बानेश्वरमा सहमतिको प्रयास जारी, रविपछि आफ्ना सांसदले बोल्न पाउनुपर्ने काँग्रेसको माग
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक पाँच घण्टा पछाडि सारिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनवार्ता भएको र प्रधानमन्त्रीले काँग्रेससँग सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएपछि बैठक पछि सारिएको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै काँग्रेसले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । समिति गठन नभएसम्म बैठक अवरुद्ध पार्ने रणनीतिमा काँग्रेस देखिन्छ ।
यता प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण बनाउन लाग्नुभएको बताइन्छ । सभामुख घिमिरेले बिहानदेखि कानुन मन्त्रीसहित प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।
काँग्रेस सांसद रामहरी खतिवडाले आजको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिन आफूहरु तयार भएको बताएका छन् । तर गृहमन्त्रीले बोलेपछि आफ्ना सांसदहरुले बोल्न पाउनुपर्ने उनको भनाइ छ ।
टिप्पणीहरू