वर्ष २०८० : यी हुन् बढी 'भ्युज' पाउने शीर्ष पाँच गीत

वर्ष २०८० : यी हुन् बढी 'भ्युज' पाउने शीर्ष पाँच गीत
सुन्नुहोस्

डिजिटल प्ल्याटर्फमको विकासले अहिले गीत-संगीतको क्षेत्र फराकिलो बन्दै गएको छ । आफ्नै हातको मोबाइलबाट चाहेको गीत सुन्न पाउने सुविधाले सांगीतिक क्षेत्र फराकिलो भएको हो । 

खासगरी यूटुबले आम तहमा संगीतको पहुँच बिस्तार गरिदिएको छ । प्रविधिको विकाससँगै बदलिएको सांगीतिक क्षेत्र यो वर्ष कस्तो रह्यो ? कुन-कुन गीत सर्वाधिक हिट भए ? शीर्ष पाँच गीतको चर्चा गरौँ :

यो वर्षको सर्वाधिक हिट गीतको सूचीमा 'अरेली काँडैले मलाई च्वास्सै' अगाडि छ । गायिका शान्ति श्री परियारको स्वर रहेको यस गीतले अहिलेसम्म ६ करोड ९६ लाख २७ हजार भ्युज पाएको छ । 

करिब ७ महिनाअघि गायिका परियारकै यूटुब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो । गीतमा प्रकाश सपुत र अञ्जली अधिकारीले मोडलिङ गरेका छन् । 

गायिका परियारले यस वर्ष सार्वजनिक गरेको 'तिमी र म जाम माया' बोलको अर्को गीतले पनि करोड क्लबमा प्रवेश पाएको छ । अहिलेसम्म एक करोड ५० लाख भ्युज पाएको गीतमा पल शाह र रेनुका खड्का फिचर्स छन् । 

यो वर्ष सार्वधिक हिट भएको दोश्रो गीत हो, 'बादल वर्षा बिजुली' । आनान्द कार्की र प्रश्ना शाक्यको स्वर रहेको यो गीत करिब ८ महिनाअघि गायक कार्कीकै यूटुब च्यानलबाट सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म गीतले चार करोड ८९ लाख ७७ हजार भ्युज पाएको छ । 

त्यसो त यो गीत पुरानो गीतको नयाँ भर्सन हो । 'कर्तव्य' चलचित्रमा समावेश रहेको गीत गत वर्ष टिकटकमा भाइरल भएको थियो । त्यसलगत्तै गायक कार्कीले नयाँ भर्सन बजारमा ल्याएका हुन् । पुरानो गीतमा दिलिप रायमाझी र सज्जा मैनाली फिचर्स छन् भने नयाँमा भिजु पार्की र कविता नेपालीको मोडलिङ छ । 

हिट गीतहरुको तेस्रो नम्बरमा 'सारंगी' छ । युवा पुस्ताका चर्चित गायक शुशान्त केसीले करिब नौ महिनाअघि गीत सार्वजनिक गरेका थिए । गीतले अहिलेसम्म चार करोड ५७ लाख ५२ हजार भ्युज पाएको छ । 

यद्यपि, गायक केसीको करोड क्लबमा प्रवेश गर्ने यो पहिलो गीत भने होइन । यसअघि पनि उनका 'रिसाउने भए', 'साथी', 'बेहोस', 'गुलाबी', 'मुस्कुराएर', 'सताएर', 'मायामा' लगायतका गीतले करोड क्लबमा प्रवेश पाइसकेका छन् । 

रोचक त के छ भने, गायक केसीले 'सांरगी' पछि तीनवटा गीत सार्वजनिक गरिसकेका छन् । ती मध्ये 'झ्यालबाट' बोलको गीतले एक करोड ६० लाख र 'पर्खन' बोलको गीतले एक करोड ४० लाख भ्युज पाएको देखिन्छ । 

जेहोस्, उनको यस वर्ष चार वटा गीत सार्वजनिक भए । ती मध्ये तीन गीतले उनलाई सफल बनायो । यसवर्षको हिट गीतको सूचीमा परेको 'सारंगी'मा भने गायक केसी र प्रेमीका आना शर्मा फिचर्स छन् । 

चार नम्बरमा छ, गायक प्रकाश दुतराजको 'रिमै' । करिब पाँच महिनाअघि सार्वजनिक भएको यो गीतले तीन करोड ७८ लाख भ्युज पाएको छ । यसमा गायक दुतराज र गायिका मेलिना राईले स्वर दिएका छन् । 

गीतको भिडियोमा गायक दुतराजलाई केपिना गोतामेले साथ दिएकी छन् । 

यद्यपि, गायक दुतराजका अन्य गीतहरु पनि दर्शकस्रोताले राम्रो रुचाएको पाइन्छ । उनको 'घर कता हो बैनीको', 'जाम भो माइली' र 'जुन माया' बोलको गीतले पनि करोड क्लबमा प्रवेश गरिसकेका छन् । 

पाँच नम्बरमा छ, 'भिखारी' । उदयमान गायक ओसिस थापाको लागि पनि यो वर्ष सुखद रहेको देखिन्छ । करिब १० महिनाअघि सार्वजनिक भएको उनको 'भिखारी' गीतले अहिलेसम्म तीन करोड ४० लाख भ्युज पाएको छ । 

यस गीतमा आकाश नेपाली र सरिता कठायत फिचर्स छन् । यसअघि गायक थापाको अपरिचित भावना र जुनी भरीलाई गीतलाई पनि दर्शकले रुचाएको पाइन्छ । 

यीबाहेक अन्य दर्जनौँ गीतले पनि यस वर्ष राम्रो प्रतिक्रिया पाए । गायक सुजन चापागाँइको 'फूलथुंगे रानी'ले तीन करोड १० लाख भ्युज पाएको छ । त्यस्तै, एलिना चौहानको 'कट्टा हान्दिन्छु' बोलको गीतले पनि राम्रो चर्चा पायो । यो गीतले अहिलेसम्म दुई करोड १० लाख भ्युज पाएको छ । यद्यपि, यसको भ्युज तिव्र रुपमा बढिरहेको छ ।

त्यस्तै, गायक उगर्ने दोङको 'सैया' बोलको गीतले दुई करोड १० लाख भ्युज पाएको छ । अर्का गायक सज्जनराज वैद्यको 'सुन कान्छी' गीतले पनि एक करोड ८० लाख भ्युज पाएको छ ।
 

टिप्पणीहरू