गभर्नर र डेपुटी गभर्नरका परिवारले पनि डलर अन्यत्रबाट साट्नुपर्ने

गभर्नर र डेपुटी गभर्नरका परिवारले पनि डलर अन्यत्रबाट साट्नुपर्ने
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालयले विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था गरेको छ । कार्यालय हातामा भिडभाड बढेको जनाउँदै विभागका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले निजामती कर्मचारी, सरकारी अधिकारीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता र बैंकका बहालरत कर्मचारीलाई मात्र कार्यालय प्रयोजनको निम्ति डलरलगायत विदेशी मुद्रा सटहीको व्यवस्था गराएका छन् । 

हिजोसम्म सर्वसाधारणको निकै भीड देखिएको केन्द्रीय बैंकको बालुवाटार परिसरमा आज हातमा पासपोर्ट र कागजात बोकेकाहरु ठप्प भएका हुन् । कोरिया, जापानलगायत मुलुकमा जाने श्रमिक, विभिन्न मुलुकमा अध्ययनको निम्ति जान लागेका विद्यार्थीहरु नियमानुसारको विदेशी मुद्रा सटहीका लागि बैंक पुग्ने गरेका थिए । 

अन्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ कार्यालयले विदेशी मुद्रा उपलब्ध नगराएका कारण केन्द्रीय बैंकमा भीड बढेको थियो । पंगेनीले बैंकहरुलाई मौखिक निर्देशन दिँदा सर्वसाधारणको निम्ति विदेशी मुद्रा सटही आजदेखि केन्द्रीय बैंकले नगर्ने जानकारी गराएको बताइन्छ । बालुवाटारमा रहेका माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखाबाट विदेशी मुद्रा सटही गर्न गराउन भनिएको छ ।

विभागले तयार पार्दै गरेको विदेशी मुद्रा सटही सम्बन्धी कार्यविधिमा बैंकका बहालरत कर्मचारीका परिवार, अवकाश प्राप्त कर्मचारी र तिनका परिवारलाई पनि राष्ट्र बैैंकले विदेशी मुद्रा सटही नगर्ने उल्लेख गरिएको छ । यो व्यवस्थापछि अब गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रका परिवारले पनि केन्द्रीय बैंकमा डलर सटही गर्न नपाउने भएका छन् । आवश्यकता परेको अवस्थामा उनीहरु अन्य बैंक तथा वित्तीय संस्थामा जानुपर्ने भएको छ । उनीहरु तीनै जना त्यहिँका अवकाशप्राप्त कर्मचारी हुन् । सञ्चालकमा पनि तीन जना बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । तिनका परिवारले पनि अन्य बैंकमा धाउनुपर्ने भएको छ । 

बैंकिङको पछिल्लो मौखिक निर्देशनपछि एउटा ‘क’ वर्गका बैंकका डेपुटी सिइओले भने, ‘कार्यकारी निर्देशक पंगेनीले आफ्नै घरको पैसो जस्तो गर्नुहुन्छ । सबै बैंकलाई विदेशी मुद्रा वितरण गरे सटहीको लफडा नै हुँदैन । सर्वसाधारणले सहज ढंगले पायक पर्ने स्थानबाट साटिहाल्छन् । उहाँहरुलाई काम गरेको देखाउन बैंक परिसरमा अलि अलि भिड पनि चाहिन्छ । धेरै भएपछि अरु बैंकमा जानू भने पुगिहाल्यो । सटहीको निम्ति पहिले विदेशी मुद्रा उपलब्ध त गराउनुपरयो नि !’ पंगेनीको पछिल्लो निर्देशनपछि बैंकले असोज तेस्रो सातादेखि सटही गर्ने नयाँ नेपाली नोटको विषय पनि पेचिलो भएको छ । ‘अहिले विदेशी मुद्रा सटहीको निम्ति अन्य बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण लखेट्न सक्ने कार्यकारी निर्देशकले दशैंमा के गर्लान् ? भलै नयाँ नोट मुद्रा व्यवस्थापन विभागले हेर्ने गर्छ,’ उनै डेपुुटी सिईओले बताए ।

पछिल्लो केही महिनादेखिको विवरण हेर्दा नेपाल राष्ट्र बैंकले दैनिक औसत तीन लाख विदेशी मुद्रा सटही गरेको देखिन्छ । गत वर्ष मौज्दात घटेपछि प्रति पासपोर्ट वापतको सटही सुविधालाई २५ सयबाट १५ सयमा झारिएको थियो । अहिले फेरि २५ सय कायम गरिएको छ । यसको अर्थ मुलुकको विदेशी मुद्रा सञ्चितिमा खासै चाप छैन भन्ने नै हो । तर, वितरणको सही व्यवस्थापन गर्न नसक्दा केन्द्रीय बैंकको बैंकिङ विभाग सहकारी संस्थाभन्दा गए गुज्रेको अवस्थामा पुगेको त्यहिँका अन्य विभागका हाकिमहरुले निश्कर्ष निकालेका छन् ।

टिप्पणीहरू