सिधा कुरालाई कारबाही गर्न अख्तियारको माग

सिधा कुरालाई कारबाही गर्न अख्तियारको माग
सुन्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधा कुरा डटकमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै कारवाहीको माग गरेको छ । 

सिधा कुराले अस्ति ‘भ्रष्टाचारका चाय सय मुद्दा ढिसमिस गर्न सर्वोच्च अदालतका न्यायाधीशसहित डिल’ शीर्षकमा समाचार प्रशारण गरेको थियो । समाचारमा आफूलाई समेत मुछिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले भ्रामक सामग्री प्रशारण गर्नेमाथि छानबिन गरी कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।  

आज विज्ञप्ति सार्वजनिक गर्दै आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा संविधान र प्रचलित कानूनबमोजिम अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्दै आएको उल्लेख गर्दै यसबाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न नहुने प्रष्टाएको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निक्र्यौल भइसकेको फैसला अनुरुपको काम कारबाही अवलम्बन गर्ने एवं आफ्नो अधिकारक्षेत्र भित्रको उजुरी उपर अनुसन्धान एवं अभियोजन गर्नु बाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने हुँदा यस्ता भ्रामक क्रियाकलापमा आयोगको कुनै संलग्नता नरहेको व्यहोरा जानकारी गराइन्छ ।’

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगायत प्रचलित अन्य कानून बमोजिम अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानून बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्दै आएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
 

टिप्पणीहरू