राष्ट्रिय सभा पुरानै चाला

राष्ट्रिय सभा पुरानै चाला
सुन्नुहोस्

माघ ११ गते हुने राष्ट्रियसभाका १९ सिटको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयसँगसँगै राष्ट्रिय सभाको निर्वाचन सकिएको छ । किनकी १९ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित छ । तर यसको औपचारिक घोषणका लागि माघ ११ गतेको निर्वाचन पर्खनुको विकल्प छैन । 

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभाका सदस्यको पदावधि सकिने भएपछि एक महिना अगावै निर्वाचन हुन लागेको हो । बिदा भएर जानेमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित छन् । यसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका ८ जना छन् । एमालेकासमेत आठ सिटको सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन् । जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ । एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा छ । 

नेपाली कांग्रेसले ठूलै रस्साकस्सी र दुई महामन्त्रीको फरक मतसहित उम्मेदवार टुंगो लगायो । शेखर कोइराला नेतृत्वको समूहले १० मध्ये ४ सिट पाउनुपर्ने अडान नछाडेपछि कुरा मिल्न सकेको थिएन । तर सभापति शेरबहादुर देउवाले शेखर समूहलाई ३ र नेता प्रकाशमान सिंहलाई १ सिट दिएर संस्थापनमा ६ सिट राख्न सफल भए । कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मधेशको अन्य कोटाबाट आनन्दप्रसाद ढुंगानालाई उठायो । बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतलाई उठाएको छ । पुडासैनीले नेता प्रकाशमान सिंहकोतर्फबाट टिकट पाएकी हुन् ।

कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भट्ट र अन्यमा बलदेव बोहराले टिकट पाएका छन् । उनीहरू सबै संस्थापनका हुन् । गण्डकीको अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाए । उनीहरू दुवै शेखर कोइराला समूहका हुन् । लुम्बिनीमा विष्णुदेवी सापकोटा महिलातर्फबाट उठ्दैछिन् । उनी पनि शेखर समूहकी हुन् । सिटौला पछिल्ला दुई आमनिर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन । कांग्रेसले सिटौलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीसहित उम्मेदवार बनाएको हो । अर्थात दुई पटक चुनाव हारिदिएर पार्टीलाई योगदान दिएकाले कांग्रेसले अहिले सिटौलाई पुरस्कृत गरेको हो । अर्का उम्मेदवार धनुषाका आनन्द ढुंगाना प्रतिनिधिसभाको समानुपातिक सूचीमा थिए । ढुंगानाले केही समयअघि मात्रै समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए । 

माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि ‘जनयुद्ध’मा योगदान दिएका र तिनका परिवारका सदस्यलाई रोजेको देखिन्छ । उम्मेदवार ६ जनामध्ये ४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारहरु हुन् । कोशीको उम्मेदवार चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द माओवादीको प्रतिनिधिसभाको समानुपातिक सूचीमा नाम रहेका व्यक्तिहरु हुन् । लुम्बिनीबाट उम्मेदवार झक्कुप्रसाद सुवेदी भने पहिलो संविधानसभा सदस्य थिए । २०७४ मा सुवेदी काठमाडौं ६ मा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानसँग पराजित भएका थिए । यद्यपि मधेशलाई नसमेटेकोमा माओवादीभित्र असन्तुष्टि छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो । अर्को सत्तारुढ जसपाले  कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी रुपा चौधरीलाई उम्मेदवार बनाएको छ । २०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३–१ बाट पराजित चौधरीलाई राष्ट्रिय सभामा लैजान लागिएको हो ।

यतिमात्र होइन गत प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि राष्ट्रियसभामा जाँदछिन । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी पौडेल राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रियसभा छिर्दैछिन । यसअघि तत्कालीन नेकपाले प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका सचिवालय सदस्य वामदेव गौतमलाई यसैगरी राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रियसभामा लगेको थियो । त्यसो त हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग पराजित भए पनि राष्ट्रियसभा पुर्‍याइएको थियो । पराजित भएको दुई वर्षपछि श्रेष्ठ गण्डकी  प्रदेशबाट राष्ट्रियसभामा टिकट पाएर विजयी भए ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभाको निर्वाचनमा एक्लै मैदानमा छ । सत्ता गठबन्धनसँग मिलेर जाने प्रयास विफल भएपछि एमाले एक्लै मैदानमा छ । तर जित्ने निश्चित भएको भए एमालेले उठाउने उम्मेदवार को को हुन्थे र कसलाई उम्मेदवार बनाउँथ्यो भन्ने अनुमान लगाउन कठिन छैन । त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ । ९ जना मात्रै उम्मेदवार उठाउनुका पछाडि उसको पनि आफ्नै बाध्यता छ । राप्रपाबाट कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार भएका छन् । राप्रपाले लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उम्मेदवार उठाउने तयारी गरेको थियो । तर स्थानीय तह र प्रदेशमा पार्टीका जनप्रतिनिधि एक–एकजना मात्रै हुँदा प्रस्तावक र समर्थक राख्न राप्रपालाई समस्या भएको हो । राप्रपाले प्रस्तावक र समर्थक अभावमा मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारी नदिने भएको छ । 

विषय विज्ञहरुसहित विभिन्न क्लस्टरबाट समावेशीरुपमा सदस्यहरु निर्वाचित गर्ने थलोका रुपमा रहेको राष्ट्रियसभालाई दलहरुले पराजितहरुलाई थुपार्ने र राज्य दोहन गर्ने केन्द्र बनाइरहेका छन् । यसले मतदाताले अस्वीकृत गरेकालाई समेत दलहरुले बोकिरहने र जनआवाजको अपमान गरिरहने देखाउँछ भने अर्कोतर्फ राष्ट्रियसभाको मर्मसमेत मार्ने काम भइरहेको प्रष्ट हुन्छ ।
 

टिप्पणीहरू