रवि लामिछानेविरुद्ध पाँचौँ मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध पाँचौँ मुद्दा दर्ता

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाइएको छ । 

जिल्ला प्रहरी कार्यालयले एक महिनाअघि नै अनुसन्धान सकेर प्रतिवेदन बुझाएकोमा सरकारी वकिलको कार्यालयले आज उनीसहित २९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक रविलाई सहकारी ठगीसँगै संगठित अपराधको कसूर लगाइएको छ । 

अदालतमा दायर अभियोग पत्रमा रविविरुद्ध ११ करोड ५६ लाख बिगो मागदाबी गरिएको छ । त्यस्तै, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष तथा रविका  व्यावसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पनि यसमा प्रतिवादी कायम गरिएको छ । उनीसँग सात करोड २० लाख विगो मागदाबी गरिएको छ । 

वीरगन्ज-६ दर्शनगरमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीबाट साढे पाँच हजार बचतकर्ताको दुई अर्ब ३० करोडभन्दा बढी रकम अपचलन भएको अनुसन्धानले देखाएको छ । उक्त रकम जिबी राई अध्यक्ष रहेको गोर्खा मिडियामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका रविविरुद्ध मुद्दा दर्ता भएको यो पाँचौ जिल्ला हो ।

टिप्पणीहरू