सबै श्रेणीहरू

चुनाव जित्न उम्मेदवारका चटक

चुनाव जित्न उम्मेदवारका चटक

फागुन २१ गते हुने मध्यावधि निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँकेन्द्रित चुनावी अभियान शुरु भएको छ । मंगलबार मनोनयन दर्ता भएसँगै विभिन्न पार्टीका उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त देखिएका छन् । 

वैकल्पिक शक्तिको नाममा पुराना पार्टीका नेतालाई गाली गर्दै शहर-बजार र सामाजिक सञ्जालतिर चर्का कुरा गर्नेहरू पनि यतिबेला उम्मेदवार बनेर भोट माग्न गाउँ पसेका छन् । चुनावका बेला उम्मेदवारले कार्यकर्ताको लावालस्कर लिएर घरदैलो गर्नुलाई सामान्य प्रक्रियाकै रुपमा लिइन्छ । 

तर, कतिपय उम्मेदवारले भने भोट माग्ने नाममा अस्वाभाविक गतिविधि गरेकोसमेत देखियो । त्यसमध्ये पत्रकार ऋषि धमला पनि एक हुन् । अघिल्लो दिन पत्रकारिता छोडेको घोषणा गरेर भोलिपल्ट आम आदमी पार्टीबाट उम्मेदवार बनेका उनले मतदाता खुशी पार्न अनेक तमाशा देखाइरहेका छन् । 

धादिङ ज्यामरुङ स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने ऋषिले रौतहट-४ बाट उम्मेदवारी दिएका छन् । प्रभु साह नेतृत्वको उक्त पार्टीमा ऋषिपत्नी एलिजा गौतम उपाध्यक्ष छिन् । उनलाई सो पार्टीले खस-आर्य महिला कोटामा समानुपातिकतर्फ एक नम्बरमा राखेको छ । 

पार्टीले धेरै भोट ल्याए जोइ-पोइ नै माननीय हुन पाइने भएकाले पनि होला मतदाता रिझाउन ऋषिले अनेक उपाय अपनाएको देखिन्छ । सार्वजनिक भएका कतिपय भिडिओमा उनी मतदाताहरूलाई अंगालोमा बेरेर भावुक भएका छन् । स्थानीयको काम सघाएर मन जित्न खोजेका उनले कोट पाइन्टमा सजिएर जेरी पकाएको,आरोले काठ चिरेको र साइकल चलाएको दृश्य भिडिओमा देख्न पाइन्छ । 

ऋषिले किसानको खेतमा उखु बोक्दै गरेको अर्को भिडिओ पनि भाइरल भएको छ । टुटेफुटेको मैथली भाषामा स्थानीयसँग गफ गर्दै उनले काँधमा उखुको भारी हालेर दौडिरहेको दृश्य बडो रमाइलो देखिन्छ । 

त्यस्तै चकट देखाएका छन्, गोरखा-१ का घण्टी उम्मेदवार सुधन गुरुङले पनि । कालो चस्मा लगाएर चिटिक्क परेका उनले जानी-नजानी भारी बोकेको भिडिओ सञ्जालतिर व्यापक छ । वर्षौं शहर बस्ने उनले मतदातालाई रिझाएर भोट बटुल्न यस्तो गरेको बुझ्न कठिन छैन । 

भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई पानी बाड्दा बाँड्दै नेता बनेका उनी काठमाडौँमा एनजिओ चलाउँछन् । रवि लामिछाने र बालेन्द्र साहलाई मिलाउन पनि उनैले भूमिका खेलेको भन्ने गरिएको छ । 

घण्टी पार्टीकै नुवाकोट-२ का उम्मेदवार अच्युतम लामिछानेले देखाएको नौटंकी पनि कम चर्चामा छैन । उम्मेदवारी मनोनयनको दिन गलाभरी माला भिरेर सडकमा दौडिएका उनले बाटोमा भेटिएका बूढापाकालाई 'हजुरबा र हजुरआमा' भन्दै जमिनमा मुन्टो टेकेर ढोगेका थिए । 

आफूलाई रवि लामिछानेकै शैलीमा प्रस्तुत गर्न चाहने उनको शैली निकै अस्वाभाविक देखिन्छ ।  स्थानीयले यसलाई चटकको संज्ञा दिएका छन् ।