टोपबहादुर र जनार्दनको जेलमा साउती,१८ गते पेशी

टोपबहादुर र जनार्दनको जेलमा साउती,१८ गते पेशी

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेल जीवन बिताइरहेका पुराना सहकर्मी टोपबहादुर रायमाझीसँग भेटघाट गरेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई भेट्न शर्मा आज बिहान केन्द्रीय कारागार, जगन्नाथदेवल पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ । 

भेटमा टोपबहादुरका सहयोगी लीला जिसी पनि सहभागी थिए । जनार्दनले रायमाझीको मुद्दाबारे चासो राखेको र समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको कारागार स्रोतले जनाएको छ । 

जनार्दनले ‘यो मुद्दा छिट्टै किनारा लाग्नुपर्ने हाे,तर तपाईंमाथि प्रतिशोध साँधिएको जस्तो लाग्छ’ भन्दै सहानुभूति दिएको बुझिएको छ । टोपबहादुर नक्कली भुटानी शरणार्थी प्रकरणमा ०८० बैशाख ३१ गते पक्राउ परेका थिए । 

०८० असार १ गते काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यो काण्डमा प्रत्यक्ष संलग्न रहेको भनिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भैसकेका छन् । आगामी कात्तिकमा हुने रुपन्देही-३ को उपचुनावमा उनी कांग्रेसबाट उम्मेदवार हुने चर्चा छ । 

टोपबहादुरको मुद्दा साउन १८ गते आइतबारका लागि पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा त्यसदिन प्रतिवादीहरूको बकपत्र गराइने छ र छिट्टै मुद्दाको फैसला हुने सम्भावना छ ।

टिप्पणीहरू