​अरूलाई उर्दी, आफूलाई मनपर्दी

सरकारी स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न जाजरकोट जिल्लाको कुशे गाउँपालिकाले गज्जबको निर्णय गरेको छ– सरकारी विद्यालयमा जागिर खाने शिक्षकले छोराछोरीलाई निजी स्कुलमा पढाउन नपाउने र अनिवार्य सामुदायिक स्कुलमा पढाउनुपर्ने । अहिले सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि नतिजा सोचेअनुसार आएको छैन ।

गाउँपालिकाको यो एउटा निर्णय लोकप्रिय नाराजस्तो लाग्न सक्छ जसलाई सकारात्मक रूपमा लिँदै राष्ट्रिय नीति बनाउनु जरुरी छ । ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझंै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले ठाउँ–ठाउँमा नयाँ–नयाँ लोकप्रिय नारा घोषणा गरेर जनताको मन जित्न खोजेका मात्र छैनन् राष्ट्रको ध्यानाकर्षणसमेत गरेका छन् । अहिलेको निर्णय एक अंश मात्रै हो साँच्चिकै हामीले सामुदायिक विद्यालयलाई निजीजस्तो राम्रो बनाउने हो भने यहाँ काम गर्ने, शिक्षकदेखि भौतिक संरचनासमेत चुस्तदुरुस्त बनाउनुपर्ने हुन्छ । सरकारी सेवा–सुविधा लिने शिक्षकलाई नियन्त्रणमा राख्न जरुरी छ । खाली निजीसँग तुलना गर्नुभन्दा वैज्ञानिक ढंगले कसरी राम्रो र गुणस्तरीय बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । सामुदायिक स्कुलमा पढाइभन्दा राजनीति हाबी भएकोले पनि शैक्षिक गुणस्तर कम भएको घामजत्तिकै छर्लंग छ । सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने शिक्षकलाई कारबाही गर्ने जुन बाध्यकारी व्यवस्था गरिएको छ त्यो सकारात्मक भए पनि जुन विषयमा निर्णय भएको छ, त्यसलाई अझ राम्रो बनाउने नियत नै भएको भए पहिलो बैठकले गाउँपालिकाका सबै सरकारी सेवा–सुविधा लिनेहरूले अनिवार्य सरकारी स्कुलमा भर्ना गराउनुपर्ने निर्णय गरेको भए सुनमा सुगन्ध हुने थियोे ।

अहिले रोग एकातिर, उपचार अर्कोतिर हुनाले बिरामी निको नभएको हो । सो गाउँपालिकाले निर्वाचन जितेका सबै जनप्रतिनिधिले आफ्ना छोराछोरी सरकारी स्कुलमा अनिवार्य पढाउने निर्णय गरेको भए अझ प्रभावकारी हुने थियो । अहिले जागिरे शिक्षकले छोराछोरी सरकारी स्कुलमा नपढाएको कुरा मात्र अगाडि सारेर आफूहरू भने चोखो बन्न खोजिरहेका छौं । आफ्नै छोराछोरीलाई अनिवार्य सामुदायिक स्कुलमा पढाउने निर्णय गर्न कसले रोकेको छ ? आफ्नो छोराछोरी निजी स्कुलमा पठाउने अनि शिक्षकका छोराछोरी मात्रै सरकारी स्कुलमा पढाउने उर्दी कति सान्दर्भिक हुन्छ ?

सरकारले नीति बनाए त्यो देशभर एकसाथ लागू हुन्छ तर त्यो नगरी हाम्रो देशमा लाटो देशको गाँडा तन्नेरी बन्ने होडबाजी चलिरहेको छ । निजी स्कुलमा लगानी गरेका मान्छे विभिन्न बहाना गरेर सरकारी स्कुललाई कमजोर बनाउने खेलमा लागेको कारणले पनि समस्या बल्झिएको हो । समस्या एकातिर छ, समाधान अर्कोतिर खोज्दै हिँड्ने बानी परेको छ । हाम्रो मन, ध्यान, चिन्तन सबै निजी स्कुलमा छ अनि सरकारी स्कुल राम्रो र गुणस्तरीय भएन भनी चिन्ता गरेर केही हुनेवाला छैन । सामुदायिक स्कुल केहीले निजी स्कुलकै हाराहारीमा गुणस्तरीय शिक्षा दिन सफल भएको पनि देखिन्छ ।

अहिले सबैको ध्यान अंग्र्रेजी माध्यमतिर गएको छ तर हाम्रा विद्यार्थीले लिने शिक्षा कति वैज्ञानिक र व्यावहारिक छ भन्नेतर्फ कसैकोे ध्यान गएको छैन । कसको छोराछोरीले कति नम्बर ल्यायो, कुन पोजिसन आयो भन्ने कुराभन्दा अरू विषयमा छलफल नै हुन छाडिसक्यो । साँच्चै मेरो छोरा नैतिकवान हुन सक्यो कि सकेन, चरित्रवान भयो कि भएन भन्ने कुरामा कसैले चिन्तन गरेको सुनिँदैन । हुन त अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोराबारे विद्यालयका प्रधानाध्यापकलाई लेखेको पत्र अहिलेसम्म पनि समय सान्दर्भिक छन् भन्ने लागेर त्यो भनाइलाई धेरै ठाउँमा राखेको देखिन्छ ।

– राजेशचन्द्र राजभण्डारी
 

टिप्पणीहरू