देवी ज्ञवाली फेरि त्यता फर्कंदै

देवी ज्ञवाली फेरि त्यता फर्कंदै
सुन्नुहोस्

भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई सचिव गोकर्णमणि दुवाडीले असहयोग गरेको कुराले मन्त्रालयभित्र चर्चा पाएको छ ।

कांग्रेसको पालामा बनेको भूमि आयोग खारेज गरी सरकारले फेरि चितवनका देवी ज्ञवालीलाई त्यहाँ ल्याउने तयारी चल्दै छ । सोही आयोग गठन प्रक्रियामा गोकर्णहरूले असहयोग गरेको मन्त्री अधिकारीनिकट स्रोतले जनाएको छ । 

यता, गोकर्णले सर्वेक्षक पदमा कार्यरत भाञ्जा आनन्द बुर्लाकोटीलाई ल्याएर आफ्नो ‘कोर टिम’ (सचिवालयमा) राखेका छन् । टोखा नापी कार्यालयमा दरबन्दी भएका आनन्द वर्ष दिनभन्दा बढी समयदेखि काजमा सचिवको सचिवालयमा छन् । निजामती सेवा नियमावलीअनुसार कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा बढी काजमा राख्न मिल्दैन ।

तर,मधेश प्रदेशको सचिव हुँदा साइकल काण्डमा जोडिएका भए पनि यामलाल भुसाललाई मात्र डामेर उन्मुक्ति पाएका गोकर्ण निर्वाचन आयोग हुँदै भूमिमा आइपुगेका हुन् । यसअघि काठमाडौं, भक्तपुर, ललितपुरलगायत बढी कारोवार हुने नापी प्रमुखहरू सरुवा गर्दा होस् वा अहिले विभिन्न निकायबाट सरुवा भएर आइपुगेका कर्मचारीहरूको पदस्थापनमा समेत राम्रै चलखेल भएको एकथरी कर्मचारीको आरोप छ ।  

सचिव गोकर्णका देब्रे हातचाहिँ सहसचिव गणेशप्रसाद भट्ट हुन् । भूमि व्यवस्थापन महाशाखाबाट उठ्नुपर्ने जग्गा हदबन्दीको फाइल समेत कुमार दाहालले हस्ताक्षर गर्न नमानेपछि योजना, अनुगमन तथा मूल्यांकन महाशाखा हेर्दै आएका यिनै भट्टलाई अगाडि सारेर अगाडि बढाइएको भए पनि कानुनमा पुगेर रोकिएको छ । यता गोकर्णका अर्काे हात उपसचिव रोशनशंकर घिमिरे विभागमा छन् ।

चाहे अव्यवस्थित बसोबासीलाई ५० प्रतिशत राजश्व छुट दिएर जग्गा वितरण प्रक्रिया अगाडि बढाउँदा होस् वा भूमाफियालाई पोस्ने गरेर जग्गाको हदबन्दी प्रक्रिया अगाडि बढाउँदा होस् गोकर्णको प्रभावमा परेको केही कर्मचारीको गुनासो छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू