'डिग्री माइला' र 'दी रेड सुटकेस' एकैसाथ हलमा

'डिग्री माइला' र 'दी रेड सुटकेस' एकैसाथ हलमा

यस वर्षको आज अन्तिम दिन दुई चलचित्र रिलिज भएका छन् । चलचित्र 'डिग्री माइला: एमए थर्ड क्लास' र 'दी रेड सुटकेस' एकैसाथ रिलिज भएका हुन्। 

'डिग्री माइला'को हिजो प्रिमियर गरिएको थियो । विग मूभिजमा आयोजना गरिएको प्रिमियरमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र कलाकारहरुको सहभागिता थियो ।

नेकपा एमालेका सासंद रघुजी पन्तले चलचत्रिले मनोरञ्जनसँगै राम्रो सन्देश दिएको बताए । उनले भने, 'शैक्षिक संस्थामा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ ।'

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । यसले देशभर करिब एक सय ६० शो पाएको बताइन्छ । 

त्यस्तै, चलचित्र 'दी रेड सुटकेस'ले पनि प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । गत मंगलबार यसको प्रिमियर गरिएको थियो । एमाले सांसद रघुजी पन्तले यो चलचित्र अहिलेसम्म हेरेको नेपाली फिल्मभन्दा पृथक रहेको बताए । 

फिडेल देवकोटाले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, प्रविण खतिवडा, विपिन काकी र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । 

यो चलचित्रको डिजिटल राइट्स हलिउडको प्रतिष्ठित ओटीटी 'एचबिओ'ले किकिसकेको छ । 'एचबिओ'ले नेपालबाट किनेको यो पहिलो चलचित्र हो । यसले नेपालभर ६० भन्दा बढी शो पाएको बताइन्छ । 

त्यसो त, 'डिग्री माइला' सोसल ड्रामा जनरामा बनेको चलचित्र हो भने 'दी रेड सुटकेस' सस्पेन्स रियालिज्म जनरामा बनेको चलचित्र हो । दर्शकले कुन चलचित्रलाई औधी रुचाउछन्, त्यो भने केही दिनमा थाहा हुनेछ ।

 

टिप्पणीहरू