हरिनगर काण्डमा कसको के हात ?

हरिनगर काण्डमा कसको के हात ?
सुन्नुहोस्

सुनसरीको हरिनगरमा दुई धार्मिक सम्प्रदायबीच भएको हिंसात्मक झडपबारे सूचना संकलन भए पनि सुरक्षा निकाय हिंसात्मक प्रदर्शन रोक्न अक्षम देखिएका छन् । यसको मुख्य कारण समयमै राष्ट्रिय अनुसन्धानले रिपोर्ट नदिएको आरोप लगाइएको छ भने अर्कोतर्फ अन्य सुरक्षा निकाय हिंसात्मक प्रदर्शन र यसले पार्न सक्ने असरबारे गम्भीर नभएको भनिएको छ ।

हरिनगरमा यसअघि पनि हिन्दू तथा मुस्लिम अतिवादीबीच बेलाबेला झडप हुँदै आएको छ । पछिल्लो घटनाको आगो भने सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम धर्मग्रन्थ कुरानविपरीत स्टाटस राखेको निहुँमा सल्किएको हो । यी दुई समूहबीचको झगडामा कसैको ज्यान नगए पनि दर्जन बढी घाइते भएका छन् भने एक अर्काविरुद्ध प्रदर्शन जारी छ । 

घटना विवरणअनुसार स्थानीय जीवन मेहता एसएलसीमा सामेल बहिनीको परीक्षा सकिएपछि लिन गएका थिए । त्यसबेला गाउँपालिका अध्यक्ष गफार अन्सारीका छोराको नेतृत्वमा रहेको एक समूहले फेसबुकमा मुस्लिम धर्मग्रन्थ कुरानविपरीतको स्टाटस राखेको भन्दै उनलाई कुटपिट गरेको बताइन्छ । भोलिपल्ट कुटपिटको विषयलाई लिएर हिन्दूधर्मका कट्टर समर्थकको करिब चार सय जनाको जमात लाठी, भाला, तरवारलगायत घरेलुसहित हरिनगरतर्फ प्रदर्शन गर्न गएको थियो । यसैबीच, सुनसरीका कामु सिडिओ वेदराज फुयाँलले सुरक्षा निकायलाई समन्वय गर्दै प्रभावकारी परिचालन नगर्दा यस्तो समस्या आएको बताइन्छ ।

अतिवादी हिन्दूहरू भेला भई मुस्लिम बहुल इलाकामा घरेलु हतियारसहित उत्रँदा पनि सुरक्षा निकाय बेलैमा रोक्न असफल हुनु र स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु ज्यादै फितलो देखिनुले पनि तनावपूर्ण अवस्था कायम रहेको बताइन्छ । प्रहरीले प्रदर्शनकारी जमातलाई तितरवितर गर्न अश्रुग्यास तथा लाठीचार्ज गर्नुका साथै कफ्र्यु आदेश जारी गरेको थियो । तापनि, कफ्र्युबीच समयमा दुवै पक्ष एक अर्काविरुद्ध जाइलागेका थिए । यो घटनालाई सुरक्षाकर्मीको गम्भीर लापरवाहीको रूपमा लिइएको छ । 

घटनाले हिन्दू कट्टरपन्थी अझ आक्रोशित बन्दै इनरुवा, इटहरी र विराटनगरमा प्रदर्शनमा ओर्लिए । यसैबीच, अमेरिका भ्रमणमा रहेका सिडिओ जयनारायण आचार्य हप्ता दिनमा फर्किएर आए भने तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वदलीय बैठक बोलाए । सो बैठकले ठोस निर्णय लिन सकेन । बैठकमै दुवै पक्षले एकअर्कामाथि घटनालाई धार्मिक रंग दिई भड्काउन खोजेको आरोप लगाएको बताइन्छ । यसैबीच, शुक्रबारका दिन हाटमा बेच्न राखेको एक व्यक्तिको माछा केही व्यक्तिले मिल्काएपछि पुनः दुवै पक्षबीच तनावपूर्ण अवस्था कायम रहेको देखिएको छ । दुवै पक्षले घटनामा संलग्न भनिएका व्यक्तिलाई तत्कालै पक्राउ गर्नुपर्ने माग स्थानीय प्रशासनसमक्ष राखेको छ ।

प्रदर्शन र झडपका निम्ति एकातर्फ विश्व हिन्दू परिषद् र हिन्दू सम्राट् सेनाजस्ता संघसंस्थामा संलग्न धार्मिक व्यक्तिको संलग्नता देखिएको छ भने अर्कोतर्फ हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको मुख्य भूमिका रहेको बताइन्छ । अध्यक्ष अन्सारी यस क्षेत्रका सर्वेसर्वा मानिन्छन् । उनी जनताको सेवादेखि बोर्डरमा माल सामग्री ओसारपसार गर्ने, ठेक्कापट्टा र दलाली गर्ने, भुसतिघ्रे डन र गुण्डा परिचालन गर्नमा सक्षम रहेको बताइन्छ । नेपाली कांग्रेसबाट चुनाव जितेका अन्सारीले राजनीतिक रूपमा पनि राम्रै पहिचान बनाएका छन् । उनकै नेतृत्वमा केही कट्टरपन्थी मुस्लिम समुदायका हुल्लडवाजहरू यो घटनामा संलग्न भएको आरोप लगाइएको छ ।

भनिन्छ, सो क्षेत्रको प्रशासन नै अन्सारीको घरबाट सञ्चालन हुने गरेको छ । घटनामा अन्सारीको छोराविरुद्ध हिन्दू कट्टरपन्थीहरूले किटानी जाहेरी दिएका छन् । उनलाई पक्राउ गर्नुपर्ने माग राखिएको छ । तर, सुनसरी नै घर भएका एसपी विपिन रेग्मीको उदासीनताले गर्दा दुवै पक्षका अतिवादी खुलेयाम मान्छे उफार्दै घटनालाई उत्तेजित बनाउँदै हिँडेको बताइन्छ ।

घटनाको मुख्य पीडित मेहता भने धरानस्थित बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचाररत छन् । सो घटनालाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अलिक बढी ज्यादति गरेको आरोप पनि लगाइएको छ । उनीहरूले अश्रुग्यास बढी प्रयोग गरेको र लाठी भाँचेको आरोप छ । अर्काथरीले भने सशस्त्र प्रहरीको कारबाहीले रक्तपात हुने अवस्थाबाट जोगाएको बताएका छन् । 

अहिले यो प्रकरण सामान्य बन्दै गएको देखिए पनि सो क्षेत्रमा कुनै बेला पनि सानो घटनाले ठूलो धार्मिक दंगा हुन सक्ने अवस्था रहेको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू