मन्त्रीले सोधेको पत्र,डस्टबिनमा अलपत्र

मन्त्रीले सोधेको पत्र,डस्टबिनमा अलपत्र

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा मन्त्रालयले सोधेको स्पष्टीकरणको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले के भनेर बुझाए र त्यसबाट सोध्नेको चित्त बुझ्यो कि बुझेन हालसम्म खुलेको छैन । मन्त्री असारमै स्पष्टीकरण सोध्न उध्यत तर महानिर्देशक जवाफ दिन तयार नभएपछि उनीहरुबीचको सम्बन्ध हार्दिकतापूर्ण नरहेको स्वतः अनुमान लगाइएको थियो । 

प्राधिकरण प्रमुखलाई मुलुकभरका विमानस्थलहरुको व्यवस्थापन कमजोरीमा प्रमुख दोषी ठहर गर्दै मन्त्रीले स्पष्टीकरण सोधेका थिए । पत्रमा सन्तोषजनक जवाफ नपाएमा महानिर्देशक पदबाट बर्खास्त गर्ने आशय थियो । 

तर जवाफपछि बर्खास्तीको तयारी गरिरहेका मन्त्रीसमक्ष लिखित स्पष्टीकरण पत्रको जवाफ के गयो र कार्वाही किन रोकियो प्रष्ट छैन । मन्त्री आफूविरुध्द एकपछि अर्को विषयमा लागेको थाहा पाएपछि अधिकारी बूढानीलकण्ठका महिला हर्ताकर्ताहरुको चाकडीमा धाएका थिए । 

मन्त्रालयको चलानी किताबमा महानिर्देशकलाई लिखितरुपमा सरकारी रेकर्ड रहनेगरी स्पष्टीकरण सोधनी भएको देखिन्छ । अर्कोतर्फ प्राधिकरणको दर्ता किताबमा पनि उक्त पत्र दर्ता भएको छ । यस्तो अवस्थामा न महानिर्देशकको राजीनामा आएको छ, न मन्त्रालय र प्राधिकरणको चलानी तथा दर्ता किताबमा लेखिएको स्पष्टीकरणको व्यवहोरा नै हटाइएको छ । यसको जिम्मेवारी कसले लिने,मन्त्रालयका सचिव र सहसचिव दङ्ग परेको अवस्था छ ।

टिप्पणीहरू