पार्टी सदस्यता खोसिएपछि विद्या भण्डारीको पहिलो सार्वजनिक सम्बोधन

पार्टी सदस्यता खोसिएपछि विद्या भण्डारीको पहिलो सार्वजनिक सम्बोधन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै मौलिकतासहितको समृद्धि र विकासको अवधारणामा जोड दिनुपर्ने बताउनुभएको छ । 

नेपाल खबरको ‘राइजिङ नेपाल समिट’ उद्धघाटन सत्रलाई सम्बोधन गर्दै उहाँले मुठ्ठीभरका लागि मात्रै ल्याएको समृद्धिले देशको भलो नगर्ने धारणा राख्नुभयो । दुई छिमेकी चीन र भारतले हासिल गरेका उपलब्धिको अभ्यासबाट स्वदेशी लगानीकर्ताले ठूलो पाठ सिक्न सक्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ ।

‘दुई देशले हासिल गरेका समृद्धि र विकास, त्यहाँको अभ्यासबाट पनि लगानीकर्ताले धेरै कुराहरु सिक्न सक्छन्, तर हाम्रो समाजको अपनत्व झल्किने कुरालाई भने विर्सनु हुँदैन’, उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक उन्नतीको लागि स्वदेशी पुँजी, श्रम र प्रविधिको प्रयोगमा जोड दिनुपर्छ, खासगरी युवाहरुको चाहना र दक्षतालाई पहिचान गरेर अवसर सिर्जना गर्ने हो भने विदेश पलायन क्रमश: कम हुने थियो ।’

एमालेले पार्टी सदस्यता खोसेपछि पहिलो पटक सार्वजनिक मञ्चमा उभिनुभएकी भण्डारीले स्थानीय उत्पादनलाई अपेक्षित रुपमा अन्तराष्ट्रियस्तरमा पुर्याउन नसकिएकाेमा चिन्तासमेत व्यक्त गर्नुभएको छ । ढाका टोपी, खुकुरी, मूर्तीजस्ता स्थानीय उत्पादनलाई अन्तराष्ट्रियस्तरमा ब्रान्डिङ गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘हाम्रो पहिचानको रुपमा रहेका पूर्वेली ढाका, पाल्पाली ढाका, भोजपुरे खुकुरी, पाटनमा बनाइने मूर्तीलगायतका स्थानीय उत्पादनलाई अन्तराष्ट्रियस्तर ब्रान्डिङ गर्न सकियो भने त्यसले विदेशी लगानीकर्तालाई सकारात्मक प्रभाव पार्छ’, उहाँले थप्नुभयाे । 

जनताले अपेक्षा गरेको समृद्धि आर्थिक सूचांकले मात्र निर्धारण नहुने पनि भण्डारीले स्पष्ट पार्नुभयो । अघि भन्नुभयो, ‘समग्रमा हामीले जुन समृद्धि र विकासको कुरा गछौँ, त्यसको मुख्य आधार भनेको राजनीतिक स्थायीत्व नै हो, मृठ्ठीभरका मानिसको मात्र ल्याएको समृद्धिले मुलुकको हित गर्दैन, जनतालाई केन्द्रविन्दुमा राख्नुपर्छ, संविधानप्रतिको प्रतिबद्धतामा जिम्मेवार हुनुपर्छ ।’ 

पूर्व राष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न उहाँको अपिल छ । 

समृद्धि अब सपना नभइ संकल्प बन्नुपर्ने बताउनु भयो । विश्वभर छरिएका नेपालीका बीचमा नेपालका उत्पादनलाई बजारीकरणको योजना बनाउनुपर्ने बताउनु भयो । युवा उद्यमशिलता प्रवद्र्धनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको बताउनु भयो ।

टिप्पणीहरू