशभित्रै पनि निःशुल्क अध्ययन गर्दै छन् ।

पढ्ने, उपचार गराउने, काम नपाउने र खान नपाउने चिन्ता यिनीहरूमा छैन । न्याय, बराबरी र आवश्यकताअनुसार पढाइ र काम हुनुपर्छ भन्ने मानिसले पहिले आफ्नो परिवारको पढाइ र आर्थिक भविष्य सुनिश्चित गर्नेतर्फ लागे । नेताहरूलाई अकुत सम्पत्तिको यति धेरै आवश्यकता किन छ ? जनताले सिटामोल नपाएको अवस्था जानकारी नभएको किमार्थ होइन । तर, कम्युनिष्ट पार्टीहरूले सरकारमा पुगेर पनि श्रमिक वर्गको पक्षमा काम गर्न मन गरेनन् । अरू त अरू कोभिडका बेला मजदुरलाई हवाई भाडामा समेत ठग्ने काम गरियो ।

अन्त्यमा, लवाइलाई हेरेर, हिँडाइलाई हेरेर, सरसंगतलाई हेरेर, रवाफ र फूर्तिलाई हेरेर, बोलीबचनलाई हेरेर अहिले हामी के भन्न सक्छौँ भने न हामी, न त हाम्रो कम्युनिष्ट पार्टी सर्वहारा वर्गीय हो । चिन्तन, आचरण र अभ्यासको हिसाबले हामी बुर्जुवा नै हौँ । यति कन्फेस गर्नै पर्छ र मात्रै हामी सुध्रिन सक्छौं ।


प्रतिक्रिया दिनुहोस !