फुटबलको चुनाव भोलि,उठ्दैछन् यी

फुटबलको चुनाव भोलि,उठ्दैछन् यी

नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि निर्वाचन हुँदैछ । बूढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको नतिजाले आगामी चार वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति तय गर्नेछ ।

अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित मैदानमा उत्रिएका छन् । यस्तै,फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत अध्यक्षको दौडमा छन् ।

नेपाली खेलकुद क्षेत्रमै बढी चलायमान र धेरै बजेट हुने संस्था हो,एन्फा । जसका कारण एन्फा जहिल्यै चर्चाको शिखरमा रहने गर्छ । पूर्वअध्यक्ष गणेश थापाको २२ वर्षे कार्यकालपछि नरेन्द्र श्रेष्ठ हुँदै कर्मा छिरिङको समूह एन्फाको नेतृत्वमा आएको थियो । तर, थापाको नेतृत्वलाई चिर्दै एन्फामा आएका कर्मा र पंकज नै यतिबेला प्रतिस्पर्धाको मैदानमा छन् ।

अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी पर्दा एक वरिष्ठ उपाध्यक्ष पदमा दुई,चार उपाध्यक्षका लागि आठ, १३ खुल्ला सदस्य पदमा ३५ तथा दुई जना निर्वाचित हुने महिला सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ ।

शेर्पा समूहबाट बी डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने चार उपाध्यक्षमा पूर्वखेलाडी तथा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वखेलाडी तथा एआइजी विज्ञानराज शर्मा,दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका छन् ।

१३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा,मनिष जोशी,रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रविवण कुमार यादव, रामराज गुरुङ, मणि राज विष्ट, टिका लामा र महिला तर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ छन् ।

यता, पंकज पक्षबाट वरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि तथा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्व खेलाडी विराटजंग शाही,बी डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र ए डिभिजन क्लब न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीको उम्मेद्वारी छ ।

त्यस्तै, यो समूहबाट सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वरकुमार राउतसहित महिलामा वृन्दा देवान र सरला श्रेष्ठ छन् ।

सदस्य पदका लागि केहि स्वतन्त्रले पनि उम्मेद्वारी दिएका छन् । प्रशिक्षक-खेलाडी विवादले राष्ट्रिय टोलीका ११ जना पुराना खेलाडी बाहिरिएको सन्दर्भमा एन्फा निर्वाचन र त्यसको नतिजालाई खेल वृत्तमा निकै चासोका साथ् हेरिएको छ ।

टिप्पणीहरू