कसले भन्छ एक्कासी यसरी हान्न सकिन्छ

कसले भन्छ एक्कासी यसरी हान्न सकिन्छ

सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवामाथि गोली चल्दा जेन–जी आक्रोशले हिंसात्मक मोड लियो । १९ जनाको ज्यान गएपछि मिसमास भएकाहरूले भोलिपल्ट देशैभर आगो बाले । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, विधायिकी केन्द्र संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानमन्त्री निवासलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताको घर क्षणभरमा ध्वस्त भए । तोडफोड, आगजनी, कुटपिट र लुटमारले निम्त्याएको नोक्सानीको हिसाब गरिसाध्य छैन ।

राज्यसत्ता पल्टाउने तहमा पुगेको यो आन्दोलनलाई धेरैले सरकारी दमनविरुद्ध युवाहरूमा बढेको स्वभाविक आक्रोशका रूपमा अथ्र्याएका छन् । तर, शान्तिपूर्ण हुने भनिएको आन्दोलनले शुरुकै दिन जसरी हिंसाको डढेलो सल्कायो त्यो साधारण, सामान्य र आकस्मिक घटना मात्रै थिएन । बरू राज्यका पदाधिकारी र राजनीतिक दलका नेताको निवासमा आक्रमण गर्न निकै सुव्यवस्थित तवरले योजनावद्ध तयारी गरिएको प्रमाण जनआस्थाले फेला पारेको छ । 

आक्रमणअघि युवाहरूले एउटा एप नै बनाएर क–कसको घर जलाउने भनी गुगल म्यापसहितको लोकेसन अपलोड गरेको पाइएको छ । उनीहरुले आपसी सञ्चार र समन्वयका लागि बनाएको ‘हाउस लोकेसन अफ दि करप्ट पोल्टिसिएन अफ नेपाल’ नामक ग्रुपमार्फत आन्तरिकरूपमा सूचना सर्कुलर गरेको प्राप्त विवरणमा उल्लेख छ । जहाँ क्लिक गर्‍यो, त्यहीँ खोल्नका लागि ‘सेभ लोकेसन’ आउनेगरी बनाइएको उक्त एपमा कुन–कुन नेताको घरमा हान्ने भन्ने प्रष्ट खुलाइएको छ ।

यो यति सुविचारित र व्यवस्थित हिसाबले गरेको देखिन्छ कि नेताका घर कतापट्टी फर्किएको छ र आगलागी हुँदा अन्य घरमा क्षति पुग्ने अवस्था भए–नभएको स्पष्टसँग खुलाइएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईको घरमा आगो लगाउँदा अपनाउनुपर्ने होसियारीबारे समेत सचेत गराइएको देखिन्छ । टोखा सरस्वतीमार्गस्थित उनको घर हाउजिङको सबैभन्दा अन्तिममा रहेको र अगाडि कुनामा प्रहरी बसिरहने सूचनासमेत दिइएको छ ।

संयोग नै मान्नुपर्छ उक्त आन्दोलनको बलमा सरकारको नेतृत्वमा पुगेकी सुशीला कार्कीको शपथग्रहण समारोहमा भूपू प्रधानमन्त्रीमध्येबाट उनै बाबुराममात्र देखा परे । फेसबुकबाट जेनजी आन्दोलनप्रति खुलेर समर्थनसमेत जनाएका थिए । तर, पनि उनको घर जलाइनुले यो आक्रमण २३ गतेको आक्रोशको स्वभाविक उपजमात्र थिएन भन्ने स्पष्ट भएको छ ।

पूर्वयोजना मुताविक गुगल म्यापको सहयोगमा लोकेसन हेर्दै गरिएको एकपछि अर्को आक्रमणको निशानामा बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी घर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको झापा र बालकोटको दुवै घर परे । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणाको बूढानिलकण्ठ निवास खरानी पारेका आक्रमणकारीले उनीहरुमाथि सांघातिक हमलासमेत गरेका थिए । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घर, खुमलटारको निवास र कोटेश्वरमा रहेको पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्व एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवाससहित एमाले उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेको घर पनि निशानामा पर्‍यो । 

सेप्टेम्बर ९ तारिखमा अपलोड भएको गुगल म्यापमा एकीकृत समाजवादीको अध्यक्षसमेत रहेका माधवको घरमा ठ्याक्कै पुग्नेगरी लोकेशनसहित विस्तृत विवरण खुलाइएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का डिजी प्रदिप अधिकारी, आन्दोलनकारीको कुटपिटमा परेका काठमाडौँका सिडिओ छवि रिजाल, एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको घर पनि जलाउनुपर्ने सूचीमा राखेको देखिन्छ । ‘ठूलो घर छ, नजिकै पसलेलाई सोध्नुपर्छ’ भनेर थप डिटेल त्यहाँ खुलाइएको छ ।

वास्तवमा जेनजी आन्दोलन कुनै राजनीतिक वाद, विचार, दल र नेताविरुद्ध परिलक्ष्यित नरहेको भनिए पनि भित्रभित्र यस्तो डरलाग्दो खेलको रचना कसले गर्‍यो, अझै खुलेको छैन । एउटा कुरा के प्रष्ट भएको छ भने, केही घण्टामै सयौँ व्यक्तिका घर खरानी बनाउने योजना सानोतिनो दिमाग र जेन–जी पुस्ताका कलिला भाइ–बहिनीको दिमागको उपज पक्कै होइन । र, यो एकाएकको आक्रोशले पैदा गरेको घटना थिएन भन्ने ठहर्‍याउन जनआस्थासँग सुरक्षित रहेको गुगल म्याप काफी छ ।

टिप्पणीहरू