मैले सोचेभन्दा फरक मुस्ताङ

मैले सोचेभन्दा फरक मुस्ताङ

गाडी गुडिरहेको थियो । कहीँ बम पड्किएझैँ आवाज आयो । बस घचक्क रोकियो । सबैले के भयो ? भन्दै मुखामुख गर्न थाले । त्यत्तिकैमा सहचालकले भने टायर पड्कियो...।

सबै जना झरे । चालक सानो ज्यानका थिए । सहचालकचाहिँ बसका साहु । चालकले टायर झिके र बसमुनि छिरेर एक घण्टामै टायर फेरे । धन्न, राम्रो ठाउँमा टायर पड्कियो, नत्र ज्यान जाने थियो । बस साहुले जीब्रो टोक्दै सुनाए ।

अब भने बस साहु शोभित शेरचनले शुरु गरे आफ्नो वेदना । सवार सबै जना पत्रकार । थासाङ–२, मुस्ताङ घर भएका बसमा साहुुको हुँकार केही थिएन । उनले ओठ फर्काउँदै भने, ‘कमाएको सबै गयो । उल्टै २० हजार पनि जाने भयो । क्यार्ने, यो ट्रिप यस्तै भयो ।’ उनका दुईवटा बस मुस्ताङमा चल्छन् । सिण्डिकेट हटेपछि शोभितले बसका लागि ३२ लाख समितिलाई बुझाए र अनि मात्रै रूट अनुमति पाए । मुस्ताङको सडक निकै राम्रो छ ।

म्याग्दीदेखि कूल मिलाएर ५–६ किलोमिटर मात्रै ठाउँ–ठाउँमा पिच बन्न बाँकी छ । छोराछोरी काठमाडौँमा छन् । बूढाबूढी मात्रै घरमा । भन्छन्– केही वर्षदेखि त दशा नै लागेको छ । सँगै रहेका पत्रकारले सोधे, के दशा लाग्यो ? उनले बेलीविस्तार लगाए– मेरी बूढीलाई वडा अध्यक्षमा उठाएँ । तर, एमालेले हराइदियो । अरु पार्टीले ४०–४५ लाख खर्च गरे । मेरो २० लाख डुब्यो । गाउँलेले पैसा एउटाको खाए, भोट अर्कालाई हाले । बेइमान गरे । निर्वाचनताका काठमाडौँबाट बसभरि मान्छे बोकेँ तर भोट श्रीमती बालकुमारीलाई हालेनन् । केटाहरूले दिनदिनै बाइकमा पेट्रोल भरेर भित्र राखे । भोट एमालेलाई दिए । चुनाव निकै खत्तम चिज रहेछ । 

शोभितकी श्रीमती ०७४ मा थासाङ गाउँपालिकाबाट उपाध्यक्ष थिइन् । ‘त्यसबेला थासाङ–२ मा केही राम्रो काम गर भनेका रहेछन् शोभितले तर केही काम भएन’, उनी भन्छन् । शोभितले श्रीमतीलाई ०७९ सालमा अध्यक्ष उठाउन खोजे तर हात लाग्यो शून्य । उनी आफ्नो पीडा रमाइलोपारामा सुनाउँदै थिए– अब चुनाव कहिल्यै नलड्ने । अब फिल्म बनाउने । फिल्मको हिरो आफैं हुन् । आफैं नउठेर बूढीलाई किन उठाएको भनी सोध्दा जवाफ दिए– मैले त काम गर्नुपर्‍यो नि ! गाउँमा युवा अरु कोही छैन । 

शोभितले भनेझैँ मुस्ताङको बाटो सहज छ र विकासको मुहार फेरिएको छ । गाउँ युवाविहीन भएपछि हरिया स्याउका बोटले टुसा उमारिरहेका छन् । सुख्खा देखिने जमिन सुन्दर देखिँदैछन् । गाउँका वृद्धवृद्धा सन्तानले लगाएका बिरुवा कुरेर बसेका छन् । मार्फा गाउँको हिँड्ने बाटो मासिएर पिच सडक बनेको छ । मार्फा गाउँमा घरका छत पक्की बनेका छन् । मार्फाकै कर्णबहादुर हिराचन भन्दै थिए– खैरेहरू तल पक्की होटल बस्नुभन्दा हाम्रै यस्तै घर (कच्ची) मा बस्न मन पराउँछन् । धेरैजसो यतै माथि आउँछन् । छोराछोरी शहरमा छन् । 

हामी मार्फामा बस्दा युवाहरू नगन्य मात्रै देखिए । केही बालबालिका गल्लीमा खेलिरहेका थिए । पिच सडक पुगेपछि मुस्ताङमा चहलपहल बढेको छ । विदेशीभन्दा स्वदेशी बढी छन् । भारतीय पर्यटक धेरै नै आउने गरेका छन् । धनबहादुर पन्नाचनले जेरी गल्ली र कवड्डी गल्ली देखाउँदै फिल्म सुटिङ भएकाले यसको नामै फिल्मको नामबाट राखिएको सुनाए ।

धनबहादुर उनकी श्रीमती स्याउको बगैंचा र घर छोड्न नसकेर मार्फामा एक्लै बस्छन् । उनीजस्तै धेरै बूढाबूढी घर र स्याउका बोट छोड्न नसकेर मार्फामै छन् । यति सुनाउँदै गर्दा धनबहादुरका आँखा रसाए । बोल्न सकेनन् । अर्को दिन एकाबिहानै हामी जोमसोमतिर लाग्यौँ । 

टिप्पणीहरू