हतियार देखाउँदै हिँड्छिन् माननीय

जमाना कतिसम्म बिग्रियो भने संरक्षित जनावरदेखि चराचुरुंगीसमेत मार्न पाइँदैन तर ठुल्ठूला व्यक्तिले नै ‘मसँग बन्दुक छ है’ भनेर एउटा संवैधानिक निकायको कार्यालयमा हतियार प्रदर्शन गर्न थालेका छन् ।
०८० साल चैतमा दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा रमिता देखाएको बेलादेखि सरकारले इजाजतप्राप्त हातहतियारसमेत सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिँड्न रोक लगाएको छ । तर, एक जना आयुक्तले भर्खरै खुलेआम यस्तो हतियार बोकेर कार्यालय प्रवेश गरी सहकर्मीहरूलाई त्राहिमाम बनाएको प्रमाण भेटिएको छ ।
९ महिनाअगाडि राजपत्रमा समेत प्रकाशन भइसकेको छ, हतियार प्रदर्शन गर्न नपाइने सूचना ! यो वास्तविकतालाई बेवास्ता गर्दै दुई थान राइफलसहित एकजना माननीयले रमिता देखाएको घटना हो, सिंहदरबारनजिकै भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको । वैवाहिक अंगिकृत आयुक्त विद्याकुमारी सिन्हा अघिल्लो महिना हतियारसहित त्यहाँ प्रवेश गरेपछि सहकर्मी आयुक्तदेखि कर्मचारीसमेत त्रसित छन् । घरेलु हिंसामा परेका महिलाहरूलाई न्याय दिलाउने संस्थाको रुपमा चिनिने सो कार्यालयकी संवैधानिक पदाधिकारीले नै प्रायः महिलाहरू नै आयुक्त र कर्मचारीका रुपमा कार्यरत सरकारी अड्डामा कानुनविपरीत हतियार प्रदर्शन गरेपछि लाइसेन्सबारे नयाँ शिराबाट बहस शुरु भएको छ ।
विद्याले लिएको हतियार नेपालभर प्रयोग गर्न मिल्ने रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । उक्त कार्यालयका अनुसार, हालसम्म काठमाडौंमा यस्ता हतियारधारी छ्याप्पछ्याप्ती छन् ।
जिप्रका काठमाडौंबाट १४ हजारभन्दा बढी, ललितपुरबाट एक हजार, भक्तपुरबाट ४४ वटा यस्ता इजाजत बाँडिएको छ । यस हिसावले मुलुकभर लाइसेन्सप्राप्त हतियारधारी कति होलान् ? यसको तथ्यांक गृह मन्त्रालयसँग छैन । केन्द्रीय तथ्यांकबारे आफूलाई जानकारी नभएको गृहका अधिकारीहरूले बताए ।
टिप्पणीहरू