लण्डनमा नेपालीले कसे नेपालीलाई

लण्डनमा नेपालीले कसे नेपालीलाई
सुन्नुहोस्

जागिर र कोठाको तनाव त छँदै छ, लण्डनमा नेपाली विद्यार्थी र कामदारले अर्को सास्ती पनि खेपिरहेका छन् नेपालीकै कारण । सिंगल रुमलाई ५ सय पाउण्ड र डबललाई ८ सय पाउण्ड बढी भन्ने, शुरुमा एक महिनाको डिपोजिट माग्ने अनि कोठा छोड्नुपर्ने बाध्यता आएमा राखेको डिपोजिट नै अनेक बहानामा खाइदिने । लण्डन एजवेयरका दामोदर पनेरु र अर्धाङ्गिनी चम्पाले डेरा सर्नुअगाडि राखेको डिपोजिट नै खाइदिएपछि एक पीडित युवती अहिले न्यायको खोजीमा छन् । 

‘पहिला सर्नुअगाडि डिपोजिट राख्नु, रुम विस्तारै सर्दा हुन्छ भनियो । अहिले कामको नजिक सस्तो रुम पाएर सर्न लाग्दा अनेक बखेडा झिकेर ५५० पाउण्ड दिन्न भन्छन्,’ ती युवतीले गुनासो गरिन्, ‘नसरे पनि डिपोजिट दिएको डेटबाटै रेन्ट शुरु हुन्छ र बाँकी नोटिस थोरै भएकोमा काटिन्छ भनेर उम्कन खोज्दैछन् ।’

शुरुमा चम्पाले ‘मेरो सानी छोरी पनि छ । तपाईं एक्लो मान्छे मिलाएर आउनु । अहिले डिपोजिट दिइराखे पक्का हुन्छ’ भनेर फकाएको तर अहिले उल्टो कुरा गरेको ती युवतीले बताइन् । कोठा सर्नुअगाडि ‘टिनेन्सी एग्रिमेन्ट’ गर्नुपर्ने बेलायती कानुनविपरीत कुनै सम्झौता नगर्ने तर अहिले पति दामोदरले कानुनको ठूलो कुरा गरेर पैसा खान खोजेको बताइएको छ । ‘जसलाई भन्ने हो भन, पत्रकारलाई कल गर्न लगाए हुन्छ । अब म्यासेज नगर भनेर उल्टो धम्क्याएको छ,’ ती पीडितले सुनाइन् । लण्डनमा नेपालीले नेपालीसँग कोठा भाडामा कस्ने क्रम अचेल खुबै बढेको छ । पनेरु दम्पती त प्रतिनिधि पात्र मात्र हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू