एकल नारीमाथि साह्रै अत्याचार

एकल नारीमाथि साह्रै अत्याचार

एकल महिलालाई समाजले कतिसम्म पीडा दिन्छ ? यसको अनुभव गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २, ल्होकी पेमा लामालाई भन्दा अरु कसलाई थाहा होला र ? सात वर्षअघि कोरोना महामारीबाट श्रीमान् गुमाएकी उनले त्यसयता अनेकौं दुःख, पीडा भोग्नुपरेको छ । सात सन्तानको जिम्मेवारी पेमाको एक्लो काँधमा छ भने सँगै गाउँलेहरूको अत्याचारबाट पनि ग्रसित छिन् । 

गाउँले मिलेर कानुनविपरीत जरिवाना तिराउने, धाकधम्की दिने वा ज्यानै लिनेगरी आक्रमण गर्नेजस्ता अमानवीय हर्कत जारी छ । ४८ वर्षीय पेमा गाउँमै खेतपाती गर्छिन् । त्यसैबाट जीविकोपार्जन चल्दै आएको छ । आफूले कसैलाई नराम्रो नगरेपनि एकल महिला भएकै कारण हेपिनुपरेको दुःखेसो छ । पेमामाथि हालै खुर्पा प्रहार भएको छ। 

झुटा आरोप लगाउँदै स्थानीयले गत शनिबार उनको गर्धनमै खुर्पा हानेका हुन् । पेमालाई केही वर्षअघि गाउँकी एक महिलाको कुरा काटेको निहुँमा स्थानीयहरू मिलेर दश लाख रुपैयाँँ जरिवाना तिराउने निर्णय गरेका थिए । तर, उनले जरिवाना तिर्न मानिनन् । 

अन्ततः गाउँलेको दबाब र धम्कीपछि पाँच लाख रुपैयाँँ तिर्न बाध्य भइन् । जरिवाना तिरेको केही दिनपछि गाउँका केही घरमा आगलागी भयो । त्यसपछि स्थानीयले बैठक बोलाए । सो बैठकमा पुग्न केही मिनेट ढिलो भएकै कारण गाउँलेले फेरि आगलागीको आरोप लगाए । र, ढिलो आएको भन्दै दश हजार रुपैयाँँ तिराए । 

आफूभन्दा ढिलो पुग्नेलाई भने पाँच सयदेखि एक हजारसम्म जरिवाना तिराइएको उनको भनाइ छ । पेमाले भनिन्, ‘पहिले झुटो आरोप लगाएर जरिवाना तिराए, पछि छिमेकमा आगलागीको आरोप पनि लगाए ।’गाउँकै दावा नोर्बु लामा, छेवाङ ग्याल्छेन लामालगायतको समूहले झुट्टा आरोप लगाउँदै जरिवाना तिराउनेजस्ता गैरकानुनी काम गर्दै आइरहेको बताइन्छ । ‘खेतीपाती गरेर सात सन्तान हुकाईरहेको छु । तर, श्रीमान् नभएकै कारण गाउँका केही व्यक्ति मविरुद्ध लागे,’ पेमाको गुनासो छ । उनीमाथि भइरहेको अन्यायमाथि चासो राख्दै नेपाल प्रहरीका एक पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) प्रश्न गर्छन्, ‘नेपालको कुन कानुनले यसरी जरिवाना तिराउने व्यवस्था गरेको छ ? एकल महिला हो भन्दैमा गाउँलेहरू मिलेर अत्याचार गर्न मिल्छ ?’

गाउँलेको हिंसामा परेकी पेमाले न्याय खोज्दै प्रशासनदेखि प्रहरीसम्म गुहारिसकेकी छन् । दुर्भाग्य, उजुरी प्रहरीको दराजमा थन्किन पुगेको छ । आफूलाई गैरकानुनी रूपमा पाँच लाख रुपैयाँँ जरिवाना तिराइएको भन्दै पेमाले दुई महिनाअघि जिल्ला प्रशासन कार्यालय, गोरखामा उजुरी दिइन् । प्रशासनले सो उजुरी इलाका प्रहरी कार्यालय आरुघाटमा पठाएपनि हालसम्म दोषीमाथि कारबाही भएको छैन । प्रहरीले पेमा र स्थानीय जनप्रतिनिधि, गाउँलेलाई छलफलमा राखेर उनको पैसा फिर्ता गराउने सहमति जुटायो । तर, त्यसपछि आफू गाउँमा झन् असुरक्षित हुनसक्ने भन्दै उनले कानुनी कारबाहीको अडान लिइन् । अहिले उजुरी नै थन्किएको पेमाको गुनासो छ ।

गोरखाका सहायक प्रजिअ चित्राङ्गत बराल पेमामाथि आक्रमण गर्ने जोसुकैलाई कारबाही हुने बताउँछन् । यससम्बन्धमा प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको समेत उनले बताए । ‘कानुनलाई हातमा लिने काम भयो । यस्तो गलत काममा संलग्न जोसुकैलाई कारबाही हुन्छ,’ बरालले भने । गैरकानुनी जरिवाना तिराउने र भौतिक आक्रमणमा संलग्न दुवै घटनाका दोषीमाथि कारबाही हुने उनको भनाइ छ ।

‘उहाँलाई कानुनविपरीत जरिवाना तिराइएको उजुरीपछि हामीले प्रहरीलाई कारबाहीका निम्ति पठाएका थियौं । घटना मुद्दामै लग्नुपर्ने आवश्यकता नदेखिएपछि प्रहरीले मिलापत्र गराउन खोजेको हो,’ बरालले भने, ‘तर, मिलापत्रको कुरा भइरहँदा यसरी भौतिक आक्रमण नै गर्नु भनेको कानुनलाई आफ्नो हातमा लिनु हो । यसमा संलग्न जोसुकै भएपनि कारबाही हुन्छ ।’

(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू