निर्वाचन आयोगको नियतमाथि शंका लाग्दा गत उपराष्ट्रपति निर्वाचनमा वैकल्पिक उम्मेदवार बनिन्, प्रमिला कुमारी । माइत कोशी प्रदेश, घर मधेश । हार्नकै लागि तयार भएर उपराष्ट्रपतिको उम्मेदवार बनेकी उनले चुनाव हारे पनि पार्टीकै आधिकारिक उम्मेदवारले उक्त निर्वाचन जितेपछि उनले हारेर पनि खुशियाली मनाइन् । त्यसपछि सरकारको शिक्षा राज्यमन्त्री भइन् । तर, राज्यमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रालय जाने–आउनेबाहेक कुनै जिम्मेवारी दिएका छैनन्, मन्त्री अशोक राईले । मेजर इंग्लिसमा स्नातकोत्तर पूरा गरेकी उनले २५ वर्षसम्म सुनसरीको मधुवनस्थित जनता माविमा अंग्रेजी विषय अध्यापन मात्र गरिनन्, प्रधानाध्यापक बनेर विद्यालय नै हाँकिन् । यही अनुभवका आधारमा पार्टी अध्यक्ष उपेन्द्र यादवले शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिएर पठाए तर अशोक राईले प्रविधितर्फका नाष्ट, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, बीपी प्लानेटोरियम हेर्ने जिम्मेवारी दिएका छन् ।
यसमा न पर्याप्त बजेट छ न त जनतामाझ भिज्ने कुनै कार्यक्रम नै ! त्यही कारण उनी शिक्षा क्षेत्रको जिम्मेवारी खोज्दै छिन् तर मन्त्री राईले जिम्मेवारीको भारी आफैं बोकेर प्रमिलालाई बेरोजगार बनाइराखेका छन् । प्रमिला यसअघि मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन् । तराई–मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा लागेकी ०६२ सालदेखि मधेशी जनअधिकार फोरम नेपालबाट राजनीतिमा क्रियाशील छिन् । मधेशी शिक्षक फोरमको केन्द्रीय उपाध्यक्ष हुँदै संघीय समाजवादी फोरमको केन्द्रीय सल्लाहकार समिति सदस्य हुँदै केन्द्रीय सदस्यसम्म ०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी उनी अघिल्लो संसदमा दिगो विकास तथा सुशासन समिति चलाइसकेकी उनी २ वर्ष नेशनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धक चलाइसकेकी हुन् । जिम्मेवारी नदिने, थन्क्याउनका लागि मात्र राज्यमन्त्री बनाइने हो भने यो पद नै खारेज गर्नुपर्ने तर्क गर्छिन् उनी ।
– हरि गजुरेल
झण्डै साढे दुई दशक शिक्षण पेशा अँगाल्नुभयो । प्रधानाध्यापकसम्म हुनुुहुन्थ्यो के देखेर राजनीतितर्फ ‘युटर्न’ हुनुभयो ?
– शिक्षण पेशामा रहेर समाजसेवा गरेँ । जनता माविमा माध्यमिक तहको अंग्रेजी विषयको शिक्षकका अलावा प्रधानाध्यापक थिएँ । मेजर इंग्लिसमै स्नातकोत्तर गरेको छु । ०७४ मा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतितिर ‘युटर्न’ भएको हुँ । जबसम्म महिला र पुरुषको हैसियत समान स्तरमा आउँदैन तबसम्म देशमा विकासको गति अगाडि बढ्न सक्दैन । मुलुकको विकासका लागि महिला र पुरुष दुबैले समान अवसर पाउनुपर्छ । महिला–पुरुष दुबैले समान ढंगले इज्जत, प्रतिष्ठा र पावर पाएको खण्डमा निश्चित रूपमा मुलुकको उन्नति र प्रगति हुन्छ ।
एसइईको नतिजालाई कसरी हेर्नुभएको छ ?
– गत वर्षहरूमा भन्दा यस वर्ष एसइईको नतिजामा धेरै सुधार भएको छ । २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याउँदा ३.६ देखि ४ जिपिए ल्याउनेहरू ४ दशमलव ६३ प्रतिशत छन् । यस्तै, ३.२० जिपिएदेखि ३.६० जिपिए ल्याउनेको संख्या ५५ हजार ६९ (११.३६), २.८० देखि ३.२० जिपिए ल्याउनेहरू ७२ हजार ३६२ छन् । यस्तै २.४० देखि २.८० जिपिए ल्याउनेहरूमा ८९ हजार ३३१ जना रहेको तथ्यांक राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । सबैभन्दा कमजोर अर्थात् ०.८० देखि १.२० जिपिए ल्याउनेको संख्या २२ सय छ । नेपालका सरकारी विद्यालयमा पठनपाठन जस्तो हुनुपर्ने हो, त्यस्तो छैन । सरकारी विद्यालयमा प्रायः गरिबका छोराछोरी पढ्छन् । अहिलेको विश्वव्यापीकरणमा प्राविधिक शिक्षण तथा सिकाइमा प्राथमिकता दिनुपर्ने तर थ्योरिकल प्राक्टिस बढी भइरहेको छ । व्यावहारिक शिक्षण सिकाइमा जोड दिन सकेको खण्डमा विद्यालयस्तरबाटै क्षमतावान जनशक्ति उत्पादन गर्न सक्छौं जसले विश्वबजारमा सहजैसँग रोजगार पाउँछन् । मुलुक संघीयतामा गएको एक दशक पुग्न लाग्दासमेत शिक्षा ऐन ५२ वर्ष अगाडिकै (ऐनबाट शिक्षा प्रणाली चलिरहेको छ । अहिले त नयाँ शिक्षा ऐन बनेर लागू भइसकेको हुनुपथ्र्याे । धेरै विलम्ब भइसकेको छ । मुलुकको शिक्षा प्रणालीलाई संघीयतामा ढालेर नयाँ शिक्षा ऐन ल्याउनु जरुरी भइसकेको छ । चाइल्ड सेन्टर विधि अपनाउन सकेको खण्डमा विद्यार्थीलाई शिक्षण सिकाइ प्रभावकारी हुन्छ । उनीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् । जसबाट देशको उन्नति, प्रगति हुन्छ ।
विद्यालयका शिक्षा सुधारका लागि के–कस्ता योजना छन् ?
– आधुनिक र वैज्ञानिक युगमा विज्ञान प्रविधिदेखि स्मार्ट बोर्डहरूको अधिकतम प्रयोग गरेर पढाइएको खण्डमा विद्यालय शिक्षा सुधार गर्न सकिन्छ । यसका अलावा हरेक विद्यालयमा भोकेसन एण्ड टेक्निकल एजुकेशन हरेक विद्यालयमा लागू गर्न सकिएको खण्डमा शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिन्छ । विद्यालयका पर्याप्त भवन, सिट म्यानेजम्याण्ट गर्नु जरुरी छ । यस्तै, तराईतिर गर्मीयाममा टिनका छानामा विद्यार्थीले पढ्नै सक्दैनन् । ती क्षेत्रदेखि भवन राम्रो सुविधा सम्पन्न भवन निर्माण, तालिमप्राप्त शिक्षकको व्यवस्था हुनुपर्यो । एकातिर विद्यालयमा दरबन्दी नै पर्याप्त छैनन् । तराई मधेशका अलावा शहरी क्षेत्रमा विद्यार्थीको संख्याको आधारमा शिक्षक दरबन्दी हुनुपर्छ । पर्याप्त दरबन्दी, योग्य र दक्ष शिक्षक भएको खण्डमा शिक्षा क्षेत्र सुधार्न सकिन्छ । यसका लागि विद्यालयले लिनुपर्ने योजनाबारे छलफल गर्दै छौँ । तराई मधेशले पर्याप्त योजना बनाउँदै छन् । जतिखेर पञ्चायती व्यवस्था थियो त्यतिखेर सुगा रटाइ ‘प्यारोटिङ म्याथड’को बढी प्रभाव थियो अहिले विद्यालयमा चाइल्ड सेन्टर म्याथड चाहिन्छ । विद्यार्थीलाई बढी सक्रिय बनाइएको खण्डमा कमजोरभन्दा कमजोर विद्यार्थी पनि सिक्छन् । भनिन्छ नि, ‘देअर इज नो वान हु नोज नोथिङ’ । हरेक व्यक्तिले शिक्षा प्राप्त गर्ने अवसर पाउनुपर्छ । त्यसका लागि शिक्षा मन्त्रालयबाट हाम्रो पहल जारी छ ।
उपराष्ट्रपति बन्न सक्नुभएन, सान्त्वनास्वरूप शिक्षामन्त्री बन्नुभयो तर शिक्षामन्त्री अशोक राईले केही जिम्मेवारी दिनुभएको छैन भन्ने सुनिन्छ । वास्तविकता के हो ?
– चर्को स्वरमा हामी समानताको कुरा गर्छौं, तर व्यवहारमा उतार्न सकेका छैनौं । खै मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता ? संविधानले नै अनिवार्य व्यवस्था गरेको छ तर क्याबिनेटमा महिलामन्त्री दुई जना हुनुहुन्छ । तीन जना राज्यमन्त्री बनाइएको छ, महिलालाई मात्र किन राज्यमन्त्री बनाइनुपर्ने ? महिलालाई मतदाता, समाज, राष्ट्रले विश्वास गर्छ भने क्याबिनेट मन्त्री बनाउन किन सकिँदैन ? यो पुरुषको मात्र देश हो वा महिलाको पनि ? हाम्रो प्रश्न हो । राज्यमन्त्रीलाई कुनै अधिकार नदिने हो भने राज्यमन्त्री पद किन राखिएको ? क्याबिनेट मन्त्री मात्र राख्दा हुन्थ्यो । राज्यमन्त्री पद राख्ने हो भने अधिकार पनि दिनुपर्यो । मन्त्री, सचिवलाई बिहान ६ बजेदेखि राति १० बजेसम्म १ मिनेट फुर्सद हुँदैन भन्नुहुन्छ । राज्यमन्त्रीलाई कुनै काम/जिम्मेवारी छैन । मन्त्री र राज्यमन्त्रीबीच यस्तो भेदभाद, असमानताको खाडल किन ? यो असमानता कहिले हटाउन सक्छ ? बेरोजगार बनाएर राख्ने भए राज्यमन्त्री पद किन बनाइएको ? मन्त्रालयमा भएका निर्णय र कामकाज राज्यमन्त्रीलाई जानकारी हुनुपर्छ कि पर्दैन ? महिला सदैव अक्षम नै हुन्छन् ? महिलाको क्वालिटीलाई राज्यले मूल्यांकन गर्नुपर्छ कि पर्दैन ? राज्यमन्त्री साधारण पद होइन तर सरकारले यो पदको अपमान गर्दै छ । महिला पनि कुनै पुरुषभन्दा कम छैनौँ । जबसम्म महिलाले देशको विकासमा योगदान गर्दैनन् तबसम्म देशको विकास हुँदैन । पुरुषहरू महिलाभन्दा बढी लगनशील, मिहिनेती र इमान्दार हुन्छन् । नेपाल सरकारले जबसम्म महिलाको अनादर गर्छ तबसम्म मुलुकले कुनै हालतमा उन्नति, प्रगति गर्न सक्दैन ।
शिक्षामन्त्री अशोक राईले नै तपाईंलाई राज्यमन्त्रीका रूपमा पठाउन पार्टीमा आग्रह गरेको भन्ने सुनिन्थ्यो अहिले किन जिम्मेवारीविहीन बनाएर राख्नुपर्ने कारण के होला ?
– मलाई राज्यमन्त्री बनाएर पठाउनुअगाडि नै पार्टीले शिक्षा मन्त्रालय विशाल कार्यक्षेत्र भएको मन्त्रालय हो । त्यहाँ धेरै कामकाज छन् । मन्त्रीज्यूलाई एक्लै धेरै गाह्रो भइरहेको हुँदा तपार्इंलाई राज्यमन्त्रीका रूपमा पठाउन लागिएको छ भनिएको थियो । अझै शिक्षामन्त्रीज्यूले नै प्रमिलाजीले शिक्षा क्षेत्रको अनुभवी भएका कारण उहाँलाई राज्यमन्त्रीका रूपमा पठाउँदा मन्त्रालय चलाउन सहज हुन्छ, उहाँको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको हो । मन्त्रीज्यूले नै पार्टी अध्यक्षसँग रिक्वेस्ट गरेर तपाईंलाई यहाँ ल्याएका छौंं कामको चिन्ता नगर्नुहोस्, महत्वपूर्ण जिम्मेवारी दिन्छु भन्नुभएको थियो । मलाई जिम्मेवारी दिइएको छ, विज्ञान प्रविधितर्फको । केन्द्रमा नाष्ट, विधि विज्ञान प्रयोगशाला र बिपी प्लानेटोरियम हेछ यसले । न यसका कुनै ब्राञ्च प्रदेश र स्थानीय तहमा छ न जनतालाई सेवा दिने खालको बजेट छ न त जनताको सेवा गर्ने कुनै कामकाज नै ! मेरो विषयवस्तु शिक्षा क्षेत्र हो । एजुकेसन क्षेत्रको यस्तो कुनै ट्रम्स छैन, जो मलाई जानकारी नभएको होस् । विज्ञान प्रविधि जस्तै शिक्षा क्षेत्रमा जिम्मेवारी दिनुहोस् केही गरेर समाज, राष्ट्रलाई देखाउन चाहन्छु भनिरहेको छु । म पनि धेरै मिहिनेती र लगनशील महिला हुँ । त्यही लगनशीलताकै कारण आज यहाँसम्म आइपुगेको छु । मैले पनि बिहान ६ बजेदखि राति ८ बजेसम्म काम गर्ने इच्छा राखेको छु । मलाई काम दिनुहोस् म काम गर्न चाहन्छु भनिरहेको छु, पटक–पटक । आजसम्म लिखित जिम्मेवारी दिनुभएको छैन । म काम गर्नका लागि आएको छु । बसेर खान आएको होइन । मिहिनेती र इमान्दार भएर नियम–कानुनअनुसार काम गर्छु भन्दा जिम्मेवारी नपाउनु दुःखद कुरा हो । जब म राष्ट्रको तलब–भत्ता खान्छु भने राष्ट्रको सेवा गर्नु कर्तव्य÷धर्म हो ।
शिक्षा मन्त्रालयमातहत धेरै जिम्मेवारी छ । मन्त्री अशोक राईले जिम्मेवारीका सबै भारी आफैं किन बोक्न चाहनुभएको होला ?
– विशाल कार्यक्षेत्र भएको मन्त्रालय हो शिक्षा, विज्ञान तथा प्रविधि । स्कुल, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षा, चिकित्सा विज्ञान, शिक्षक आयोग यहीभित्र पर्छन् । शिक्षा क्षेत्रका हरेक सेक्टरको ज्ञान छ मसँग । मन्त्रीज्यूले जे गर्न सक्नुहुन्छ तीबाहेक बाँकी काम मलाई दिनुभएको खण्डमा मज्जाले गर्न सक्छु, चाहे स्कुल, कलेज होस् वा विश्वविद्यालय तहकै किन नहोस् । मन्त्रीज्यू सरल स्वभावको इमान्दार मान्छे हुनुहुन्छ । शुरुमा त म धेरै जिम्मेवारी दिन्छु भन्नुभएको थियो तर किन दिनुभएन, उहाँलाई नै सोध्नुपर्छ ।
तपाईंले खोज्नुभएको जिम्मेवारी पाउनुभएन भने के गर्नुहुन्छ ?
– मलाई मन्त्रीज्यूमाथि पूर्ण विश्वास छ । हाम्रो पार्टीको उहाँ शीर्ष नेता हुनुहुन्छ । असल स्वभावको हुनुहुन्छ । मैले पाउनुपर्ने अधिकार दिनुहुन्छ । अहिले म केही भन्न सक्दिनँ । उहाँ पनि म पनि देशकै हितका लागि यहाँ बसेको छु । मैले पाएको अधिकारबाट अवश्य देशको कल्याण हुन्छ ।
महिलालाई राज्यमन्त्री, ‘उप’मा मात्र थन्क्याइएको देखिन्छ । क्षमता नै नभएको कि क्षमताको अवमूल्यन भएको ?
– विश्वमा त्यस्तो कुनै काम छैन, जो महिलाले गर्न सक्दैनन् । हाम्रै देशभित्र प्रधानमन्त्रीको गृह, रक्षा मन्त्रालयदेखि मुख्यमन्त्रीसम्म सम्हाल्न सक्ने एक से एक महिला तयार भइसकेका छन् । अवसर नपाएर मात्र वञ्चित भएका हुन् । हामी महिलाले पनि मुख्य भूमिकामा अवसर लिन खोज्दै छौँ तर अवसर नपाएर हामी पछाडि परेका छौँ । यो देशलाई हाँक्ने क्षमता हामीसँग छ तर हामी अवसरबाट वञ्चित छौं ।
तपार्इंहरूकै पार्टी जसपाभित्र महिलाको अवस्था कस्तो छ ?
– जसपामा स्थानीय तहदेखि केन्द्रीय पदाधिकारीसम्म ११ देखि १२ प्रतिशत महिला छन् । विधान अधिवेशनले स्थानीय तहदेखि केन्द्रीय पदाधिकारीसम्म ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । विधानमा त्यो कुरा लेखिएपछि कार्यान्वयन हुनेछ ।
हालैको विधान अधिवेशनमा समाजवादीको केन्द्रीय कमिटी ४१५ बाट १५० मा झारिन खोजिएको छ । यसले त पार्टी नै टुटफुट हुन्छ भनिँदै छ नि ?
– हाम्रो पार्टीमा कुनै टुटफुट हुने छैन । नेता–कार्यकर्ताबीच सुमधुर सम्बन्ध । बाहिरी हल्लाको पछाडि हामी लाग्दैनौँ ।
गत निर्वाचनमा अन्तर्घात गरेको र उपेन्द्र यादवलाई हराउन भूमिका खेलेको आरोप लागेका १५८ जनालाई कारबाही गर्ने प्रक्रियाबाट अध्यक्ष उपेन्द्र यादव एकाएक किन ब्याक भएको ?
– प्रतिनिधिसभा, प्रदेश सभाको निर्वाचनमा अत्यधिक खर्च हुन्छ । उम्मेदवारले आफ्नो जग्गा बेचेर खर्च लगाएको हुन्छ । कसैसँग ५ लाख पनि हुँदैन । त्यतिबिघ्न मिहिनेत गरेर चुनाव लडेको हुन्छ । आफ्नै पार्टीका नेता–कार्यकर्ता हराउन लागिपर्छन्, असहयोग गर्छन् भने कसरी चुनाव जित्न सकिन्छ ? अनुशासनमा ल्याउन एउटा छानबिन समिति गठन भएको हो । पार्टीले कसैमाथि मर्का पर्ने गरी कारबाही गरेको छैन । सचेतसम्म गराइएको हो । आफ्नो नेता–कार्यकर्तालाई हराउने गरी कुनै क्रियाकलाप नगर्नुहोला भनेर नसिहत मात्र दिइएको हो । त्यसबाट कसैलाई हानि नोक्सानी हुँदैन । नेता कार्यकर्ताको व्यवहारमा सुधार आउँछ ।
मधेशमा महिला राजनीतिकर्मीको अवस्था कस्तो छ ?
– कुनै समय घुङ्घटमा छोपिएर बस्थे । जब मधेश आन्दोलन भयो तबदेखि हजारौँ महिला कोठाबाट बाहिर आएका छन् । विभिन्न गोष्टी, तालिममा भाग लिएर विभिन्न पदमा पुगेका छन् । नत्र राजनीतिको नाममा बाहिर निस्कने चलन नै थिएन । राजनीतिबाट धेरै महिला लाभान्वित भएका छन् । मधेशी पुरुषहरू नै राजनीतिमा पछि परेको अवस्थामा मधेशी महिला पछि नपर्ने कुरै भएन । यद्यपि, मधेश आन्दोलनले त्यहाँका महिला राजनीतिक रूपमा जागरुक भएका छन् ।
मधेशमा जनमत, रेशम चौधरीको भविष्य ? ती पार्टी कति चुनौतीपूर्ण देख्नुहुन्छ ?
– यी दुबै पार्टी देशको हितकै लागि खुलेका होलान् । रेशम चौधरीले राम्रै गर्न खोज्नुभएको छ । जनमत पार्टीका सिके राउत पढे, लेख्या बुद्धिजीवी तर उहाँलाई के सल्लाह दिन चाहन्छु भने राजनीतिमा विवेक प्रयोग गर्नु जरुरी छ । कसैको लहैलहैमा लागेर कसैको कुरा सुनेर आफू जति अनुभवी भए पनि अरुको कुरा सुनेर कसैसँग नराम्रो व्यवहार गर्नु, अरु पार्टीलाई गाली गर्नु अरु पार्टीको नेताको मजाक बनाउनु राम्रो कुरा होइन । हामी जति मधेशमा छौं । मधेशी लिडरबीच सुमधुर सम्बन्ध हुनुपर्छ । जति सुमधुर सम्बन्ध भयो त्यति नै छिटो मधेशको उत्थान र विकास हुन्छ । मधेशको विकास भएको खण्डमा नेपालको एउटा भागको विकास हुन्छ । यी राष्ट्रिय नेता मधेशसहित देशको विकास गर्नुपर्छ । गठबन्धनबीच सुमधुर सम्बन्ध नभएको हुँदो हो त सरकार बनाउन सक्थे ? पार्टी कुनै खराब हुँदैन, व्यक्ति खराब हुन्छन् । एजेण्डा सबैको देशको हितमा केन्द्रित छ ।