दलितले छोएको पानी नखाने जनप्रतिनिधिमाथि कारबाही माग

दलितले छोएको पानी नखाने जनप्रतिनिधिमाथि कारबाही माग

दलित समुदायको अपमान गरेको आरोप लागेकी बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले माग गरेको छ । 

गत जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा उनले ‘आफू ठकुरीको छोरी भएकाले दलितको हातको पानी खान्न’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले कारबाहीको माग गरेको हो । उपमेयर चन्दले सिंगो दलित समुदायको अपमान गरेको आयोगको ठहर छ । 

आयोगले आज जारी गरेको विज्ञप्तिमा उपमेयर चन्दले गरेको विभेदजन्य व्यवहारप्रति आयोग र सिंगो दलित समुदाय दुखित भएको र सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । 

२१ औं शताब्दीमा विज्ञान र प्रविधिले मानव सभ्यता उच्च बिन्दुमा पुगिरहँदा जनताबाटै अनुमोदित जनप्रतिनिधबाटै पटक पटक यस्तो भेदभावजन्य घृणित कार्य हुन लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै ठाडो उपहास भएको आयोगको ठहर छ । 

आयोगले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय छुवाछुत र भेदभावजन्य क्रियाकलापहरु निजी र सार्वजनिक स्थानमा कुनै पनि बहानामा गर्न निषेध गरेको र दण्डनीय सामाजिक अपराध करार रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिप्पणीहरू