जसको पहिचान नै कालोचश्मा बन्यो

जसको पहिचान नै कालोचश्मा बन्यो

मुत्तुवेल करुणानिधि उर्फ एम. करुणानिधि । करुणानिधिलाई प्रायः हामी दक्षिण भारतीय राजनीतिज्ञको रूपमा चिन्छौँ । तर, धेरैलाई थाहा नहोला कि उनी सिद्धहस्त नाटककार, उपन्यासकार, कवि र कथाकार थिए र तमिल सिनेमाका चर्चित पटकथाकार पनि ।

१४ वर्षको कलिलो उमेरमै राजनीतिमा छिरेका उनलाई समर्थकहरु ‘कलाइनार’ भन्न रुचाउँछन् । कलाइनारको अर्थ तमिल भाषामा कलाको विद्वान हो । उनले साहित्यमा कविता, चिठी, पटकथा, उपन्यास, जीवनी, ऐतिहासिक उपन्यास, नाटक, संवाद, गीत आदि लेखेर योगदान पु¥याउनुका साथै गद्य र पद्यमा गरेर सय वटा पुस्तक लेखेका छन् । ७५ वटा चलचित्रको पटकथा लेखन, आधा दर्जन पत्रिकाको सम्पादन र पत्रिकामा कार्टुनसमेत लेखेका छन् ।

करुणानिधिको जन्म तमिलनाडुको थिरुक्कोभालाई गाउँमा भयो । परिवार देवदासी हो, जसका महिला शास्त्रीय नृत्य गर्थे, हिन्दू मन्दिरमा सेवार्थ समर्पित हुन्थे (नेपालको सुदूरपश्चिमाञ्चलमा प्रचलित कुप्रथा देउकी कन्या जस्तै) । तमिलनाडुमा यो अल्पसंख्यक जनजाति हो । पिता छोरालाई संगीत सिकाउन चाहन्थे र सोहीअनुसार संगीत कक्षा शुरु भयो । कक्षा नजिकैको हिन्दू मन्दिरमा हुन्थ्यो, जहाँ ती समुदायले कम्मरमाथि लुगा र चप्पल लगाएर जान मनाही थियो । समाजमा उच्च जातिको दबदबा थियो ।

जब करुणानिधिले मन्दिरभित्रै अपमानित हुनुप¥यो, तब पिताले घरमै गुरु नियुक्त गरिदिए । गुरुलाई शुल्कबापत बिहान–बेलुकी दिनको दुईपटक दूध दिइन्थ्यो । १२ वर्षको उमेरमा करुणानिधि माध्यमिक शिक्षा हासिल गर्न थिरुभारुर नगर गए । र, तमिल विद्यार्थीमाथि लादिएको अनिवार्य हिन्दी भाषा कक्षाको विरोधमा संगठन शुरु गरे । विरोधकै क्रममा प्रहरीद्वारा २ जना विद्यार्थी मारिएपछि मनमा ठूलो चोट प¥यो । नतिजास्वरुप उनको कलमबाट तमिल भाषाको ऐतिहासिक उपन्यास ‘सेल्भाचन्दिरा’ को जन्मियो ।

१४ वर्षका करुणानिधि हिन्दी भाषा विरोधीहरूको सभामा सामेल भए । एक जना वक्ता थिए, जो समाजवादको पक्ष र ब्राह्मणवादविरुद्ध गठित जस्टिस पार्टीका, दारुनी अलागिरिसामी, उनैको भाषणबाट प्रभावित बनेर पत्रिकामा राजनीतिक टिप्पणी लेख्न थाले । साथै, हिन्दी विरोधी प्रदर्शनमा सक्रियतापूर्वक भाग लिँदै गए । जब युवाले आयोजना गरेको रिक्सा ¥यालीमा प्रहरीले हस्तक्षेप ग¥यो, तब उनी उग्र बने र साम्यवादी विचार अँगाले । हस्तलिखित पत्रिका निकाले । तमिल मानवर मन्द्रम नाउँको छात्र संगठन गठन गरे । १५ वर्षकै उमेरमा पत्रिका ‘मानवनेसन’ निकाले । फेरि पत्रिका ‘मुरासोली’को प्रकाशन थाले, जसको प्रधानसम्पादक आफँै बने । वर्ण व्यवस्थाको विरोधमा लेख र नाटकहरू लेख्न थाले ।

मातापिता छोराको लेखन पेशालाई मन पराउँदैनथे । उनीहरू छोराले राम्रो पेशा अपनाओस् भन्ने चाहन्थे । उता, छोराको भने आर्थिक समस्याले बेहाल थियो । यसैबीच, कलेजकै केटीसित प्रेम भयो । केही समयको उठबसपछि करुणानिधि केटीको आमाबाबुसित भेट्न गए । अभिभावक छोरीको हात करुणानिधिलाई दिन त तयार भए तर बिहे हिन्दू परम्पराअनुरूप र पण्डित राखेर हुनुपर्ने शर्त अघि सारे । करुणानिधिले मानेनन् र घरबाट निस्किए ।

यसरी उनको पहिलो प्रेमको अन्त्य भयो । सन् १९४४ मा करुणानिधि २० वर्षका हुँदा दक्षिण भारतीय चलचित्रका गायक सिएस जयरामनकी बहिनी पद्मावतीसँग प्रेम गरे । २ वर्षको प्रेमपछि सन् १९४६ मा बिहे भयो । अर्को वर्ष पद्मावती छोराको आमा बनिन् तर दुःखको कुरा, अर्को वर्षमा सख्त बिमारीले उनको ज्यान लियो । उनी वर्ष दिन पनि एक्लै बसेनन् र १३ वर्षकी दयालु अम्मलसँग बिहे गरे । व्यापारीकी छोरी । दयालुले करुणानिधिलाई ३ छोरा र १ छोरीको बाउ बनाइदिइन् ।

उनले ‘पराशक्ति’ चलचित्रमार्फत राजनीतिक विचारको प्रचार गरे । यो चलचित्रलाई द्रविड आन्दोलनकारीले समर्थन जनाए । शुरुमा यसमाथि प्रतिबन्ध लाग्यो तर जब सन् १९५२ मा प्रदर्शित भयो बक्स अफिसमा सुपरहिट बन्यो । यसमा रुढिवादी हिन्दू परम्परा र ब्राह्मणवादको विरोध गरिएको थियो । उनीद्वारा लिखित अर्को दुईवटा चलचित्र प्रदर्शित भए ‘पनाम’ र ‘थंगारथनम’ । जसमा विधवा विवाह, छुवाछुतसहित जमिनदारी प्रथा उन्मूलन र धार्मिक पाखण्डजस्ता विषय थिए । यस्तै सामाजिक सन्देशयुक्त चलचित्र र नाटक लेख्न थालेपछि उनको लेखनमाथि सेन्सरसिप लाग्यो । सन् १९५० मा दुईवटा नाटकमाथि त पूर्ण प्रतिबन्ध नै लगाइयो ।

उनी एसियाका सुकरात भनिने इरोड वेंकट नायकर रामासामी उर्फ इवी रामास्वामी पेरियारलाई गुरु मान्थे । पेरियार तेलगु, तमिल, कन्नड र मलयालम भाषा बोल्ने र राम होइन रावणलाई देउता मान्ने दक्षिण भारतीय द्रविड प्रजातिका संगठक संगठित गर्ने र द्रविड राष्ट्रवाद पक्षधर नेता थिए । द्रविडहरू गैर ब्राह्मण अनि आर्यभन्दा फरक नश्लका थिए । पेरियार दक्षिण भारतका प्रमुख राजनेता, दलित र गरिबका ‘भगवान्’ थिए । उनैले सन् १९१६ मा जस्टिस पार्टी गठन गरेका हुन् ।

जसको सिद्धान्त भनेको जातिवादी र गैर बराबरीको हैसियत राख्ने हिन्दुत्वको विरोध थियो । उनी यसलाई दलित समाज उत्थानको एक मात्र विकल्प ठान्थे । ब्राह्मणहरूको आडम्बर, रीतिरिवाज र अन्धविश्वासको घोर विरोधी थिए । शुरुदेखि नै नास्तिक उनी सोभियत संघको भ्रमणपश्चात् पूरै साम्यवादी बने । युनेस्कोले उनलाई ‘नयाँ युगको पैगम्बर’ घोषणा ग¥यो । उनैले पहिलो पटक सन् १९४४ मा जातीय आत्मसम्मानका लागि भनेर द्रविड आन्दोलनको नेतृत्व गरे ।

सन् १९४४ मा जस्टिस पार्टी द्रविड कजगममा परिणत भइसकेको थियो । यसको नेता पनि उनै पेरियार थिए । सन् १९५२ मा पेरियार र अर्का नेता सिएन अन्नादुराइबीच चुनावमा जाने वा नजाने भन्नेमा विवाद उठ्यो । यसैबीच, पेरियारले आफूभन्दा ४० वर्ष कान्छी मनियाममाईसित बिहे गरे । विवाद चुलिँदै जाँदा पार्टी नै फुट्यो । अन्नादुराइहरूले छुट्टै द्रविड मुन्नेत्र कजगम (डिएमके) गठन गरे ।

करुणानिधि पेरियारको सिद्धान्तबाट प्रभावित भएर राजनीतिमा लागेको भए पनि उक्त विवादमा अन्नादुराइलाई साथ दिएकाले उनी डिएमकेतिर लागे र पहिलोपटक तमिलनाडु विधानसभामा सन् १९५७ मा चुनिए । सन् १९६१ मा डिएमकेको कोषाध्यक्ष बने भने सन् १९६२ मा विधानसभामा विपक्षी दलको उपनेता । सन् १९६७ मा डिएमके सत्तामा पुगेपछि पहिलोपटक सार्वजनिक कार्य मन्त्री बने । सन् १९६९ मा अन्नादुराइको निधनपश्चात् मुख्यमन्त्री बने । यसरी उनी सन् २०११ सम्म तमिलनाडुमा ५ पटक मुख्यमन्त्री बन्न सफल भए । सन् १९५७ देखि सन् २००६ को बीच ११ पटक विधानसभाको चुनाव जिते ।

सन् १९६० मै करुणानिधि राजनीतिमा लोकप्रिय बनिसकेका थिए । चुनाव प्रचारमा एउटा ड्रामा ग्रुप पनि थियो । उक्त समूहमा एकजना कलाकार थिइन् रजथी । उनको अभिनयबाट करुणानिधि प्रभावित बने । दुबैको मेलजोल बढ्यो । एकार्कालाई मन पराउन थाले । डिएमके पार्टीभित्र उक्त प्रेमप्रसंगले हल्लीखल्ली मच्चियो । धेरैले करुणानिधिको आलोचना गरे किनभने उनी विवाहित थिए ।

तर, पेरियार र मनियाममाईको प्रेम र विवाहको आलोचक रहेका अन्नादुराइ यसपटक भने करुणानिधिको समर्थन गर्न थाले । उनैको सहमतिमा करुणानिधिले रजथीलाई घर भिœयाए । यद्यपि, शुरुमा उनकी पत्नी दयालुले विरोध गरिन् र करुणानिधिको उक्त कदम गैरकानुनी भएको टिप्पणी गरिन् । तर, पछि घरसल्लाहमा समस्यालाई मिलाइयो । बिहेपछि करुणानिधि दिउँसो गोपालपुरस्थित घरमा जहाँ दयालु बस्थिन् र राति सिजेआइ कोलोनीमा जहाँ रजथीलाई राखेका थिए, मा समय बिताउँथे । रजथीले पछि एक छोरीलाई जन्म दिइन् । रजथी करुणानिधिभन्दा २१ वर्षले कान्छी थिइन् ।

रोचक कुरा, करुणानिधि सधैँ कालो चस्मा लगाउँथे, काठमाडौं महानगरपालिकाका अहिलेका मेयर बालेनजस्तै । भयो के भन्दा सन् १९६७ ताका हिन्दी भाषाविरोधी आन्दोलनको दौरान प्रहरीको लठ्ठी प्रहार उनको टाउकामा भयो । आँखामा समस्या देखा प¥यो । र, उपचारका लागि अमेरिका गए । त्यहाँका डाक्टरले कालो चस्मा लगाउन सल्लाह दिए । उनी भारत फर्केर आफ्नो निम्ति अलग्ग कालो चस्मा बनाउन दिए, जुन ५० वर्ष लगाए ।

पछि उक्त कालो चस्मा नै उनको परिचय बन्न पुग्यो । करुणानिधि चस्मालाई छोराछोरीलाई भन्दा बढी हिफाजत गर्थे । परिवारको कुनै सदस्यलाई छुनसम्म पनि दिँदैनथे । चस्मा स्वयं लगाउँथे, फुकाल्थे । सन् २०१७ मा डाक्टरले चस्मा धेरै पुरानो भएर खराब भइसकेकाले फेर्न सुझाव दिए । करुणानिधिले उस्तै चस्मा खोज्न लगाए बजारमा ४० दिनसम्म । कुनै चस्मा मन परेन । अन्त्यमा चेन्नैको विजया अप्टिक्सले एउटा चस्मा जर्मनीबाट मगायो । र, बल्ल चस्मा फेरे ।

करुणानिधि बेलाबखत विवादमा परिरहे । श्रीलंकाको पृथकतावादी संगठन एलटिटिईसितको गाढा सम्बन्धलाई लिएर । उनीलगायत पत्नीहरूमाथि समेत भ्रष्टाचार, नातावाद, कृपावादको आरोप लाग्यो। उनको निधन ९४ वर्षको उमेरमा ३ वर्षअघि सन् २०१८ मा भइसकेको छ ।

टिप्पणीहरू