पेज नम्बर ३२ सम्झाउँदै अध्यक्ष ओलीलाई च्यासलबाटै चुनौती
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीका शीर्ष नेताहरुलाई विधानको ३२ नम्बर पेज स्मरण गराउँदै अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।
पोलिटब्युरो बैठकको लागि च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका उनले हिजोको सचिवालय बैठकको निर्णयबारे सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दुई-चार जनाको निर्णयलाई जबज (जनताको बहुदलीय जनवाद)ले स्वीकार नगर्ने स्पष्ट पारे ।
पार्टीको सातौँ महाधिवेशनमा भद्रगोल देखिएपछि आठौँ महाधिवेशनअघि केपी ओली नेतृत्वकै कार्यदलले उमेर हद र दुई कार्यकालको मस्यौदा बनाएको उनले बताएका छन् ।
‘एउटै व्यक्तिले लामो समय नेतृत्व गर्दा पार्टी अस्वस्थ हुने निष्कर्षसहित उहाँ (ओली) आफैँले बनाएको त्यो मस्यौदा त्यतिबेलाको सचिवालय, केन्द्रीय कमिटी हुँदै नवौँ महाधिवेशनसम्म आएको हो’, थापाले भने,‘त्यो फेरि केन्द्रको लागि मात्रै होइन, प्रदेश र जिल्लामा रहेका तल्ला कमिटीको लागि पनि हो, त्यहाँ सबै ठाउँ लागू भइसक्यो, यस्तो अवस्थामा अब केन्द्रमा लागू गरेर राम्रो सन्देश दिने पो हो त ! पेज नम्बर ३२ मा छ त स्पष्ट !’
नेता थापाले महासचिव शंकर पोखरेलले पदीय दुरुपयोग गरेको दाबीसमेत गरे । सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउनेगरी संशोधनको प्रस्ताव पारित गरेपछि पोखरेलले ‘नेतृत्व सुनिश्चित‘’ भइसकेको बताएका थिए । पोखरेलको उक्त अभिव्यक्तिले महासचिव पदको दुरुपयोग गरेको थापाको तर्क छ ।
‘महासचिवज्यूले पदको दुरुपयोग गर्नुभयो । उहाँ त पार्टीको संस्था हो नि, संस्था भएर एउटा व्यक्तिको लागि मात्र केन्द्रीत हुन पाइन्छ र ? उहाँको भनाइ गलत छ । दुई चार जना बसेर गरेको निर्णयलाई जबजले स्वीकार गर्दैन’, उनले थपे ।
टिप्पणीहरू