रविलाई फुर्सद दिलाउन ‘दालमें कुछ काला है’

रविलाई फुर्सद दिलाउन ‘दालमें कुछ काला है’
सुन्नुहोस्

चितवनको सहारा सहकारी ठगी प्रकरणमा संगठित अपराधबाट रास्वपाका सभापति रवि लामिछानेलाई जोगाएको आरोपसहित तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयमा विभागमा तानेर छानबिन चलिरहेको छ । 

लुइँटेलको स्थानमा उच्च सरकारी वकिल कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यौपाने चितवन पुगेका छन् । अभियोजनमा प्रथमदृष्टिमै कैफियत देखिएपछि नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । रिजाल संयोजकत्वको छानबिन समितिले चितवन सरकारी वकिल कार्यालयमा रहेका मुद्दाको मिसिल, कागज प्रमाणसहित लुईंटेलको ‘कल डिटेल्स’ र बैंक खातासमेत जाँचबुझ गर्ने भएको छ । ‘संगठित अपराधमा मुद्दा चल्ने नचल्ने कानुनी आधार, मुद्दाको मिसिल, कागज, तथ्य प्रमाण सबै केलाएर हेरिँदै छ, ’ ती सदस्य भन्छन्, ‘लुईंटेलको ‘कल डिटेल्स’ र बैंक खातासमेत जाँचबुझ गर्ने विषयमा छलफल चलेको छ ।’ लुइँटेल जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा कार्यरत रहेको जम्मा डेढ वर्ष पुगेको थियो ।

उक्त कार्यालयले लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता गर्दा कास्कीको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मीभन्दा गम्भीर प्रकृतिको रहेको भनिएको सहकारी ठगीमा संगठित अपराधबाट उन्मुक्ति दिइएको छ । अरू कुनै प्रमाण नभए पनि लामिछानेसहित १५ जना प्रतिवादीकै ‘नेक्सस’ का कारण संगठित अपराधमा मुद्दा चल्ने पर्याप्त आधार रहेको प्रारम्भिक निश्कर्षमा समिति पुगेको छ । यसबाहेक ६ वटा संस्थालाई समेत ठगी मुद्दामा प्रतिवादी बनाइएको छ । आश्चर्य त यो छ कि, १५ जना प्रतिवादीमध्ये लामिछानेलाई मात्र सहकारी ठगीमा दाबी लिइएको छ । अन्यलाई भने संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेले सहारा सहकारीबाट आएको रकम पत्नी निकिता पौडेलको नाममा चेक काटेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको थियो । निकिताको नाममा चार वटा चेक काटिएका छन् । 

लामिछानेले निकिता मात्र नभएर उनीआबद्ध गोपीकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटेका छन् । प्रहरी छानबिनअनुसार निकिताको नाममा ५९ लाख, ३८ हजार, दुई सय ५१ र गोपीकृष्ण मुभिजको नाममा दुई वटा चेकमार्फत ८१ लाख, २५ हजार रुपैयाँ रकम भुक्तानी दिएका छन् । लामिछाने २०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रूपमा गोर्खा मिडियामा प्रवेश गरेका थिए । कागज प्रमाणले उनी सोही वर्षको चैत महिनामा सेयर होल्डर बनेको देखाउँछ । उनी २०७९ साल असार २ गते मात्र उक्त प्रालिबाट अलग भएका थिए । आफू अलग भएपछि पनि चेकहरू जारी भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला न्यायाधिवक्ता लुईंटेल स्वयंले अभियोजन गरेको अभियोगपत्रमा पनि सहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएको रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक काटेको खुलेको छ । ती चेकमार्फत लामिछानेबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रूपैयाँ भुक्तानी भएको छ ।

यस्तै, गोर्खा मिडियाका साझेदार जिबी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रूपैयाँ भुक्तानी भएको छ । प्रहरी अनुसन्धानले सहारामा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ अपचलन भएको निक्र्योल गरिसकेको छ । सहारा ठगी प्रकरणमा गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यतिबेला प्रहरी छानबिन अपूर्ण देखिएको भन्दै पुनः तथ्य प्रमाणका आधारमा अनुसन्धान गरी पूरक प्रतिवेदन पेस गर्न चितवन सरकारी वकिलबाटै प्रहरीलाई निर्देशन भएको थियो । 
                                                                                                  ( जनआस्था साप्तहिकबाट साभार )

टिप्पणीहरू