गिरिजाप्रसादको नाम झुण्डाउने मेयरको घोषणापछि बुटवलका युवा भड्किए

गिरिजाप्रसादको नाम झुण्डाउने मेयरको घोषणापछि बुटवलका युवा भड्किए

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल वडा नम्बर–६ कमिटीले बुटवल मण्डपको नाम परिवर्तन गर्न खोजिएको भन्दै विरोध गरेका छन् । उनीहरुले पहिलेको नाम परिवर्तन गरेर गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्न खोजेको नगरपालिकाको प्रयासलाई असफल बनाइदिने बताएको छ ।

बुटवल उपमहानगरपालिकाले २०७९–८० को नीति कार्यक्रममा नाम परिवर्तन गर्ने प्रस्ताव राखेपछि संघले आपत्ति जनाएको हो । संघले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय आयोजनाको रुपमा निर्माणाधीन धरोहरलाई पार्र्टीगत गर्न खोजेको आरोप लगाएको छ ।

मेयर खिलराज पाण्डेले राजनीतिकरण गर्न चाहेको उल्लेख गर्दै उनीहरुले यसो नगर्न उपमहानगरको ध्यानाकर्षण गराएका हुन् । ‘मेयर पाण्डेले यस कार्य गरेर आफ्नो पार्टीभित्र ख्याती प्राप्त गर्न खोजेका छन्,’ विज्ञप्तिमा भनिएको छ । उनीहरुले पछिल्लो निर्णय खारेज गर्न अनुरोध गर्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।गत असार ८ गते आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर पाण्डेले बुटवल मण्डपको नामका अगाडि स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाम राख्ने घोषणा गरेका थिए ।

टिप्पणीहरू