प्रचण्ड सरकारको एक वर्षः विवादै बढी

प्रचण्ड सरकारको एक वर्षः विवादै बढी
सुन्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकार सम्हालेको पुस १० गते एक वर्ष पुग्दैछ । सरकारको समीक्षा सफा आँखाले नभई विभिन्न रंगको चश्मा लगाएर भइरहेको छ । त्यसैले सपाट समीक्षा भएको छैन । 

कामको समीक्षाअघि सरकारको गठनसम्म पुग्नुपर्छ । शुरुमा यो सरकार माओवादी केन्द्रसँगै एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा बनेको थियो । राष्ट्रपति निर्वाचनसम्म पुग्दा नपुग्दै प्रचण्ड कांग्रेससँगकै सहकार्यमा फर्किए । जसकारण पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका  उनले चैत ६ मा दोस्रो पटक अग्निपरीषा पास गर्नुपर्‍यो । प्रचण्ड अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा,  जनमत, लोसपा, नाउपा, आजपा, नेसपा, जनमोर्चा गरी १० दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । 

मंसिर १९ गते सार्वजनिक प्रतिवेदन अनुसार सरकारको काम निराशाजनक रहेको भन्न कठिन छैन । नीति तथा कार्यक्रम र बजेटका आधारमा सबै मन्त्रालयका गरी १ हजार ६ सय क्रियाकलाप र ३ हजार ४ सय २१ माइलस्टोन तय गरी कार्ययोजनालाई एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरेर तयार पारिएको प्रतिवेदनले अध्ययन गरेको चार क्रियाकलापमध्ये आर्थिक र पूर्वाधार क्षेत्रको प्रगति निकै निराशाजनक देखिन्छ । 

क्षेत्र  सम्पन्न भएको संख्या प्रतिशतमा चालु शुरू नभएको
आर्थिक  ३. ६१ ५३ ४३
पूर्वाधार  ०.६ ६७.६  ३१.८
शासकीय सुधार  ४.५९ ५०.७६ २७.२९
सामाजिक ८.८७  ५४.६० ३६.५१

आर्थिक क्षेत्रमा ४ सय १५ क्रियाकलापमध्ये ३ दशलव ६१ प्रतिशत मात्रै सम्पन्न हुँदा ५३ प्रतिशत चालु अवस्थामा छ । तर ४३ प्रतिशत काम अझै शुरु भएको छैन । यस्तै पूर्वाधारमा ५ सयमध्ये ० दशमलव ६ प्रतिशत मात्रै काम भएको छ भने ६७ दशमलवको काम जारी छ । शासकीय सुधारको २७ प्रतिशत काम शुरु हुन सकेको छैन भने सामाजिक क्षेत्रको पनि ३६ प्रतिशत त थाल्नै बाँकी छ ।

आर्थिक क्षेत्रका क्रियाकलापको मन्त्रालयगत प्रगति स्थिति

मन्त्रालय  कूल सम्पन्न चालु शुरू नभएको
अर्थ मन्त्रालय ११३ १० ४३ ६०
कृषि मन्त्रालय ४८ ३६ १२
उद्योग मन्त्रालय ८६ ४३ ३८
संस्कृति, पर्यटन मन्त्रालय ५७ २७ ३०
वन मन्त्रालय ५१ ४३
भूमि व्यवस्था, सहकारी मन्त्रालय ४३ १२
लगानी बोर्ड १७  ५ १२

यस्तै अर्थ, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र लगानी बोर्डको कार्यालयलाई आर्थिक क्षेत्रमा राखेर तयार पारिएको प्रतिवेदनअनुसार तीन महिनामा झण्डै ४ प्रतितशत मात्र काम सम्पन्न भएको छ । संख्याको हिसाबमा हेर्दा अर्थमन्त्रालय नै कमजोर देखिएको छ । निकायगतरुपमा अर्थ मन्त्रालयले ५३ र पर्यटन मन्त्रालयले ५२ प्रतिशत काम शुरु गरेका छैनन्।

पूर्वाधार क्षेत्रमा प्रगति कस्तो ?

मन्त्रालय  कूल कूल सम्पन्न चालु शुरू नभएको
भौतिक पूर्वाधार तथा यातायात ६० १९ ४०
ऊर्जा, जलस्रोत तथा सिञ्चाई ११३  ७४ ३८
शहरी विकास २४४  १९५ ४८
खानेपानी ४१ २४ १८
सञ्चार तथा सूचना प्रविधि ४२

२४

१८

काम प्रभावकारी बनाउने भनेर प्रधानमन्त्री कार्यालयमा ७ सचिवको दरबन्दी राखिएको छ । तर निजी सचिवालयमै ४० जना जनशक्ति राख्ने प्रधानमन्त्री भने कार्यसम्पादन राम्रो नभएको गुनासो गरिरहेका छन् ।

पूर्वाधार क्षेत्रतर्फको काम हेर्दा भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिञ्चाई, शहरी विकास, खानेपानी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १ प्रतिशत पनि क्रियाकलाप सम्पन्न गरेका छैनन् । निर्माण व्यवसायीले बाँकी बक्यौता अझै पाएका छैनन् । यसले पनि पूर्वाधार क्षेत्रमा समस्या देखिएको छ । तर सरकारले गत शुक्रवार व्यवसायीलाई पत्र पठाएर तत्काल पैसा नदिने बताएसँगै फेरि पूर्वाधार क्षेत्रका काम रोकिने अवस्था छ । 

शासकीय सुधारमा प्रगति कस्तो  ?

मन्त्रालय   कूल सम्पन्न चालु शुरू नभएको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ५९ २३   ३५
गृह मन्त्रालय   १५६ १० ९९ ४७
रक्षा मन्त्रालय २८  १३ १५
संघीय मामिला तथा सामान्य मन्त्रालय २८ १५
कानुन, न्याय तथा संसदीय मामिला ३५  २५
परराष्ट्र मन्त्रालय १८
राष्ट्रिय योजना आयोग   १५  ०  ६
सार्वजनिक खरिद अनुगम, कार्यालय १६
राष्ट्रिय सतर्कता केन्द्र  ७
राष्ट्रिय तथ्यांक कार्यालय २८ २०

प्रतिवेदन तयार पार्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै काम निकै सुस्त देखिएको छ । शासकीय सुधारतर्फ उसले नै पनि उत्कृष्ट कार्य सम्पादन गरेको छैन । काम प्रभावकारी बनाउने भनेर प्रधानमन्त्री कार्यालयमा ७ सचिवको दरबन्दी राखिएको छ । तर निजी सचिवालयमै ४० जना जनशक्ति राख्ने प्रधानमन्त्री भने कार्यसम्पादन राम्रो नभएको गुनासो गरिरहेका छन् । विज्ञ भने प्रधानमन्त्रीको अकर्मण्यताकै कारण यो अवस्था सिर्जना भएको दावी गर्छन् । जेठमा बजेट सार्वजनिक भएपछि कार्ययोजना बनाउनुपर्नेमा अन्तिम समयमा बनाउने परिपाटी पुरानै हो । त्यसैले समयमा स्रोत सुनिश्चितता नहुनु, अन्य निकायको सहमति प्राप्त नहुनु र राजनीतिक दलकै दबाबले पनि काम अघि बढ्न नसकेको जानकार बताउँछन् ।

काभ्रेको पाँचखालस्थित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई मंसिर २७ गते बुधबार संबोधन गर्दै प्रधानमन्त्रीले देशमा छिट्टै महिला प्रधानमन्त्री होस् भन्ने इच्छा व्यक्त गरे । उनले यस्तो इच्छा व्यक्त गरिरहँदा उपस्थित सबैको कान टाठो भयो । उनले महिला प्रधानमन्त्री हुनु पर्नाको फेहरिस्त पनि सुनाए– संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधीश महिला भएर यो देशमा राम्रो कामको सुरुवात पनि भयो । अब एउटा बाँकी छ– प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् ।’

महिला प्रधानमन्त्री हुनु पर्ने अर्को पनि जिकिर पेश गरे प्रचण्डले– अहिले भ्रष्टाचारको केस लाग्ने ९९ प्रतिशत पुरुष हुँदा महिला कोही छैनन् । 

अहिले शीर्ष नेताको कोटरी सानो छ, यी नेताहरूले आफ्ना सन्तान, परिवार र आफन्तभन्दा बाहिर गएर जिम्मेवारी दिएको दृष्टान्त छैन । प्रधानमन्त्रीका छोरीहरू सांसद छैनन् यसले प्रधानमन्त्रीको परिवारबाट महिला प्रधानमन्त्री हुने निकै परको कुरा हो । देउवानिकट  नेताहरू आरजू प्रधानमन्त्री हुने कुरालाई नकारात्मक रुपमा लिँदैनन् । कांग्रेस संस्थापन इतर समूहले भेला गरेर संसदीय दलको नेता फेर्ने निश्कर्ष निकालेकै दिन प्रचण्डले काभ्रेबाट फायर खोल्दा यो समूह सशंकित भएको छ । 

मंसिर ५ गते पुस्तक प्रदर्शनी मेलाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले युवालाई स्वदेशमै पढ्ने र बस्ने वातावरण बनाउने गरी ऐन कानुन बनाउन सरकार प्रत्यत्नशील रहेको बताए । त्यसको केही दिनमा नाष्टले आयोजना गरेको कार्यक्रममा नेपाली युवा वैज्ञानिकलाई प्रोत्साहित गर्ने गरी कानुनी आधार र बजेटको तयारीमा सरकार जुटिरहेको दाबी गरे । सहयोगापेक्षी सडक आश्रितको उद्धारका लागि सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रमको समापन गर्दै मंसिर ४ गते बेवारिसे, असहाय, अनाथ, अशक्त तथा जोखिममा परेका सहयोगापेक्षी मानवको समुचित व्यवस्थापनका लागि कानुन बनाउन सरकार जुटिरहेको बताए । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा विद्यमान कानुन कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए  । त्यही दिन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँगको छलफलमा संघीयता कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाउँदै अत्यावश्यक र बाँकी रहेका कानुन निर्माणमा सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै गरेका दर्जनौँ संबोधनमा त्यही अनुपातमा कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता वा आश्वासन दिँदै आएका छन् । तर, नतिजा हेर्ने हो भने कथनी र करनीमा फिटिक्कै तालमेल मिलेको छैन ।

टिप्पणीहरू